फागुन ११, कास्की । पोखरा क्षेत्रमा आइतवार दिउँसो परेको असिनापानीले ११ कोरोडभन्दा बढीको क्षति पुर्याएको छ । हावाहुरीसहित अकस्मात परेको बाक्लो असिनापानीले कृषकहरुले लगाएको तरकारी तथा फलफूलसहित बालीनालीहरु नष्ट गरेको छ भने केही पशुपंछी समेत मरेका छन् ।
असिनापानीका कारण पोखरामा करीब ११ करोड रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाका प्रमुख मनोहर कडरियाले बताए ।
पोखराका वडा नम्बर ३, ९, ११, १२, १३, १४ र १८ मा बढी क्षति पुगेको उनको भनाइ छ । असिनापानीले तोरी, गहुँ, फापर, घाँस, विभिन्न जातका फलफूल, काउली, साग, आलु, घिरौला, काँक्रो, प्याज, लसुन लगायतमा क्षति पुगेको छ ।
कडारियाले कृषकहरुले पशुपन्छि र कृषि फर्महरुको बीमा नगरेका कारण आर्थिक नोक्सानी ब्यहोर्नु परेको बताए ।
असिनाका कारण पोखरा–११ मा फलमान गुरुङको ‘उदय अर्गानिक कृषि फार्म’का २ ओटा भैँसी मरेका छन् । भैँसीका लागि बनाइएको गोठको छानोमा असिना थुप्रिरएर छाना खसेर किच्दा २ ओटा भैँसी मरेका छन् ।
पोखरा-११ का अर्का कृषक मेकबहादुर गुरुङले सञ्चालन गर्दै आएको ‘दीपगंगा कृषि फार्म’ असिनापानीले भत्किदा २ ओटा भैँसी घाइते भएका छन् । नर्सरी र कृषि गरी फार्ममा करीब १५ लाखको क्षति पुगेको गुरुङले बताए । त्यसैगरी कृषकहरुले तरकारी खेतीका लागि निर्माण गरेका टनेलहरु भत्किएर ठूलो संख्यामा क्षति पुगेको छ ।
केहरमान गुरुङले पोखरा–११ मा सञ्चालन गर्दै आएका गोर्खाली मनकामना नर्सरीको ४ रोपनी क्षेत्रफलको टनेल भाँचिदा २० लाख रुपैयाँको क्षति पुगेको बताए ।
असिनाले किसानले लगाएको हिउँदे तरकारी बालिका साथै नगदेबाली काउली, आलु, साग, तोरी लगायतमा ठूलो क्षति पुर्याएको विरौटाकी सरिता केसीले बताइन् । उनले भनिन्, ‘असिनापानीका कारण ठूलो क्षति भएपछि किसानहरु मर्कामा परेका छन् । कृषकलाई सरकारले समयमै उचित राहतको व्यवस्था गर्नु पर्छ । बिउबिजन र मलजलमा राहतको व्यवस्था गर्नुपर्छ ।’
पोखरा क्षेत्रमा २ हजार १८१ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ । फलफूल ३२० हेक्टर क्षेत्रफलमा, आलु १ हजार २५३ हेक्टर क्षेत्रफलमा उत्पादन हुने गरेको छ ।
पोखरामा गते आइतवार दिउँसो भीषण असिनापानी परेको थियो । असिनापानीले असिना पानीले पोखराको सडक समेत लामो समयसम्म अवरुद्ध भएको थियो ।
पोखराको न्यूरोड, चिप्लेढुंगा, नदिपुर, फुलबारी, बगर, पृथ्बीचोक, विरौटा, अमरसिंह चेक लगायतका ठाउँहरुमा बाक्लो असिना जमेकाले सवारीका साधनहरु रोकिएका थिए । महेन्द्रपुलका सडकमा असिनाको खात लागेकाले जोडर नै प्रयोग गरेर सडक खुलाइएको थियो ।