बिदा धेरै भयो भन्दै थे, कुर्सीमा पुग्नासाथ फ्याट्टै छलाङ हानेछन् क्रान्तिकारीले, दनादन सार्वजनिक बिदा थप्न पो लागे । ३० दिनको महीना १२ दिन बिदा । सरकारी निकायले काम नगरे पनि तलब पाकिहाल्छ, के भो र । अरूलाई बिदा दियो आफू व्यापारतिर लाग्यो । राजनीति गर्नेहरू भित्रभित्रै व्यापारमा लाग्न थालेका छन् भने उद्योगी व्यापारीहरू राजनीतितिर । राजनीतिमा नजाने व्यापारीहरू भने कि संन्यास लिने, नभए आत्महत्या गर्ने स्थितिमा पुगेका छन् । पूरै राजनीति र शासनतन्त्र भने जनतालाई मूल मुद्दाबाट भट्काउने किसिमले गरिँदै गएको छ । पाकिस्तानको आर्थिक स्थिति हेरौं । अझ आर्थिक रूपले बलियो श्रीलंकाको हालत हेरौं, जो कुनै बेला पूरै सुनको थियो रे । हाम्रै पालामा पनि कति राम्रो थियो, तर आज कुन स्थितिमा छ ।
दल र दलपतिहरू चढ्न चैं उत्तरमा रहेको समृद्धिको सगरमाथा चाहन्छन्, तर लाग्छन् दक्षिणतिरको महासागरतर्फ । काशी जान कुत्तीको बाटो भन्थे पुर्खाले, अहिले हिमाल चढ्न दिल्लीको दौड पो छ । तर ‘दिल्लीका लड्डु खाया भी पछुताया, नखाया भी पछुताया’ ।
पदमा पुग्नासाथ नेताहरू सत्ता र भत्ताको मदमा मस्त रहँदा रहेछन् । कुर्सी त ढिलोचाँडो जान्छ, तर देशमा उनीहरूले गरेका गलत कामहरूको प्रभाव भने पुस्तौंसम्म रहन्छ । हिजोको कामको परिणाम आज भोग्छौं, आजको कामको भोलि । शास्त्रले कर्मको फल भोग्नैपर्छ भन्छ । आज धान रोपेर भोलि गहँु त पक्कै नफल्ला । तर कलहको बीउ रोपेर सुशासनको फल टिप्ने आशा गर्दैर्छौं हामी ।
हिजो शासकले गरेका कर्मको फल अहिले हामी सर्वसाधारणले भोग्दै छौं । कुनै दिन त उनीहरू आफैले पनि भोग्नुपर्ला नै । इराकका सद्दाम, पाकिस्तानका जिया, युगान्डाका अमीन, बंगलादेशका खोन्डाकर, फिलिपिन्सका मार्कोस, क्याम्बोडियाका पोलपोट, चिलीका पिनोशे जस्ताको उदाहरण हेरे पुग्छ । इतिहास त यिनले पनि पढे होलान् । तर बुझ्न चाहिँ के बुझे खै कुन्नि ? शायद हाम्रा आजका शासकहरू आफै भ्रममा छन् र देशलाई पनि भ्रमै भ्रममा डोर्याइरहेका छन् । वा भ्रमको खेती गरेर आफ्ना उन्नतिको सिँढी मात्र थपिराछन् ?
ल सत्तापक्षलाई त पदको मात लाग्यो रे । तर प्रतिपक्ष चाहिँ के भको हो कुन्नि ? स्वस्थ प्रजातन्त्रका लागि त बलियो विपक्षी चाहिन्छ भन्छन् । जुनसुकै दलको सरकार होस्, त्यसलाई मत्ता हात्ती हुन नदिने काम हो प्रतिपक्षको । तर जब चुनिएर आएको विपक्षी कमजोर हुन्छ वा कुनै लोभका कारणले कमजोर बन्छ वा बनाइन्छ, तब त्यो विपक्षीको भूमिका निभाउने जिम्मा पत्रकार, बुद्धिजीवी, नागरिक समाजको हुन्छ । हो त्यै विपक्षीको भूमिकामा छु अहिले म । नेपालमा नागरिक त छन्, तर नागरिक समाज देखिरहेको छैन । जहाँसम्म बुद्धिजीवीहरू छन् कि छैनन् भन्ने प्रश्न छ, बुद्धि भएकाहरू धेरै छन् देशमा । तर धेरैका बुद्धिमा जीवहरू अर्थात् कीरा पसेका छन् जस्तो छ । त्यसैले उनीहरू दलको मादलमा नाचिरहेका मात्र देखिन्छन् ।
जुनसुकै नाममा खुलेका किन नहुन् तर नेपालका दल र सरकारले काम गर्न सकेनन् वा गर्न चाहेनन् । यो कुरा कुनै पत्रकार वा कुनै मिडियाले मात्र भनेका होइनन् । स्वयं सरकार, दल र संसद्भित्रैबाट उठिरहेको आवाज हो यो । जनताले राम्रैसँग बुझेका छन् कि यिनका कथनी र करणीमा कति फरक छ भनेर ।
यी दल र दलपतिहरू चढ्न चैं उत्तरमा रहेको समृद्धिको सगरमाथा चाहन्छन्, तर लाग्छन् दक्षिणतिरको महासागरतर्फ । काशी जान कुत्तीको बाटो भन्थे पुर्खाले, अहिले हिमाल चढ्न दिल्लीको दौड पो छ । तर ‘दिल्लीका लड्डु खाया भी पछुताया, नखाया भी पछुताया’ । शायद उनीहरूलाई केही गर्नु नै छैन । केवल अनेक तिगडम गरेर शासनको गद्दीमा टाँसिइरहनु छ ।
हामी नेपालीहरू सधैं भगवान्को खोजीमा भट्किरहेका हुन्छौं । भक्त हुनु ठीकै होला । तर अन्धभक्तिले कसैलाई कहीँ पुर्याउँदैन । आँखा त सबैको देखिन्छ, तर दृष्टि कसैमा पनि देखिन्न, दूरदृष्टि त झन् टाढाका कुरा भयो । नेपाली मतदाताको समस्या यहीँनेर छ । अन्धभक्त हरेक ढुंगालाई भगवान् बनाउन उद्यत छ । भगवान्का हरेक अपराध पनि अपराध लाग्दैनन् । यहाँ कि कसैको एकैचाटि देवत्वकरण हुन्छ कि दानवीकरण । यस्तो रोग लागेपछि कुन सही दृष्टि, कुन भ्रम कसले छुट्ट्याउने ?
मानिसहरू जताततै भ्रष्टाचार भयो भनिरहेका छन् । नेताहरू पनि त्यसै भनिरहेका छन् हाकिम र पियन पनि त्यही भनिरहेका छन् । सबैले भ्रष्टाचारको विरोध गर्छन् । तर यहाँ भ्रष्टाचार शिष्टाचार बनिसकेको छ । एकआपसमा मिलेर खानु भ्रष्टाचार नभई एक ‘कोअपरेटिभ कल्चर’ बनेको छ । अनि भाषणमा भ्रष्टाचार देखिन्छ, अख्तियारले भ्रष्टाचार र भ्रष्टाचारी देख्दैन । त्यसैले नेपालमा भ्रष्टाचार कहिले खत्तम हुन्छ त ? म भन्छु कहिल्यै हुन्न । किनकि राजनीति र भ्रष्टाचार दुवैको राशी एउटै हो । त्यसैले भनिन्छ कि नेपालमा प्रत्येक व्यक्ति इमानदार छ, जबसम्म ऊ पक्राउ पर्दैन ।
यै साता संसद्मा गएरै स्वयं राष्ट्रपतिले समेत भनिन् कि देशमा भ्रष्टाचार धेरै भयो, कम गर्नुपर्यो भनेर । जवाफमा प्रधानमन्त्रीले भ्रष्टाचार खत्तमै गर्ने ठोकुवा गरे । अर्थात् आफू पनि नखाने, अरूलाई पनि खान नदिने रे । झूठको निम्तो खाइ पत्याउनु ! नखाई उनीहरू कसरी बाँच्छन् होला र खै ?
न स्मार्टफोन बोक्दैमा कोही स्मार्ट हुन्छ, न त फास्ट फूड खाएर कोही फास्ट हुन्छ । त्यस्तै न कसैले भ्रष्टाचार निर्मूल पार्छु भनेर भ्रष्टाचार निर्मूल हुन्छ, न चोखो छु भन्ने नै चोखो हुन्छ । किनकि जबसम्म देशका मूल मुद्दाहरूमा नेतृत्व तहबाटै इमानदार समाधान खोजिँदैन, तबसम्म देश अघि बढ्दैन ।
यतिबेला देशलाई विभिन्न समस्याहरूबाट मुक्ति चाहिएको छ भन्छन् हरेक दल र दलपतिहरू । त्यसो गर्न त धर्मभक्त र दशरथ चन्दहरू नै चाहियो नि । दशलाखे शहीदहरूबाट त पार लागेन त ! तर फेरि भक्त र चन्दहरू कहाँबाट ल्याउने ? ल मानौं, आए रे । बदलामा फेरि रगत माग्छन् । कसरी दिनु ? दुईचार थोपा बचेको रगत पनि दिने हो भने करवाला र घरवालाले के चुस्छन् फेरि ?
त्यसैले भन्न मन लाग्छ...
लौन ! यो कस्तो स्वतन्त्रता हो, बिहानीसँग डर लाग्छ
जबदेखि लुटिएँ उज्यालोमा, अब उज्यालोसँगै डर लाग्छ
प्रजातन्त्रको मन्त्र जपिहिँड्ने पाखण्डीहरूको करतूतहरू देखेपछि
अब त पराईहरूबाट भन्दा आफ्नै भन्नेहरूसँग डर लाग्छ ।