नेपालीहरूको दोस्रो महान् पर्व तिहारले बिदा लिएको छ । सामाजिक सद्भाव कायम गराउनेदेखि गाउँमा त्यतिकै खेर जाने वस्तुसम्मको बजार सृजना गराउने काम तिहारमा हुन्छ । त्यसैले आयको वितरण ग्रामीण क्षेत्रमा पुर्याउन तिहारले योगदान दिएको देखिन्छ । पाँच दिनसम्म मनाइने यो चाड निकै विविधतामय छ । प्रकृतिको पूजादेखि ग्रामीण उत्पादन खपत गराउने यस चाडको धार्मिक, सांंस्कृतिक र सामाजिक महत्त्व त छँदै छ, यसको आर्थिक पक्ष पनि उत्तिकै सबल देखिन्छ ।
चाडपर्व भन्नेबित्तिकै तिनले खपत बढाउँछन् र अर्थतन्त्रलाई चलायमान गराउँछन् । दशैंतिहारमा नेपालमा हुने कुल व्यापारको झन्डै ३० प्रतिशत कारोबार हुने आकलन छ । यद्यपि यसबारे ठोस अध्ययन भने भएको छैन । तिहारमा हुने विविधताले अर्थतन्त्रलाई फरक किसिमले चलायमान गराउने देखिन्छ ।
गाउँघरमा सित्तैमा उपलब्ध हुने वस्तुले समेत तिहारमा राम्रो बजार पाउँछ । उदाहरणका लागि रातो माटोलाई लिन सकिन्छ । भुइँ पोत्नका लागि प्रयोग हुने रातो माटो शहरमा राम्रै मूल्यमा विक्री हुन्छ । तिहारमा कटुस, बिमिरो पनि अनिवार्य जस्तै मानिन्छ । गाउँका वनजंगलमा फल्ने कटुसले तिहारमा बजार पाउँछ । त्यतिमात्र होइन, बिमिरो, भोगटे, लगायतका वस्तुले तिहारमा बजार पाउँछ जसले शहरको पैसा गाउँमा लैजान्छ । तिहारमा विगतमा सयपत्री फूल र प्लास्टिकका फूलको आयात ठूलो परिमाणमा हुन्थ्यो । तर, अहिले सरकारले यसको आयातमा प्रतिबन्ध लगायो भने अर्कातिर नेपालमै प्रशस्त फूलखेती भयो । भारतीय फूल नभित्रिएको होइन, प्लास्टिकका फूल पनि बजारमा प्रशस्तै देखिए । सरकारले निर्णय कार्यान्वयन गर्न सकेन । तैपनि नेपाली किसानको फूलले राम्रो बजार पायो । फूलको बजार व्यवस्थापन गर्न काठमाडौं महानगरले स्थान तोक्यो तर त्यहाँ किसानको फूल नबिक्दा उल्टो मर्का पर्यो । फूल नबिकेको गुनासो विक्रेताको रहेको पाइयो । बजारमा केही समस्या देखिए पनि नेपालको उत्पादनले बजार ओगट्नु सकारात्मक पक्ष हो । यसमा सुधार गर्नु आवश्यक देखिन्छ ।
तिहारको अर्को महत्त्वपूर्ण पाटो देउसीभैलो हो । यो विशुद्ध मनोरञ्जनको परम्परा हो । विगतमा विद्यालय भवन निर्माणका लागि देउसीभैलो खेलेर रकम जम्मा गर्ने प्रवृत्ति थियो । अर्थात् यसले विकासनिर्माणमा समेत योगदान दिएको थियो । यो सामाजिक पूँजी हो ।
दशैंमा शहरमा व्यापार व्यवसाय गर्ने, जागीर खाने वा अध्ययन गर्ने सबै नागरिक गाउँतिर जाँदा गाउँको अर्थतन्त्रलाई धेरथोर टेवा पुग्छ । ग्रामीण उत्पादनको खपत तत्तत् स्थानमा हुन्छ । तर, त्यसमा गाउँका सामान्य उत्पादनले शहर प्रवेश खासै पाउँदैन । तिहारमा भने यस्ता वस्तुको विक्री व्यापक हुन्छ र गाउँको अर्थतन्त्रलाई निकै सहयोग पुर्याउँछ ।
तिहारको अर्को महत्त्वपूर्ण पाटो देउसीभैलो हो । यो विशुद्ध मनोरञ्जनको परम्परा हो । विगतमा विद्यालय भवन निर्माणका लागि देउसीभैलो खेलेर रकम जम्मा गर्ने प्रवृत्ति थियो । अर्थात् यसले विकासनिर्माणमा समेत योगदान दिएको थियो । यो सामाजिक पूँजी हो ।
तर, अहिले यस्तो प्रवृत्ति घटेको छ र सानातिना काममा पनि सरकारकै मुख ताक्ने प्रवृत्ति बढ्दो छ । मुठी दानबाट बनेका कतिपय विद्यालय र तिनबाट उत्पादित विद्यार्थी राष्ट्रका विभिन्न तहमा छन् । नयाँ पुस्ताले देउसीभैलोलाई निरन्तरता दिएको त छ तर सामाजिक कार्यमा त्यसबाट उठेको रकम लगानी हुन छाडेको छ । यो परिवर्तन सामाजिक र आर्थिक दुवै दृष्टिले उपयुक्त देखिँदैन यसलाई ब्यूँताउन सके विकास निर्माणमा जनसहभागिता जुटाउन सकिन्छ ।
गाउँका उत्पादनले बजार नपाउँदा र आर्थिक स्तर उकास्ने अवसर प्राप्त नहुँदा अहिले ग्रामीण बस्ती बिस्तारै रित्तिन थालेका छन् । सेवासुविधा गाउँमा राम्र्रैसँग पुगेको छ ।े अहिले विद्यालय, स्वास्थ्य सुविधा, बिजुली, पानी, सञ्चार, यातायातको समस्या गाउँमा निकै घटेको छ । सुदूर केही स्थानबाहेक धेरै ठाउँमा सेवासुविधा पर्याप्त भए पनि गाउँमा युवालाई रोक्न सकिएको छैन । त्यही भएर चाडपर्वको रौनक पनि बसाइँ सरेजस्तो छ । तैपनि ग्रामीण क्षेत्रमा उत्पादन हुने वस्तुले शहरमा राम्रो बजार पाउने हो र त्यसलाई सहज बनाइदिने हो भने तिनलाई धेरथोर गाउँमा रोक्न नै नसकिने भने होइन । चाडपर्वलाई यस्तो आर्थिक पक्षसँग जोडेर नीति निर्माण गर्न सकिन्छ र त्यसतर्फ ध्यान जानु पनि आवश्यक छ ।