काठमाडौं (अस) । ‘वाईवाई ग्लोकल टीन हीरो नेपाल २०२२’ का लागि आवेदन खुला गरिएको छ । आठौंैं संस्करणको उक्त अवार्ड कार्यक्रम आगामी सेप्टेम्बर १ मा हुने आयोजक ग्लोकल प्रालिले बताएको छ । किशोरकिशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी समाजमा उनीहरूको प्रभावकारी कामको कदर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ ।
उक्त कार्यक्रमबाट किशोरकिशोरीमा उद्यमशील सोच विकास एवं रचनात्मक शुरुआतका लागि थप ऊर्जा प्रदान गरिने कम्पनीले बताएको छ । नेपालबाट सन् २०१५ मा शुरू भएको उक्त कार्यक्रममा काठमाडौंका किशोरकिशोरीहरू लक्षित मात्रै थियो । पछि सन् २०१६ देखि मुलुकभरिका सबै किशोरकिशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन थालेको कम्पनीले जानकारी दिएको छ ।
हालसम्म नेपालका सात किशोरकिशोरीहरूलाई ‘ग्लोकल टिन हिरो नेपाल’का रूपमा सम्मानित गरिएको छ । त्यस्तै ग्लोकल टिन हिरो इन्डियाबाट तीन र श्रीलंकाबाट दुईजना सम्मानित भएका छन् । २० अण्डर २० छनोट गरेर हालसम्म १४० जनालाई सम्मानित गरिएको बताइएको छ । शिक्षा, उद्यमशीलता, कूटनीति एवं अन्य विविध क्षेत्रका व्यक्तिको उपस्थितिमा सो कार्यक्रम सञ्चालन गरिँदै आएको जानकारी कम्पनीले दिएको छ ।