काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेन्ज ( नेप्से) मा दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ ।
कालिञ्चोक दर्शन लिमिटेडको कुल ६० लाख कित्ता र एशियन हाइड्रोपावरको ३४ लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो । अब यी दुवै कम्पनीको शेयर भोलि अर्थात् बिहीवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।
एशियन हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको ३ लाख ४० हजार, सर्वसाधारणको लागि निष्कासन गरेको ८ लाख ४० हजार र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको २२ लाख २० हजार कित्ता गरी कुल ३४ लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
कम्पनीलाई पहिलो कारोबारको लागि नेप्सेले रू. ९९ दशमलव ६० देखि २९८ दशमलव ८० ओपन रेञ्ज तोकेको छ । यही ओपन रेञ्जको आधारमा बिहीवारदेखि कम्पनीको शेयर कारोबारमा आउनेछ ।
कम्पनीको स्टक सिम्बोल एएचएल रहेको छ । त्यस्तै शेयर सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस सेवा एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंबाट हुने कम्पनीले जानकारी दिएको छ ।
त्यस्तै कालिञ्चोक दर्शनलाई पहिलो कारोबारको लागि नेप्सेले रू. ७८ दशमलव १५ देखि २३४ दशमलव ४५ ओपन रेञ्ज तोकेको छ । यही रेञ्जको आधारमा बिहीवारदेखि कम्पनीको शेयर कारोबारमा आउनेछ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दका लागि वितरण गरेको १ लाख २० हजार, सर्वसाधारणको लागि वितरण गरेको १० लाख ८० हजार र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको ४८ लाख कित्ता गरी कुल ६० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
कम्पनीको स्टक सिम्बोल केडिएल रहेको छ । साथै सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस सेवा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नक्सालबाट हुने कम्पनीले जानकारी दिएको छ ।