फागुन ८, काठमाडौं । पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन) का नवनियुक्त अध्यक्ष रमेश हमालले पदबहाली गरेका छन् ।
उनी आइतवार बिहान सेबोनको कार्यालय ललितपुरमा पुगेर पदबहाली गरेका हुन् ।
पदबहाली पछि अध्यक्ष हमालले पूँजीबजार क्षेत्रमा रहेका साना लगानीकर्ताहरुको हितका लागि आफूले सक्दो काम गर्ने बताए । उनले आफ्नो कार्यकालमा केही सुधारको महसुस गर्न सकिने गरि काम गर्ने पनि बताए ।
साथै उनले साना लगानीकर्ताहरुले ढुक्कसँगले लगानी गर्न सक्ने वातावरण बनाउनेतर्फ केन्द्रित हुने पनि बताए । त्यसैगरी उनले सेबोनको आन्तरिक क्षमता वृद्धिदेखि सुशासन कायम गराउनका लागि समेत काम गर्ने बताए ।
गत बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले सेबोनको अध्यक्षमा नियुक्त गरेपछि अर्थमन्त्री जनार्दन शर्माले उनलाई शुक्रवार पद तथा गोपनियताको सपथ गराएका थिए । करीब ६ महीनापछि सरकारले कैलाली जिल्ला घर भएका हमाललाई सेबोनका अध्यक्षमा नियुक्त गरेको हो ।
तत्कालीन सेबोन अध्यक्ष भीष्मराज ढुङ्गानाले पदीय मर्यादा विपरीत एक सिमेन्ट कम्पनीसँगको शेयर खरीद प्रकरणमा जोडिएको भन्दै सरकारले हटाएको थियो ।