कर्पोरेट डेभलपमेन्ट बैंकले माघ ७ गतेदेखि हकप्रद शेयर निष्कासन गर्दै

पुस १८, काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले माघ ७ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ दशमलव ५ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद जारी गर्ने भएको हो । हकप्रद निष्कासनका लागि कम्पनीले पुस २५ गते बुक क्लोज गर्नेछ । यसअनुसार पुस २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरशेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । हकप्रदमा सिभिल क्यापिटल तथा कर्पोरेट डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।  यसका साथै शेयरधनीले नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरोशेयर सफ्टवेयर मार्फत माघ २७ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीलाई केयर रेटिङ नेपालले केयरएनपी बी प्लस आईएस रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्तापूँजी २० करोड रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि उक्त पूँजी ५० करोड रुपैयाँ पुग्नेछ ।कम्पनीले हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट पुस १ गते अनुमति पाएको हो । 

सम्बन्धित सामग्री

मात्र दुई ओटा कम्पनी हकप्रद निष्कासन स्वीकृतिको पर्खाइमा !

माघ २४, काठमाडौं । नेपाल धितोपत्र बोर्डमा हाल दुई ओटा कम्पनीहरु मात्र हकप्रद शेयर निष्कासनको स्वीकृतिको पर्खाइमा रहेका छन् ।  अपि पावर र नेपाल फाइनान्स लिमिटेड हकप्रद शेयर निष्कासनको स्वीकृतिको पर्खाइमा रहेका हुन् । अपि पावरले २०७८ साल असोज २५ गते र नेपाल फाइनान्सले २०७८ साल कात्तिक १ गते बोर्डमा हकप्रद शेयर निष्कासनको लागि निवेदन दिएका थिए ।  आयोजना निर्माणको लागि आवश्यक रकम जुटाउन अपि पावरले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासनको तयारी गरेको हो । अपिले १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।  कम्पनीले यस वर्ष वितरण गर्ने निर्णय गरेको १० दशमलव ५० प्रतिशत बोनस शेयरपश्चात कायम चुक्तापूँजीको आधारमा उक्त हकप्रद शेयर निष्कासन गर्न लागेको हो । विद्युत् नियमन आयोगले कम्पनीको बोनस पश्चात कायम चुक्तापूँजी रू. २ अर्ब ७५ करोड ८९ लाख १५ हजारको आधारमा हकप्रद शेयर निष्कासनका लागि पूर्व स्वीकृति दिएको हो ।  अपि पावरले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रदको सहारा लिएको हो ।  त्यस्तै, नेपाल फाइनान्सले १ बराबर शून्य दशमलव ७० को अनुपातमा ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासनको तयारी गरेको छ । नेपाल फाइनान्सले यसअघि १ बराबर १ दशमलव ७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई परिमार्जन गरी ललितपुर फाइनान्सलाई प्राप्त गरे पश्चात कायम भएको चुक्तापूँजी रू. ८३ करोड ८९ लाख ४३ हजारको आधारमा कम्पनीले १ बराबर शून्य दशमलव ७० को अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो । बोर्डको वेवसाइटलाई आधार मान्दा यी दुवै कम्पनीको हकप्रद शेयर स्वीकृतिको अन्तिम चरणमा रहेको देखिन्छ । यतिबेला बीमा कम्पनीहरुको पूँजी वृद्धि र जलविद्युत् कम्पनीहरुले ऋण तिर्नकै लागि हकप्रद शेयर निष्कासन गर्न पाउने भएपनि निवेदन प्रकृयामा मात्र दुई कम्पनी बाँकी रहेका छन् ।  यस वर्ष धेरै जसो जलविद्युत् कम्पनीहरुले वार्षिक साधारण सभामार्फत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेकाले आगामी दिनमा बोर्डमा हकप्रदको निवेदन बढ्ने सम्भावना देखिन्छ । हाल प्राथमिक बजारमा भने दुई कम्पनीको हकप्रद शेयर निष्कासनमा रहेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयर प्राथमिक बजारमा सार्वजनिक निष्कासनमा रहेको हो ।  कर्पोरेट डेभलपमेन्ट बैंकले माघ ७ गतेदेखि माघ २७ गतेसम्मका लागि शतप्रतिशत हकप्रद शेयर विक्री खुला गरेको हो । त्यस्तै छ्याङ्दी हाइड्रोपावर लिमिटेडले माघ ११ गतेदेखि फागुन २ गतेसम्मका लागि ३० प्रतिशत हकप्रद शेयर विक्री खुला गरेको हो ।