काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले प्रस्तावित कुल १५ दशमलव ७९ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले चैत १३ गते १०औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न गरी प्रस्तावित लाभांशलाई पारित गरेको हो ।
कम्पनीले यस वर्ष गत आर्थिक वर्ष ०७९÷८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशन नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ३० गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा फागुन २९ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।
चालू आर्थिक वर्षको ६ महीनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरिसक्नुपर्ने व्यवस्था रहेपनि कम्पनीले ढिलो गरी वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई पनि सभाले स्वीकृति प्रदान गरेको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न माग भए अनुसार सो कार्य सम्पन्न गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि सभाले गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ९६ करोड ८० लाख २७ हजार रुपैयाँको आधारमा १५ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो । वार्षिक साधारण सभाले अन्तिम स्वीकृति दिएसँगै धितोपत्र दोस्रो बजारमा सूचीकृतपश्चात कम्पनीले बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिने बताएको छ ।
जतिसक्दो छिटो बोनस शेयर सूचीकरण गर्ने प्रतिवद्धता समेत कम्पनीले व्यक्त गरेको छ । १५ प्रतिशत बोनस शेयरपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २६ करोड ३२ लाख ३१ हजार रुपैयाँ कायम हुनेछ ।