काठमाडौं । करीब २७ वर्षअघि महालक्ष्मी श्रेष्ठले नेपाली बजारका लागि उत्पादन शुरू गरेको मह अहिले जापानसम्म निर्यात हुन थालेको छ । उनले उत्पादन गर्ने ‘टीबीएस प्योर हनी’ र ‘केएएसटीआई हिमालयन हनी’ जापान, चीनलगायत देशमा निर्यात हुन थालेको हो ।
उनको कम्पनी बी किपिङ सपले वार्षिक रूपमा उत्पादन गर्ने विभिन्न थरीका करीब १२ टन महमध्ये १० प्रतिशतजति जापान र चीन निर्यात हुन्छ । गुणस्तरका हिसाबले विदेशीभन्दा राम्रो मानिने भएकाले यूरोपेली मुलुकमा समेत नेपाली महको माग छ । तर, यूरोपियन संघ (ईयू) ले मह आयात गर्ने तेस्रो मुलुकको सूचीमा नेपाललाई नराखेकाले त्यहाँ निर्यात गर्न नसकिएको उनले सुनाइन् । नेशनल रेसिड्यू मोनिटरिङ प्लान (एनआरएमपी) कार्यान्वयनमा कमजोरी रहेको भन्दै ईयूले नेपाललाई तेस्रो मुलुकको सूचीमा नराखेको हो ।
उनको कम्पनीले चितवन र दाङमा ८० ओटा घारमा मौरीपालन गरी मह उत्पादन गरिरहेको छ । त्यसबाहेक कैलाली, प्युठान, दाङ, बर्दियालगायत जिल्लाका मौरीपालकसँग किनेर गुणस्तर जाँच गरी ब्रान्डिङसहित बजार पठाउने काम कम्पनीले गरिरहेको छ । नेपालमा उनकै बी किपिङ सप, अनलाइन सप दराज र सेल्सबेरी डिपार्टमेन्ट स्टोरबाट मह बिक्री हुन्छ । विदेश निर्यातको काम बी किपिङ सपले नै गरिरहेको श्रेष्ठले बताइन् ।
उनको कम्पनीमा मौरीले चिउरी, तोरी, लिची, फापरजस्ता वनस्पतिको फूल चुसेर बनाएको अग्र्यानिक मह पाइने श्रेष्ठले बताइन् । दुवै ब्रान्डका महको मूल्य गुणस्तरअनुसार किलोमा ९ सयदेखि १ हजार २०० रुपैयाँसम्म पर्छ । ‘करीब १ लाख रुपैयाँको सानो लगानीमा शुरू गरेको व्यवसायमा आम्दानी राम्रो नभए पनि मेहनत जारी राखें । मैले उत्पादन गरेको मह एकपटक चाखिसकेका ग्राहक फर्केर आउन थालेपछि विस्तारै बजारको आकार बढ्यो र नाफा पनि हुन थाल्यो,’ श्रेष्ठ भन्छिन्, ‘अहिले मेरो सबै खर्च यही व्यवसायले धानेको छ ।’
बी किपिङ सपको योजना बनाउनुअघि नेपालको शहरी क्षेत्रमा मह खाने चलन खासै विकास नभएको उनको अनुभव छ । ‘थोरै मानिसले विदेशी ब्रान्डका मह किनेर खाने गरेको मेरो अनुसन्धानले देखाएको छ,’ श्रेष्ठले भनिन् । वनस्पति शास्त्रको विद्यार्थी उनी त्यसबेला नेदरल्यान्ड सरकारको सहयोगमा सञ्चालित एसएनभी परियोजनामा नेपाली महको गुणस्तर र आधुनिक मौरीपालनसम्बन्धी अनुसन्धान गर्थिन् ।
त्यही अनुसन्धानपछि नेपालमा व्यावसायिक मौरीपालनको राम्रो सम्भावना देखेर करीब २७ वर्षअघि काम शुरू गरेको उनले सुनाइन् । अहिले उनको व्यवसायमा ३० जना मौरीपालक किसान र ५ कामदार गरी ३५ जनाले रोजगारी पाएका छन् । अझै पनि नेपालमा मौरीपालनको कुल सम्भावनाको १० देखि १५ प्रतिशत मात्र काम भएको उनको अनुमान छ ।
‘ललितपुरको मानभवनमा बी किपिङ सप शुरू गर्दा परिवार, साथीभाइ र आफन्तले समेत वनस्पति शास्त्रमा स्नातकोत्तर गरेको मान्छेले किन यस्तो काम गरेको भनेर निरुत्साहित गर्न खोजे,’ उनले विगत सम्झिइन्, ‘तर, मैले हिम्मत हारिनँ । जागीर खान नसकेर यो काम गरेको पनि थिइनँ । इच्छाले शुरू गरेको काममा निरन्तर लागिरहें । उत्पादनको गुणस्तरमा ध्यान दिएर काम गरिरहें, जसले आज मलाई सफल महिला उद्यमीको रूपमा उभ्याएको छ ।’