उपत्यकामा फूल व्यापारको घुइँचो

अरु बेला सवारीसाधनको घुइँचो र मानिसहरूको अत्यासलाग्दो भीड हुने उपत्यकाका प्रमुख चोकहरूमा तिहारका बेला भने फूल व्यापारी र ग्राहकको घुइँचो लाग्ने गर्छ । यसवर्ष पनि उपत्यकाका नयाँ बानेश्वर, कोटेश्वर, कालिमाटी, लगनखेललगायत सडकपेटीलाई सयपत्री फूल र मालाले छोपिएको छ । पहिले तरकारी, लुगालगायत विभिन्न सामग्री बेच्ने व्यवसायीलाई पनि तिहारका बेला फूल र फूलका मालाको व्यापारको चटारो हुन्छ ।

सम्बन्धित सामग्री

तिहार र ग्रामीण अर्थतन्त्र

नेपालीहरूको दोस्रो महान् पर्व तिहारले बिदा लिएको छ । सामाजिक सद्भाव कायम गराउनेदेखि गाउँमा त्यतिकै खेर जाने वस्तुसम्मको बजार सृजना गराउने काम तिहारमा हुन्छ । त्यसैले आयको वितरण ग्रामीण क्षेत्रमा पुर्‍याउन तिहारले योगदान दिएको देखिन्छ । पाँच दिनसम्म मनाइने यो चाड निकै विविधतामय छ । प्रकृतिको पूजादेखि ग्रामीण उत्पादन खपत गराउने यस चाडको धार्मिक, सांंस्कृतिक र सामाजिक महत्त्व त छँदै छ, यसको आर्थिक पक्ष पनि उत्तिकै सबल देखिन्छ ।  चाडपर्व भन्नेबित्तिकै तिनले खपत बढाउँछन् र अर्थतन्त्रलाई चलायमान गराउँछन् । दशैंतिहारमा नेपालमा हुने कुल व्यापारको झन्डै ३० प्रतिशत कारोबार हुने आकलन छ । यद्यपि यसबारे ठोस अध्ययन भने भएको छैन । तिहारमा हुने विविधताले अर्थतन्त्रलाई फरक किसिमले चलायमान गराउने देखिन्छ ।  गाउँघरमा सित्तैमा उपलब्ध हुने वस्तुले समेत तिहारमा राम्रो बजार पाउँछ । उदाहरणका लागि रातो माटोलाई लिन सकिन्छ । भुइँ पोत्नका लागि प्रयोग हुने रातो माटो शहरमा राम्रै मूल्यमा विक्री हुन्छ । तिहारमा कटुस, बिमिरो पनि अनिवार्य जस्तै मानिन्छ । गाउँका वनजंगलमा फल्ने कटुसले तिहारमा बजार पाउँछ । त्यतिमात्र होइन, बिमिरो, भोगटे, लगायतका वस्तुले तिहारमा बजार पाउँछ जसले शहरको पैसा गाउँमा लैजान्छ । तिहारमा विगतमा सयपत्री फूल र प्लास्टिकका फूलको आयात ठूलो परिमाणमा हुन्थ्यो । तर, अहिले सरकारले यसको आयातमा प्रतिबन्ध लगायो भने अर्कातिर नेपालमै प्रशस्त फूलखेती भयो । भारतीय फूल नभित्रिएको होइन, प्लास्टिकका फूल पनि बजारमा प्रशस्तै देखिए । सरकारले निर्णय कार्यान्वयन गर्न सकेन । तैपनि नेपाली किसानको फूलले राम्रो बजार पायो । फूलको बजार व्यवस्थापन गर्न काठमाडौं महानगरले स्थान तोक्यो तर त्यहाँ किसानको फूल नबिक्दा उल्टो मर्का पर्‍यो । फूल नबिकेको गुनासो विक्रेताको रहेको पाइयो । बजारमा केही समस्या देखिए पनि नेपालको उत्पादनले बजार ओगट्नु सकारात्मक पक्ष हो । यसमा सुधार गर्नु आवश्यक देखिन्छ ।  तिहारको अर्को महत्त्वपूर्ण पाटो देउसीभैलो हो । यो विशुद्ध मनोरञ्जनको परम्परा हो । विगतमा विद्यालय भवन निर्माणका लागि देउसीभैलो खेलेर रकम जम्मा गर्ने प्रवृत्ति थियो । अर्थात् यसले विकासनिर्माणमा समेत योगदान दिएको थियो । यो सामाजिक पूँजी हो । दशैंमा शहरमा व्यापार व्यवसाय गर्ने, जागीर खाने वा अध्ययन गर्ने सबै नागरिक गाउँतिर जाँदा गाउँको अर्थतन्त्रलाई धेरथोर टेवा पुग्छ । ग्रामीण उत्पादनको खपत तत्तत् स्थानमा हुन्छ । तर, त्यसमा गाउँका सामान्य उत्पादनले शहर प्रवेश खासै पाउँदैन । तिहारमा भने यस्ता वस्तुको विक्री व्यापक हुन्छ र गाउँको अर्थतन्त्रलाई निकै सहयोग पुर्‍याउँछ ।  तिहारको अर्को महत्त्वपूर्ण पाटो देउसीभैलो हो । यो विशुद्ध मनोरञ्जनको परम्परा हो । विगतमा विद्यालय भवन निर्माणका लागि देउसीभैलो खेलेर रकम जम्मा गर्ने प्रवृत्ति थियो । अर्थात् यसले विकासनिर्माणमा समेत योगदान दिएको थियो । यो सामाजिक पूँजी हो ।  तर, अहिले यस्तो प्रवृत्ति घटेको छ र सानातिना काममा पनि सरकारकै मुख ताक्ने प्रवृत्ति बढ्दो छ । मुठी दानबाट बनेका कतिपय विद्यालय र तिनबाट उत्पादित विद्यार्थी राष्ट्रका विभिन्न तहमा छन् । नयाँ पुस्ताले देउसीभैलोलाई निरन्तरता दिएको त छ तर सामाजिक कार्यमा त्यसबाट उठेको रकम लगानी हुन छाडेको छ । यो परिवर्तन सामाजिक र आर्थिक दुवै दृष्टिले उपयुक्त देखिँदैन यसलाई ब्यूँताउन सके विकास निर्माणमा जनसहभागिता जुटाउन सकिन्छ ।  गाउँका उत्पादनले बजार नपाउँदा र आर्थिक स्तर उकास्ने अवसर प्राप्त नहुँदा अहिले ग्रामीण बस्ती बिस्तारै रित्तिन थालेका छन् । सेवासुविधा गाउँमा राम्र्रैसँग पुगेको छ ।े अहिले विद्यालय, स्वास्थ्य सुविधा, बिजुली, पानी, सञ्चार, यातायातको समस्या गाउँमा निकै घटेको छ । सुदूर केही स्थानबाहेक धेरै ठाउँमा सेवासुविधा पर्याप्त भए पनि गाउँमा युवालाई रोक्न सकिएको छैन । त्यही भएर चाडपर्वको रौनक पनि बसाइँ सरेजस्तो छ । तैपनि ग्रामीण क्षेत्रमा उत्पादन हुने वस्तुले शहरमा राम्रो बजार पाउने हो र त्यसलाई सहज बनाइदिने हो भने तिनलाई धेरथोर गाउँमा रोक्न नै नसकिने भने होइन । चाडपर्वलाई यस्तो आर्थिक पक्षसँग जोडेर नीति निर्माण गर्न सकिन्छ र त्यसतर्फ ध्यान जानु पनि आवश्यक छ ।

मटिहानीमा आर्थिक सम्भाव्यता

रामायण कालदेखि चर्चित हालको मधेश प्रदेशको महोत्तरी जिल्लामा अवस्थित एउटा सानो गाउँ ‘मटिहानी’ लाई विसं २०७३ मा छिमेकका मझौरा, धिरापुर, बिसनपुरलाई समेट्दै नगरपालिका बनाइयो । यस नगरपालिकामा ३६ हजार हाराहारीमा जनसंख्या रहेको छ । यो स्थानका केही आफ्नै धार्मिक, सांस्कृतिक, शैक्षिक तथा आर्थिक पृष्ठभूमि रहेकाले आर्थिक विकासमा समेत ठूलो सम्भाव्यता रहेको छ ।      सीताको श्रीरामसँग विवाह गर्दा मैथिल परम्पराअनुरूप वेदीका लागि माटो खन्ने काम यही मटिहानीमा भएको थियो । उक्त ठाउँ लक्ष्मीनारायण पोखरीको नामले चिनिन्छ । यहाँ वर्र्षैभरि विभिन्न पर्व मनाइन्छन् । भारतको वाराणसीझैं नेपालको जनकपुरपछिको दोस्रो गंगा आरती हुने स्थान हो, यो । नेपालको सबैभन्दा पुरानो मठ र राष्ट्रकै सबभन्दा पुरानो विद्यालय राजकीय संस्कृत मावि पनि यहीँ छ । विगतका केही वर्षदेखि यहाँका जागरुक जनता र जनप्रतिनिधिको प्रयासबाट यसक्षेत्रको पर्यटकीय आकर्षण, व्यावसायिक क्षमता र भौतिक पूर्वाधारमा सम्भाव्यता देखिन थालेको छ । भारतसँग खुला सिमाना जोडिएकाले यहाँ राष्ट्रिय मुद्रास्फीति र मूल्यस्तरले कमै प्रभाव पारेको हुन्छ । कुनै समय चामल, तरकारी, सुनचाँदीको व्यापारका लागि अति नै प्रसिद्ध रहेको यो स्थान आज विकासका नयाँ लहरसँगै आफ्नो पहिचान कायम गर्न सफल भएको छ । सम्भाव्यताका क्षेत्र यो क्षेत्र कृषि बाहुल्य भएकाले सानो हाटलाई विस्तार गरी कृषिक्रान्ति ल्याउन सकिन्छ । २० किलोमीटरको दूरीमा रहेको जनकपुरधाममा रेलवे, हवाई अड्डा, राष्ट्रिय राजमार्ग, विभिन्न सरकारी र सार्वजनिक कार्यालय भएकाले मटिहानी क्षेत्रमा गरिने आर्थिक लगानी मुनाफामूलक हुने देखिन्छ । खुला र खेतीयोग्य जग्गा पर्याप्त उपलब्ध भएकाले यहाँ विविध स्वास्थ्य र शैक्षिक सुविधाहरू विस्तार गर्न सकिन्छ । मटिहानी क्षेत्रमा ठूलो सुविधासम्पन्न अस्पताल स्थापना गर्न सम्भव देखिन्छ । यसबाट त्यस क्षेत्रका करीब १५ गाउँपालिका र केही नगरपालिकाहरू एवं नजीकका भारतीय सीमापारिका समेत हजारौं मानिस लाभान्वित हुनुका साथै मनग्य आम्दानी र रोजगारीको अवसरसमेत सृजना गर्न सकिन्छ । यसका लागि अहिले पनि प्रदेशको राजधानी जनकपुर धाउनुपर्ने बाध्यता छ । यस क्षेत्रमा अहिले पनि कृषि जीविकाको स्वरूपमा मात्र रहेकाले व्यावसायिक कृषिको थालनी गरी कृषि उद्योग स्थापना गर्न सकिन्छ । त्यसका लागि वरपरका किसान भेला गरी तरकारी, फलफूल, नगदेबालीको उत्पादनमा विविधता ल्याउन सकिन्छ । स्नातक र स्नातकोत्तर तहमा व्यवस्थापन, कृषि, विज्ञान, प्रविधि, शिक्षा आदि विभिन्न संकायका उच्च शिक्षाका लागि यहाँ अझै क्याम्पसको अभाव रहेकाले यतातिर पनि लगानी गर्न सकिन्छ । दुग्ध उत्पादनहरूको माग उच्च रहेको मटिहानी क्षेत्रतिर गाई, भैंसी आदिको दूधको उपलब्धता भएकाले आधुनिक दुग्ध उत्पादन उद्योग सञ्चालन गर्न सकिन्छ । यस क्षेत्रमा कृत्रिम सुन्दरता सृजना गर्न सजिलो छ किनकि हरेक नगरपालिकाले संघीय प्रणालीको गणतन्त्रमा थुप्रै बजेट पाएकै हुन्छन् तर अर्थशास्त्रले यसलाई विकासको पूर्ण स्वरूप नै मान्दैन । विकासका लागि जीडीपी, विकास सूचकांक आदि सबै उच्चतम हुनु आवश्यक हुन्छ । यसका लागि औद्योगिक क्रान्ति चाहिन्छ । मटिहानीको नजीकै धनुषा जिल्ला उखुजस्तो नगदेबालीका लागि एक समय प्रसिद्ध थियो । अहिले त्यो घट्दो छ । यहाँ चिनी मिल स्थापना गर्न सके वरपरका कृषकलाई पुन: उखुखेती गर्न उत्प्रेरित गर्न सकिन्छ र देशमा रहेको चिनीको माग पूरा गर्न सकिन्छ । भारतको मुजफ्फरपुर, पटना, कोलकाता र दिल्लीबाट हरेक गुणस्तरका रेडिमेड कपडाहरूको ठूलो खरीद क्षेत्र मानिने मधवापुर ग्रामपञ्चायत मटिहानीसँग टाँसिएको सीमावर्ती क्षेत्र हो जहाँबाट किनिएका कपडा जनकपुरदेखि काठमाडौंसम्म विक्रीवितरण गरिन्छन् । त्यस क्षेत्रबाट त्यस्ता र अन्य औद्योगिक वस्तुहरू ठूलो परिमाणमा आयात गरी थोक विक्री र उत्पादन व्यवसाय सञ्चालन गर्न सकिन्छ । मसलाका उद्योग र व्यापार समेतका लागि मटिहानी उत्तम आर्थिक क्षेत्र सावित हुन सक्छ । धार्मिक विश्वास राख्ने ठूलो जनसमुदाय रहेको यस क्षेत्रमा पूजासामग्री जस्तै : अगरबत्ती, दीपबत्ती, चुनरी, सिन्दुर र धातुका सामान उत्पादन गर्ने साना ठूला उद्योग स्थापना गर्न सकियो भने यसले विशाल क्षेत्रसम्म बजार पाउने सम्भाव्यता छ । अहिले यहाँको मागलाई भारतीय आयातले पूरा गरिरहेको छ । फूल र माला, साबुन, कुखुराको दाना र पोल्ट्री फर्मको व्यापारको पनि सम्भावना देखिन्छ, यहाँ । यस क्षेत्रमा निजीक्षेत्रको लगानीमा संस्कृति र प्रविधिको सम्मिश्रणबाट कृत्रिम पर्यटकीय सुविधाहरू सञ्चालन गर्न सकिन्छ । यसबाट आन्तरिक र बाह्य पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि गराई मुनाफा कमाउन सकिन्छ । चुनौती यो क्षेत्र भारतसँगको खुला सिमाना र अत्यधिक समीप रहेकाले भन्सार विभाग, सरकार र प्रशासनको लापरवाहीले भन्सार छली सामान ल्याउने गरिएको छ जसबाट कर चुहावट उच्च देखिएको छ । छोटी भन्सार रहे तापनि यो ठूलो परिमाणको आयात–निर्यात प्रक्रियाका लागि उपयुक्त छैन । यहाँ पनि ठूलो भन्सार विभाग राख्ने हो अथवा त्यस्तो सुविधा दिने हो भने व्यापार व्यवसाय फस्टाउन सक्छ । यसप्रकारको कदमले एक नयाँ भन्सार बिन्दु थपिन गई यस क्षेत्रका व्यवसाय र त्यसका सहायक व्यवसायहरू जस्तै ढुवानी सेवाप्रदायक, विभिन्न बैंक र बीमा संस्थाहरू, क्लियरिङ एजेन्ट कार्यालयहरू सञ्चालनमा आउँछन् जसले बजार विस्तार हुन्छ । आन्तरिक राजस्व विभागको कुनै कार्यालय यहाँ नरहेकाले कर नियन्त्रण फितलो देखिन्छ जसको लागि जनकपुरमा रहेको आ.रा.का.को शाखा मात्र थप्न लगाई व्यापार मात्र सहज नभई कर चुहावटसमेत अनुगमन गरी नियन्त्रण गर्न सकिन्छ । यस ठाउँको मुख्य समस्या सबल भन्सार बिन्दु नहुनु हो जसको कारणले नै अवैध व्यापारिक कारोबार फस्टाइरहेको छ । धनी झन् धनी भइरहेछन् भने मध्यमवर्गीय योग्य शिक्षित जनशक्ति आन्तरिक पलायन गरिरहेको पाइएको छ । सीमामा अवैध क्रियाकलापमा कडाइ गरी भन्सार विस्तार गरियो भने मुअकर तिरेर वस्तु किनबेच गर्नुबाहेक कुनै विकल्प व्यापारमा नरहने हुन्छ । साथै नयाँ एवं पुराना पसल र व्यवसायले समेत सञ्जीवनी पाउनेछन् । लेखक नेशनल एकेडमी क्याम्पस वीरगञ्जमा व्यवस्थापन विषयको अध्यापन गर्दछन् ।

अरुबेला तरकारी र लुगा, तिहारमा फूल र माला

अरु बेला सवारीसाधनको घुइँचो र मानिसहरुको अत्यासलाग्दो भीड हुने उपत्यकाका प्रमुख चोकहरुमा तिहारका बेला भने फूल व्यापारी र ग्राहकको घुइँचो लाग्ने गर्छ । यसवर्ष पनि उपत्यकाका नयाँ बानेश्वर, कोटेश्वर, कालिमाटी, लगनखेललगायत सडकपेटीलाई सयपत्री फूल र मालाले छोपिएको छ । अरुबेला तरकारी, लुगालगायत विभिन्न सामग्री बेच्ने व्यवसायीलाई पनि तिहारका बेला फूल र फूलका मालाको व्यापारको चटारो हुन्छ ।

काठमाडौंमा फूलमाला व्यापारको चहलपहल (फोटोफिचर)

काठमाडौंको ब्यस्त शहर न्युरोड, असन लगायतका शहरमा फूल र माला किन्नेहरूको चहलपहल बढेको छ । भाइटिकाको दिन चेलीबेटीले आफ्ना दाजुभाइलाई फूलको माला पहिराउने र पुज्ने गर्दछन् ।चेलीबेटीले दाजुभाइलाई सप्तरङ्गी टीकासँगै माला लगाइदिने प्रचलन रहेको छ । काठमाडौंका विभिन्न स्थानका सडक पेटीहरूमा फुल र माला किन्नेको भीड लागेको देख्न सकिन्छ ।