चैत ८, काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, धैरेनिचौरमा निर्माण भएको ३३/ ११ केभीको मुसिकोट सबस्टेसन सञ्चालनमा आएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले सोमवार उक्त सबस्टेसनको उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो ।
उक्त सबस्टेसनबाट रुकुम पूर्व र पश्चिम तथा जाजरकोटका केही ठाउँहरुमा विद्युत् आपूर्ति गरिने नेपाल विद्युत् प्राधिकरणल जानकारी दिएको छ । उद्घाटन कार्यक्रममा मन्त्री भुसालले विगतमा वत्ती बाल्न पाउनु नै ठूलो कुरा रहेको बताउँदै पछिल्लो समय विद्युत् उत्पादन प्रशस्त भइसकेकाले भान्सामा समेत विद्युत् प्रयोग गर्न आग्रह गरिन् ।
उनले भन्सामा प्रयोग भइरहेको ग्यासलाई विस्थापित गरी इन्डक्सन चुलो प्रयोग गर्न आग्रह गरिन् । मन्त्री भुसालले दुई वर्षभित्रमा सबै नेपालीको घरमा विद्युत् पुर्याउने र विद्युत् सेवालाई भरपर्दो तथा गुणस्तरीय बनाउने प्रयासका साथ काम भइरहेको बताइन् ।
‘आफ्नै उत्पादनबाट माग धान्ने अवस्थामा पुगी विद्युतमा आत्मनिर्भर बन्नेतर्फ अगाडि बढेका छौं’ मन्त्री भुसालले भनिन्, ‘बर्खाका केही महीना देशभित्र खपत गरेर जगेडा भएको विद्युत् भारत निर्यात गर्न थालेका छौं, थप विद्युत् निर्यातका लागि पहल भइरहेको छ ।’
उक्त कार्यक्रममा अर्थ मन्त्री शर्माले अमेरिकी डलरमा खरिद गरेर ल्याइएको खाना पकाउने ग्यासलाई विस्थापित गरी विद्युतीय चुलो प्रयोग गर्न आग्रह गरे । आफूले शुरु गरेको ‘उज्यालो रुकुम’ अभियान अहिले ‘उज्यालो नेपाल’मा परिणत भएको स्मरण गर्दै पूर्वऊर्जा मन्त्रीसमेत रहेका शर्माले विद्युतीकरणका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे । ‘विद्युत् आर्थिक क्रान्तिको आधारभूत साधन हो’, मन्त्री शर्माले भने, ‘घरघरमा, उद्योग उद्योगमा विद्युतको खपत बढाएर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनतर्फ लाग्नुपर्छ ।’
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको पूर्ण विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको बताए ।
उनका अनुसार सल्यान सित्तलपाटी सबस्टेसनबाट करीब ८० किलोमिटर लामो ३३ केभी लाइनमार्फत विद्युत् लगेर सबस्टेसन सञ्चालनमा ल्याएको हो । सबस्टेसनमा ३ एमभीए क्षमताको पावर ट्रान्सफर्मर रहेको छ । सबस्टेसन सञ्चालनमा आएपछि रुकुममा विद्युतको भोल्टेजमा उल्लेखनीय सुधार, लाइनमा नियमितता र प्राविधिक चुहावटमा कमी आएको घिसिङको भनाइ छ ।
प्राधिकरणले जाजरकोटको कुदु सबस्टेसनबाट पनि जिल्लाभरी विद्युत् आपूर्ति गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिएको छ । उक्त सबस्टेसनबाट सल्यान तथा दाङको तुलसीपुरमा विद्युत् अवरोध हुँदापनि रुकुम पश्चिम तथा पूर्वमा वत्ति बाल्न सकिने प्राधिकरणले जानकारी दिएको छ ।
सबस्टेसनबाट विद्युत् आपूर्तिका लागि फिडरहरु निर्माण भइरहेको छ । अहिले एउटा फिडरबाट मात्र जिल्लाभरी विद्युत् आपूर्ति भइरहेको छ । बाँकी फिडरहरु सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत् आपूर्तिमा थप सुधार आउने छ । रुकुम पूर्वमा निजी क्षेत्रले निर्माण गरिरहेको ५ मेगावाटको रुकुमगाड जलविद्युत् आयोजनाको विद्युत् यही मुसिकोट सबस्टेसनमा जोडिने छ ।
सबस्टेसन निर्माण २०७२ को असारबाट सुरु भएको थियो । तर, शुरुमा निर्माण प्रस्ताव गरिएको स्थान पहिरोको जोखिम रहेकाले नयाँ ठाउँ खोज्न समय लाग्दा काम प्रभावित भएको थियो । सबस्टेसन निर्माणका लागि वाइबा इन्फ्राटेक प्रालीसँग ८ करोड ८८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।