तालाबन्दी गरेकै भरमा स्वतः करार र स्थायी अब हुन सक्दैन : त्रिभुवन विश्वविद्यालय

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले अनसन अथवा तालाबन्दीको दबाबकै भरमा आंशिक शिक्षकलाई स्वतः करार, करारपछि स्वतः स्थायी गर्ने परम्परालाई अबदेखि कहिल्यै स्वीकार नगर्ने बताएको छ। विश्वविद्यालय राजिस्ट्रारको कार्यालयले तालाबन्दीका सन्दर्भमा अपिल जारी गर्दै यस्तो अडान सार्वजनिक गरेको हो। माघ ६ गतेदेखि त्रिविमा तालाबन्दी जारी छ। त्रिविका अनुसार गत पुससम्म १ सय…

सम्बन्धित सामग्री

‘विश्वविद्यालयले जागिर खोजिदिएर हिँड्ने कुराको सुनिश्चितता दिन सक्दैन’

त्रिभुवन विश्वविद्यालय मुलुककै जेठो र ठूलो विश्वविद्यालय हो । उच्चशिक्षाका करिब ८० प्रतिशत विद्यार्थी त्रिविमा अध्ययन गर्छन् । तर पढाइ पूरा गरे पनि देशमा रोजगारीको समस्या रहेको चौतर्फी गुनासो छ । अर्कोतर्फ सरकारले पदाधिकारी नियुक्तिमा ढिलाइ गर्दा त्रिवि कात्तिकदेखि उपकुलपति र रेक्टरविहीन छ भने रजिस्ट्रार पद पनि खाली छ ।

प्राध्यापकहरूको गरिमामा ह्रास भएको हो ?

नेपालमा धेरै विश्वविद्यालय छन् । तिनमा पहिलो र पुरानो त्रिभुवन विश्वविद्यालय हो । उच्च शिक्षा प्राप्त गर्न, ज्ञान आर्जन गर्न र आफ्नो क्षमता अभिवृद्धि गराउन विद्यार्थीहरू कक्षाकोठामा अनुशासनबद्ध भएर बसिरहेका हुन्छन् । प्राध्यापकहरूले पढाइरहेका हुन्छन् । निश्चित अवधिसम्म उनीहरूको यही क्रम चल्छ । विद्यार्थीहरूको एक समूह ज्ञान प्राप्त गरेर रोजगार बजारमा जान्छ, फेरि अर्को नयाँ समूह आउँछ । यो क्रमले निरन्तरता पाइरहेको हुन्छ । करोडांै युवायुवतीको ज्ञान आर्जन गर्ने थलो हो त्रिविलगायत नेपालका अन्य विश्वविद्यालयहरू ।  त्रिविको केन्द्रीय अर्थशास्त्र विभागमा अध्ययनको समाप्तिपछि मैले सोही विभागमा कार्यरत हुने मौका पाएँ । आफू विद्यार्थी हुँदा आफैलाई पढाउने आदरणीय गुरूहरूको काखमा लुटपुटिएर सिक्ने र सिकाउने मौका पाएको थिएँ । यो मेरो जीवनमा एउटा अवसरका साथै चुनौती पनि थियो । जानी नजानी पढाउने गर्थें । विद्यार्थीका बीचमा लोकप्रिय थिएँ कि थिइनँ, म आफैले मूल्यांकन गर्ने विषय भएन । तर, त्रिविमा आफ्नो जीवनको ३७ वर्षको अवधि बिताएँ । राम्रो नराम्रो के गरेँ म आफैलाई थाहा छैन ।  प्राध्यापकहरूको काम र कर्तव्यलाई सरसर्ती केलाउँदा विद्यार्थीहरूलाई पठनपाठन गराउनु र उनीहरूको मूल्यांकन गर्नु प्राथमिक कार्यहरूमा पर्छन् । खोज, अनुसन्धान र प्रकाशन आदि प्राथमिक कार्यका पूरक कार्य हुन् । जसमा प्राध्यापकहरू खोज कार्यमा बढी ज्ञान आर्जनका लागि निरन्तर रूपले समर्पित भएका हुन्छन् ।  त्रिवि मेरो जीवनलाई एउटा ज्योति प्रदान गर्ने ठाउँका साथै कर्मथलो पनि हो । यसको बेहाल र बेथितिले मलाई पनि चोट पुर्‍याउने गर्छ । आज यसको सञ्चालनमा विद्वत् वर्गको नेतृत्व छैन । विद्वत् वर्ग त पलायन भइसकेको छ र भइरहेको पनि छ । एउटा विशाल बोटमा फल फल्दा कहीँ राम्रो हुन्छ, कहीँ नराम्रो पनि । एउटै आमाका सन्तान कोही असल हुन्छन् कोही कमसल । असल जतिले मातृभूमि नै त्यागिसकेका छन् । कमसलहरूको बोलाबाला त्रिविमा आज भइरहेको छ ।  अध्ययन, अध्यापन र अनुसन्धान गर्ने र गराउने प्राध्यापकहरूको दायित्व हो । प्राध्यापक पद आफै एउटा संस्था हो । नयाँ नयाँ ज्ञान प्राप्त गरेबापत दिइने पद हो । ज्ञानले कुनै व्यक्ति पनि निपूण भएको हुँदैन । विद्वत्ता एकाएक उत्पन्न हुँदैन । यसका लागि पनि त्याग र तपस्याको आवश्यकता पर्छ । नयाँ नयाँ ज्ञान प्राप्त गरेबापत पाइने पदवी नै प्राध्यापक हो । यो न कहिले रिटायर हुन्छ न खिइएर जान्छ । जीवनपर्यन्त जीवित रहन्छ । कहीँ कसैले मेटाउँछु भन्दा पनि मेटाउन सक्दैन । तर, यसका लागि अध्ययन, अनुसन्धान र प्रकाशनको आवश्यकता पर्छ । त्रिविलगायत नेपालका अन्य विश्वविद्यालयहरूमा आज प्राध्यापक जस्तो गरिमामय पदको ह्रास भइरहेको छ । कथित प्राध्यापकहरू नै दलहरूका झोले भएर हिँडिरहेका छन् ।  मुलुकको अर्थतन्त्र त्यहाँका शिक्षाले तय गर्छ भनिन्छ । तर, प्रमुख प्राज्ञिक थलो नै राजनीतिले गर्दा थला परेको अवस्था छ । आज प्राध्यापक हुन अध्ययन, अनुसन्धान र प्रकाशनको आवश्यकता पर्दैन । यसले हामी सबैलाई लज्जित बनाइरहेको छ । यो प्राज्ञिक थलो हो तर प्राज्ञिकताको कदर छैन । मुलुकको अर्थतन्त्र त्यहाँको शिक्षाले तय गर्छ भनिन्छ । तर, प्रमुख प्राज्ञिक थलो नै राजनीतिले गर्दा थला परेको छ । आज प्राध्यापक हुन अध्ययन, अनुसन्धान र प्रकाशनको आवश्यकता पर्दैन । दलको नेताको आशीर्वादले प्राध्यापक बन्न मदत गर्छ । प्राज्ञिक थलोको नेतृत्व पनि दलहरूले नै तोक्ने गरेकाले यसको मर्यादा घटेको छ । प्राध्यापक बन्न पनि दलहरूका कोटामा पर्नुपर्छ । अध्ययन, अनुसन्धान र प्रकाशनले हुँदैन । सबै विश्वविद्यालयमा यस्तै प्रवृत्तिको बोलाबाला छ । यसै प्रकारका मानिस प्राध्यापक बनिरहेका छन् । अध्ययन, अध्यापन, अनुसन्धान र प्रकाशनमा संलग्न यदि कोही छन् भने उनीहरू छायामा परिरहेका छन् ।  उदाहरण स्वरूप मेरो आफ्नै कुरा गर्दा कक्षाकोठामा गएर लेक्चर दिने कार्य प्राथमिकतामा परेको थियो । अर्थात् पठनपाठनको कार्य नै प्राथमिक कार्य थियो । यसका साथै म खोज, अनुुसन्धान र प्रकाशनका कार्यहरूमा निरन्तर रूपले संलग्न भइरहेँ । यसले मलाई फल दिएको अनुभव गरिरहेको छु । त्रिविलाई विश्वजगत्मा परिचित गराउने कार्यमा मेरो पनि योगदान रहेको छ । मेरा केही कृति नै म र त्रिविलाई विश्वसामु परिचित गराउने माध्यम बनेका छन् । विश्वका ख्यातिप्राप्त विश्वविद्यालयहरूमा अध्ययनरत शोधकर्ता विद्यार्थीहरूका साथै प्राध्यापकहरूले समेत मेरा कृतिहरूलाई साभार गरेका छन् र गरिरहेका छन् । रिसर्च गेट र एकेडेमिक इडियुको आँकडाअनुसार प्रतिहप्ता विश्वका विभिन्न विश्वविद्यालयहरूमा अध्ययनरत १०–१५ जना शोधकर्ताले मेरा कृतिहरूको खोज र अध्ययन गरिरहेका हुन्छन् । यो नै मेरो जीवनको एक मात्र ठूलो सम्पत्तिको रूपमा रहेको छ । यसका अतिरिक्त मेरा प्यारा विद्यार्थी भाइबहिनीहरू मेरा सम्पत्ति हुन् जसले मलाई सम्मान प्रदान गरिरहेका छन् । चाहे तिनीहरू नेपालमा हुन् वा विश्वको कुनै पनि कुनामा हुन् मेरो भन्दा बढी ज्ञान आर्जन गरिरहेका छन् । न कसैको झोले बनेर हिँडेका छन् न चाकडीमा दिनरात कसैकोमा धाउने गर्छन् । आफ्नो स्वाधीनतामा आँच आउन दिएका छैनन् । यो नै मेरा लागि गर्वको कुरा हो । तर, यसमा पनि केही अपवाद त हुन्छ नै । यति हुँदाहुँदै पनि म झन्नै प्राध्यापकका लागि अयोग्य हुने अवस्थामा पुगेको थिएँ । कारण थियो म कसैको झोले हुन सकिनँ । यही कारण प्राध्यापक हुन नसकेका धेरै छन् जो छायामा परिरहेका छन् । उदाहरणका लागि आदरणीय प्राध्यापक भूचन्द्र वैद्य । जो सूर्य विनायकको एक कुनामा कुटी बनाएर जीवनयापन गरिरहेका छन् ।  अध्ययन, अध्यापन, अनुसन्धानमा संलग्न रहनाका लागि त्रिविलाई राजनीतिबाट मुक्त गराउनुपर्छ । यदि सक्षम जनशक्ति उत्पादन गर्ने हो भने विश्वविद्यालयहरूमा राजनीति गराइनु हुँदैन । विगत ३/४ दशकयता विश्वविद्यालयहरू राजनीतिको शिकार भइरहेका छन् । समग्र वर्तमान जनशक्ति त्यतैतिर समाहित भइरहेको छ । भावी पुस्ताको भविष्य अन्धकारमय भइरहेको छ । पठनपाठनको सट्टा दलहरूको कार्यकर्ता बनाइएको छ । अर्थात् त्रिविलगायत सबै विश्वविद्यालयलाई दलका कार्यकर्ताको तालीम केन्द्रमा परिणत गरिएको छ । चाहे कोही प्राध्यापनमा संलग्न होस् वा विद्यार्थी होस् यसो नगरे न जागीर पाइन्छ न बढुवा नै । त्यसैले पढ्नु लेख्नुभन्दा पहिले कुन दलको हो भनेर चिनिनु र उनीहरूको सेवामा हाजीर हुनु सबैभन्दा बलियो प्रमाणपत्रका रूपमा चित्रित हुने गर्छ । यसबाट विश्वविद्यालयहरूलाई मुक्ति दिलाउनु आजको मुख्य चुनौती हो । यसले समग्र प्राध्यापकहरू जसलाई ज्ञानको ज्योतिका रूपमा लिने गरिन्छ, उनीहरूको मर्यादा र गरिमामा ह्रास गराइरहेको छ । यसरी आफ्नो मर्यादामा ह्रास गराउनेमा दलगत राजनीतिमा संलग्न भई प्राध्यापनमा संलग्न व्यक्तिहरू नै हुन् । उनीहरूको प्रमुखकार्य नै अध्यापन, अध्ययन, अनुसन्धान र प्रकाशनमा भन्दा चाकडी र चाप्लुसी नै फलदायी हुने गरेको छ । यो प्रक्रियाको निरन्तरताले नेपालको शिक्षाक्षेत्रको विकास हुन सक्दैन । त्यसैले विश्वविद्यालयहरूलाई राजनीतिबाट मुक्त गराऊँ ।  लेखक अर्थशास्त्री हुन् ।