थप पाँच उत्पादनको सामूहिक ट्रेडमार्क दर्ता हुँदै

मुलुकको निकासी व्यापार प्रवद्र्धनका लागि सामूहिक व्यापार चिन्ह (कलेक्टिभ ट्रेडमार्क) दर्ता गर्ने क्रम बढ्न थालेको छ । हालसम्म निकासीजन्य चार उत्पादनको कलेक्टिभ ट्रेडमार्क दर्ता भइसकेको छ भने अन्य पाँच उत्पादन प्रक्रियामा रहेका छन् ।उद्योग विभागका अनुसार नेपाल जुट, नेपाल कार्पेट, कफी उत्पादक सहकारीहरुले प्रवद्र्धन गरेको कफी, जुजु धौ लगायत पाँचवटा अन्य उत्पादनको सामूहिक ट्रेडमार्क दर्ता […]

सम्बन्धित सामग्री

सामूहिक चिह्नका बहुआयामिक उपादेयता

सामूहिक चिह्न वास्तवमा हाम्रो जस्तो कम विकसित मुलुकमा ठूला लगानीका भन्दा साना लगानीका उद्योगधन्दामा बढी उपयुक्त हुने देखिन्छ । मुलुकमा ससाना व्यवसायीहरूले आफैले छुट्टै ट्रेडमार्क दर्ता तथा संरक्षण गरी प्रयोगमा ल्याउन खर्चिलो र झन्झटिया हुन्छ । अत: सामूहिक चिह्नलाई यस्ता उद्योग व्यवसायले उत्पादन गरेको वस्तुको बजार संरक्षण र प्रवर्द्धन गर्न अति मितव्ययी र प्रभावकारी उपायका रूपमा लिइन्छ । यसका बहुआयामिक उपादेयता छन् । तिनलाई निम्नानुसार चर्चा गर्न सकिन्छ । साना व्यवसायीहरू छाता संगठनमा आबद्ध भएर सोही संगठनमार्फत सामूहिक चिह्न प्रयोगका लागि लागत साझेदारीको अवधारणाअनुसार अघि बढ्नु बुद्धिमानी हुन्छ । भौगोलिक संकेतको संरक्षण गर्ने वैकल्पिक उपायका लागि सामूहिक चिह्न नेपाल गाउँ नै गाउँले भरिएको तथा भौगोलिक एवं जैविक विविधता प्रचुर मात्रामा भएको मुलुक भएकाले भौगोलिक संकेतका रूपमा उपयोग गरी उत्पादन गर्न सकिने वस्तु धेरै छन् । हिमालयन पिउने पानी, विभिन्न जडीबुटी, केही निश्चित कृषिपैदावर, केही हस्तकला सामान आदि यसका उदाहरण हुन् । यस्ता भौगोलिक संकेतलाई सामूहिक चिह्नका रूपमा संरक्षण गर्न सकिने वैकल्पिक सम्भावना रहेको छ । तिनलाई सामूहिक चिह्नको उपयोगबाट कुनै गाउँ वा इलाका वा जिल्ला वा समग्र मुलुककै उत्पादनलाई राष्ट्रिय वा अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गर्न ठूलो अवसर मिल्छ । केही वस्तु औंल्याएर नै भन्नु पर्दा ठाउँको नामबाट फर्पिङ नास्पाती, मार्फा ब्रान्डी, भक्तपुरे दही, इलामे चिया, प्यूठानी मूला, दंगाली तोरी तथा मुलुकको नामबाट नेपाल चिया, नेपाल कार्पेट, पर्वतीय क्षेत्रको नामबाट हिमाली कञ्चन पानी, एभरेष्ट मूलको पानी आदिलाई लिन सकिन्छ । यस्ता भौगोलिक नामहरू आफैमा सामूहिक चिह्न पनि हुन् र तिनको व्यवस्थापन सामूहिक रूपले नै गरिन्छ । यसबाट आन्तरिक तथा बाह्य बजारमा यी वस्तुको पहिचान सुरक्षित राख्न मद्दत पुग्ने देखिन्छ । मुलुकमा यस्ता उत्पादनलाई संरक्षण गर्ने वैकल्पिक कानून नभएको अवस्थामा तत्काललाई सामूहिक चिह्नका रूपमा ती वस्तुको संरक्षण गर्न सकिन्छ । भारतमा भौगोलिक संकेतसम्बन्धी कानून नआउँदासम्म दार्जिलिङ चियालाई कहिले ट्रेडमार्क कानूनअन्तर्गत त कहिले सामूहिक चिह्नकै रूपमा संरक्षण प्रदान गरिएको थियो । ‘एक गाउँ एक वस्तु’को प्रवर्द्धन र सामूहिक चिह्न कृषि उत्पादनको यो प्रणाली दक्षिणपूर्वी एशियाली मुलुकमा निकै लोकप्रिय र सफल पनि छ । हाम्रो मुलुकमा पनि एक गाउँ एक वस्तुको नारालाई उत्पादनमा रूपान्तरण गर्ने प्रयोजनका लागि सामूहिक चिह्न एक सशक्त उपकरण हुन सक्छ । उस्तै पेशा व्यवसायमा लागेका उस्तै वस्तु उत्पादन गर्ने एउटा गाउँका असंख्य व्यवसायीहरूलाई एउटा सामूहिक चिह्नभित्र आबद्ध गरेर एउटै ब्रान्डको वस्तु उत्पादन गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गर्न सकिन्छ । विगतमा नेपालमा लघु उद्यम कार्यक्रमले सिन्धुली र रामेछापमा जुनारको प्रवर्द्धन, प्युठान र पर्वत जिलालमा अदुवामा आधारित वस्तुको प्रवर्द्धन, तेह्रथुम र डँडेलधुरा जिल्लामा लालीगुराँस र काफलको जुसको प्रवर्द्धन, दाङको हापुरेमा महको तथा देउखुरी गडवामा सेरामिक्सको सफलतापूर्वक प्रवर्द्धन गरिरहेका उदाहरण पनि छन् । यी उत्पादनलाई सामूहिक चिह्नको प्रयोगमार्फत राष्ट्रिय, अन्तरराष्ट्रिय बजारको सुनिश्चितता दिलाउन सकिन्छ । परम्परागत हस्तकला प्रवर्द्धनका लागि सामूहिक चिह्न सामूहिक चिह्नको प्रयोगबाट परम्परागत हस्तकलाका सामानहरू पनि प्रवर्द्धन गर्न सकिन्छ । नेपाल हस्तकलाका सामानहरूको प्राचीन थलो हो । यस्ता सामग्रीहरूले राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा ठूलो ख्याति कमाएका छन् । यस्ता हस्तकलाका सामानहरूमा ठाउँ अनुसारका समूह चिह्न प्रयोग गरेर अझै धेरै मात्रामा त्यहाँका व्यवसायीहरूको आर्थिक उन्नतिमा योगदान पुर्‍याउन सकिन्छ । जस्तै पाल्पा र तेह्रथुमको ढाका, सल्यान र भोजपुरको खुकुरी, त्यस्तै गोरखा भादगाउँ, कान्तिपुर, पाटनजस्ता विभिन्न हस्तकलाका सामानको लागि ऐतिहासिक ख्याति कमाएका ठाउँका व्यवसायीलाई निश्चित समूहमा आबद्ध गरेर सामूहिक चिह्नको मद्दतले अझै बढी बजार प्रवर्द्धन गर्न सकिने सम्भावना छ । सामूहिक चिह्न र अन्तरराष्ट्रिय बजारमा स्वदेशी वस्तुको पहुँच  सामूहिक चिह्नको महत्त्व आफ्नै बजारका लागि पनि उत्तिकै हुन्छ । त्यसमाथि पनि लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरू अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गर्न सकिन्छ । सामूहिक चिह्नको प्रयोग र संरक्षण कम खर्चिलो र सरल उपाय बन्न सक्छ । तर, आफ्नै मुलुकभित्रको बजारमा आफ्नो वस्तु प्रवर्द्धन गर्दा पनि अधिकांश उद्यमीले अझै पनि चिह्नको प्रयोगबारे थाहा नपाएको अथवा थाहा पाएर पनि संरक्षणका लागि लाग्ने सामान्य खर्च पनि जुटाउन नसकेको अवस्था छ । यस्तो अवस्थामा विभिन्न विदेशी मुलुकमा वस्तु निर्यात गर्नका लागि चिह्न दर्ता गराउनु भनेको कोराकल्पनाको विषय मात्र हुन सक्छ । तसर्थ, यस्तो परिस्थितिमा साना व्यवसायीहरू छाता संगठनमा आबद्ध भएर सोही संगठनमार्फत सामूहिक चिह्न प्रयोगको लागि लागत साझेदारीको अवधारणा अनुसार अघि बढ्नु बुद्धिमानी हुन्छ । यसो गर्दा चिह्नको दर्ताका लागि लाग्ने सबै आर्थिक भार एउटै व्यवसायीको थाप्लोमा मात्र नपरी सबैमा बाँडिन्छ, जुन वहन गर्न ससाना व्यवसायी पनि समर्थ हुन्छन् । यस अतिरिक्त, जोखिममा रहेका र न्यून आय भएका किसान र उद्यमीहरूको सामूहिक हितका लागि सामूहिक चिह्नको दर्ता गर्न लाग्ने खर्चमा सरकारले पनि केही अनुदान उपलब्ध गराउन सकेमा यसबाट गाउँस्तरका सानासाना किसान र व्यवसायीको उत्पादनले पनि बजारमा छुट्टै पहिचान बनाउन सक्छ र बजारीकरणमा ठूलो फाइदा पुग्ने देखिन्छ । साना व्यवसाय प्रवर्द्धन गर्ने उपायको रूपमा सामूहिक चिह्न सामूहिक चिह्नको प्रयोगका सन्दर्भमा सबैभन्दा चासोका साथ हेरिने विषय भनेको उत्पादित वस्तुको एकरूपता र स्तरीयता निर्वाह गर्न यसले कसरी मद्दत गर्छ भन्ने नै हो । यस सन्दर्भमा बुझ्नुपर्ने कुरा के छ भने साना व्यवसायले भोग्नु परेको मुख्य समस्या भनेको बजार हो । त्यस्तो समस्या खासगरी वस्तुको प्रतिस्पर्धी क्षमता न्यून हुनाले तथा वस्तुको एकरूपता र स्तरीयता सुनिश्चित नहुनाले सृजना भएको हो । यस्तोमा कृषि, वन र हस्तकलामा आधारित श्रममूलक व्यवसायको समुचित छनोट गर्न सकेमा साना व्यवसायीहरू प्रतिस्पर्धाको मारबाट बच्न सक्छन् । उत्पादित वस्तुको स्तरीयता र बजारको पहुँचमा भने अझै पनि ठूलो समस्या र जटिलता रहेको छ भने यस समस्याबाट मुक्ति दिने एउटा उपयुक्त विकल्प सामूहिक चिह्नको प्रयोग हुन सक्छ । खास किसिमका उत्पादनसँग सम्बद्ध कुनै वस्तुगत संघ वा ट्रस्टले सम्बन्धित व्यवसायीका लागि निश्चित आचारसंहिताको पालना गराएर उस्तै वस्तु उत्पादन गर्ने हजारौं साना व्यवसायीलाई एउटै सामूहिक चिह्नमा आबद्ध गराएर तथा उक्त चिह्नको संरक्षण गरेर वस्तु बजारमा पठाउने परिपाटी गर्ने हो भने यो समस्या सजिलैसँग समाधान हुन सक्छ । यस क्रममा सरकारले कम हस्तक्षेपकारी भूमिका निर्वाह गरी खासगरी चिह्न संरक्षणका लागि जिम्मेवारी वहन गर्ने निकायलाई आवश्यक ऐन, नियम जारी गरेर तथा साधनस्रोत उपलब्ध गराएर साना व्यवसायीलाई सुसंगठित तुल्याउनुपर्ने हुन्छ । साथै, वस्तुगत संघलाई सामूहिक चिह्नको उपयोगतर्फ उत्प्रेरित गर्न सरकारले आर्थिक तथा प्राविधिक सहयोग पनि उपलब्ध गराउनुपर्ने हुन्छ । यीबाहेक साना व्यवसायीका लागि सामूहिक चिह्नका अन्य बहुआयामिक लाभहरू पनि रहेका छन् । नेपाल सरकारले यसको प्रवर्द्धनतर्फ विशेष ध्यान पुर्‍याउन आवश्यक छ । लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका उपाध्यक्ष हुन् ।

साना व्यवसायको प्रवर्द्धनमा ब्रान्डिङ

ब्रान्डिङलाई ट्रेडमार्क लेबलको अर्थमा लिन सकिन्छ । लघु उद्यम तथा साना व्यवसायहरूले ट्रेडमार्क दर्ता र संरक्षण गरी भोगचलन गर्नु खर्चिलो र चुनौतीपूर्ण काम हुने भएकाले सामूहिक चिह्नको व्यवस्था र प्रयोग गर्ने पद्धति थालनी गरेमा व्यवसायीलाई धेरै सजिलो र सस्तो पर्ने मात्र होइन अन्य धेरै प्रकारका लाभ प्राप्त गर्न सजिलो पनि पर्छ । सामूहिक चिह्न भनेको कुनै नियामक संघ, संस्था वा सहकारी संस्थाको स्वामित्व, रेखदेख र नियन्त्रणमा संघमा आबद्ध सदस्य सबैले अनुमति लिएर आफ्नो सम्बद्ध वस्तु वा कारोबारका लागि प्रयोग गर्ने चिह्न हो । यो गुठीको जग्गा मोहीले भोग चलन गरेको जस्तै हो । कानूनी संरक्षणका हिसाबले सामूहिक चिह्नलाई व्यापार चिह्न भनेर दर्ता गरे पनि ताŒिवक फरक पर्दैन तर छुट्टै रजिस्टरमा सामूहिक चिह्नका रूपमा दर्ता गर्ने परिपाटी कायम गर्नेतर्फ ध्यान दिनु आवश्यक छ । सामूहिक चिह्न कुनै न कुनै नियामक संस्थाको स्वामित्वमा त हुन्छ तर त्यो त्यही संस्थाले आफै प्रयोग गर्ने चिह्न भने होइन । संस्थासँग आबद्ध भएका र संस्थाबाट समूहचिह्न प्रयोगको इजाजत लिएका सदस्यहरूले प्रयोग गर्ने चिह्न हो । त्यस्तो चिह्न प्रयोगलाई संस्थाको नियमावलीले वा आचारसंहिताले नियमित गर्छ । चिह्न प्रयोग गर्ने सदस्यले आचारसंहिताको पूर्ण पालना नगरेमा प्रयोग गर्नबाट वञ्चित पनि हुन सक्छन् । त्यस्तो आचारसंहितामा सामूहिक चिह्न प्रयोग गर्ने सदस्य वा उद्योगले संस्थाद्वारा निर्धारित मापदण्ड पूरा गरेको हुनुपर्छ । वस्तु उत्पादन गर्दा भौगोलिक सीमा, व्यवसायको उद्देश्य, वस्तुको गुणस्तर, उत्पादन विधि, श्रम उपयोग, प्याकेजिङ स्तर, शुद्धता आदि सम्बन्धी सबै मापदण्ड पूर्ण पालना गरिएको हुनुपर्छ । हाल नेपाल पश्मिना उद्योग संघले प्रयोगमा ल्याएको च्याङ्ग्राको हलमार्क भएको ‘च्याङ्ग्रा पश्मिना’ सामूहिक चिह्नको एउटा राम्रो उदाहरण हो । हाल नेपाली चिया र नेपाली कफीको अन्तरराष्ट्रिय बजारमा सामूहिक चिह्न दर्ता गर्ने प्रक्रियाले गति लिइरहेको छ । यसबाट आगामी दिनमा आन्तरिक तथा अन्तरराष्ट्रिय बजारमा नेपाली चिया र कफीको छुट्टै पहिचानसहित बजार विस्तार हुने अपेक्षा लिन सकिन्छ । व्यापारिक महत्त्वका कृषि बाली, जडीबुटी, घरेलु हस्तकला प्रवर्द्धन तथा हिमाली मूलको पानीमा सामूहिक चिह्नले नेपाललाई गहन अवसर प्रदान गर्छ । सानो पूँजी र सामान्य प्रविधिले गर्दा लघु तथा साना व्यवसायमा एकातिर उद्योगलाई सोचेअनुसार सञ्चालन गर्न कठिनाइ भइरहेको हुन्छ भने अर्कातिर अल्प प्राविधिक शीप तथा ज्ञान र कमजोर व्यापार नेटवर्किङले उत्पादित वस्तु विक्री नभएर बजारको समस्या परिरहेको हुन्छ । यसबाहेक उपभोक्ताले साना व्यवसायद्वारा उत्पादित वस्तुको स्तरीयता, एकरूपता, अपेक्षित परिमाण, सरसफाइ आदि पक्षलाई लिएर त्यस्ता व्यवसायबाट उत्पादित वस्तुको खरीद र उपभोग गर्न आनाकानी गरेको पाइन्छ । बजारमा उपभोक्ताले विश्वासकै कमीका कारण स्वदेशका लघु तथा साना व्यवसायबाट उत्पादित वस्तु गुणस्तरीय भए पनि स्थानीय वस्तुभन्दा विश्वका अपरिचित कुनाबाट आयात भएका कमसल सामानको उपभोग गर्ने प्रवृत्ति बढ्दो देखिएको छ । कुनै संस्थागत सेवासुविधा र उच्च प्राविधिक सहयोग जुटाएर साना व्यवसायीले सस्तो मूल्यमा स्तरीय सामानहरू उत्पादन गरे पनि त्यस्तो सामान विश्व बजारमा विक्रीका लागि पुग्ने कुरा त परै रहोस् स्थानीय बजारमा समेत तिनले आयातित सामानको दाँजोमा कमै मात्र शुभेच्छा र विश्वास पाउन सकेका छन् । उच्च गुणस्तरका भएर पनि साना तथा घरेलु व्यवसायबाट उत्पादित वस्तुले स्वदेशी वजारमा आफ्नो छुट्टै पहिचान बनाउन सकेका छैनन् । फलत: यस्ता वस्तु बजारमा राम्ररी विक्रीमा नआउँदै विस्थापित बन्न पुग्छन् । यस्तो समस्याको समाधानका लागि विभिन्न विकल्पमध्ये एउटा उत्तम विकल्प भनेको व्यापार चिह्नको प्रयोग वा ब्रान्डिङ पनि हो । व्यापार चिह्न दर्ता गरी प्रयोगमा ल्याउन त्यति सरल छैन । मुख्य कुरा त अन्तरराष्ट्रिय बजारमा व्यापार चिह्न दर्ताका लागि ठूलो रकम आवश्यक पर्छ । दर्ता गरिसकेपछि त्यसको जगेर्ना गर्न र त्यसबारे सम्बद्ध बजार, उपभोक्ता र व्यापार सञ्जालमा जानकारी गराउन प्रचारप्रसारमा पनि ठूलो रकम खर्च गर्नुपर्ने हुन्छ । यसबाट लघु तथा साना व्यवसायका लागि मितव्ययी र सरल उपाय हो सामूहिक चिह्नको प्रयोग । यसरी नेपालजस्तो अल्पविकसित राष्ट्रका लागि सामूहिक चिह्न प्रयोगमा ल्याउन सके यसले दीर्घकालसम्म लघु उद्यम तथा साना व्यवसायलाई फाइदा पुग्ने हुँदा अबका दिनमा यसतर्फ चासो बढाउँदै जानु आवश्यक देखिएको छ । हाललाई प्रमुख निर्यात बजारलाई लक्षित गरी मितव्ययी लागतमा समूह चिह्न दर्ता र प्रयोग गरी वस्तुको उत्पादन स्तर, उत्पादित सामानहरूमा एकरूपता र बजारमा सुनिश्चितता हुनसक्ने स्थिति सृजना गरी सामूहिक चिह्नलाई साना तथा लघु व्यवसायीको उत्पादनको बजार प्रवर्द्धन गर्ने एउटा सशक्त औजारका रूपमा उपयोगमा ल्याउनु जरुरी भएको छ । एउटा समूह चिह्नको लागत कम्तीमा सय दुई सदस्य उद्योगले वहन गर्नुपर्छ र सबै व्यवस्था नियामक संस्थाबाट वहन हुन्छ । पेरिस महासन्धिको धारा ७ क मा सामूहिक चिह्न संरक्षणको व्यवस्था गरिएको छ । यसअनुसार कुनै सदस्य राष्ट्रको कुनै संघसंस्थाको अधीनस्थ रहेको सामूहिक चिह्नलाई सन्धिको पक्षधर राष्ट्रहरूले संरक्षण दिनुपर्ने व्यवस्था छ । त्यस्तो सामूहिक चिह्नको स्वामित्व भएको संघ औद्योगिक वा व्यापारिक प्रतिष्ठान नै हुनुपर्छ भन्ने छैन । आआफ्नो मुलुकको परिस्थितिअनुसार सार्वजनिक चासोको विषयमा कुनै प्रतिकूल असर पर्छ, पर्दैन भन्ने कुरा विचार गरेर संरक्षण दिन मिल्ने नमिल्ने कुरा सदस्य राष्ट्रले स्वतन्त्र ढंगले निर्णय गर्न पाउँछन् । तर शुरूमा आफ्नो मुलुकको कानूनको प्रतिकूल नहुने गरी अस्तित्वमा रहेको संघसंस्थाको हकमा संरक्षण माग गरिएको मुलुकमा त्यस्तो संघसंस्था स्थापना नभएको वा कानूनसम्मत नभएको भन्ने आधारमा मात्र संरक्षण दिन इन्कार गरिने छैन भनी सामूहिक चिह्नको अन्तरराष्ट्रिय संरक्षणलाई प्रत्याभूत गरिएको छ । यस किसिमको चिह्नलाई व्यवस्थित गर्ने सम्बन्धमा हाम्रो मुलुकको प्रचलित कानून पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ हो । यद्यपि यस ऐनमा सामूहिक चिह्नबारे छुट्टै कुनै परिभाषा छैन र नियामक संस्थाको आचारसंहितालाई सम्बोधन गर्ने कुनै व्यवस्था पनि छैन तापनि व्यवहारमा त्यस्ता सामूहिक चिह्नलाई व्यापार चिह्नकै रूपमा भए पनि संरक्षण दिन बाधा भने परेको देखिँदैन । भारतमा पनि छुट्टै ऐन आएको सन् २००२ मा मात्र हो । त्यस अघि दार्जिलिङ चिया ट्रेडमार्क ऐनबाट संरक्षण गरिएको थियो । हाम्रो ऐनमा बौद्धिक सम्पत्तिका धेरै विषयको व्यवस्था नहुँदा भौगोलिक सङ्केतमा दर्ता हुनुपर्ने विषयसमेत व्यापार चिह्नअन्तर्गत दर्ता गरिएका छन् । कानूनी संरक्षणका हिसाबले सामूहिक चिह्नलाई व्यापार चिह्न भनेर दर्ता गरे पनि तात्त्विक फरक पर्दैन तर छुट्टै रजिस्टरमा सामूहिक चिह्नको रूपमा दर्ता गर्ने परिपाटी कायम गर्नेतर्फ ध्यान दिनु आवश्यक छ । लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका उपाध्यक्ष हुन् ।