जेठ १, सर्लाही । प्रदेश नं २ का आठै ओटा जिल्लाको विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गर्न ठेक्का सम्झौता गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरण र टाटा प्रोजेक्ट लिमिटेड बीच प्रदेशमा ग्रामीण विद्युतीकरण आयोजना कार्यान्वयनका लागि करीब ४ अर्ब रुपैयाँको ठेक्का सम्झौता भएको हो ।
प्राधिकरणले गरेको अन्तरराष्ट्रिय टेन्डरमा टाटा प्रोजेक्ट, भारतले ठेक्का पाएको हो । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन हुने आयोजनालाई पाँच चरणमा विभाजन गरिएको छ ।
प्रदेशको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन आधुनिक उपकरणसहितका ३३÷११ केभी, १६ दशमलव ६ एमभिए क्षमताका आठ ओटा सबस्टेशनको निर्माण गरिने निर्देशनालयले बताएको छ ।
यसैगरी ३३÷११ केभी, आठ एमभिए क्षमताका दुई ओटा सबस्टेशनको निर्माण गरिनेछ । ती सबस्टेशनको क्षमता १४८ दशमलव ८ एमभिए हुनेछ । साथै प्रदेशका जिल्लामा ३२३ सर्किट किलोमिटर ३३ केभी प्रसारण लाइन, ९५० सर्किट किलोमिटर ११ केभी लाइन र १ हजार सर्किट किलोमिटर ४०० भोल्टको नयाँ लाइन निर्माण गरिनेछ । आयोजना कार्यान्वयनका लागि नर्वे सरकारले ३ करोड ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ । यो अनुदान एशियाली विकास बैंक (एडीबी) मार्फत सञ्चालित हुनेछ ।
काम सम्पन्न भएपछि प्रदेशको विद्युत् प्रसारण र वितरण प्रणालीमा सुधार आई हाल सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योग र घरायसी ग्राहकले पर्याप्त तथा विश्वसनीय विद्युत् प्रयोग गर्न पाउने आयोजनाका संयोजक बोधराज ढकालले बताए ।
उनले उच्च प्राथमिकताको आयोजना भएकाले निर्धारित समयभन्दा पहिले नै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गरेका छन् । रासस