अनलाइन शेयर कारोबारका लागि सात लाखभन्दा धेरैले अनुमति लिए

काठमाण्डाै - अनलाइनमार्फत  शेयर कारोबार गर्नका लागि अहिलेसम्म सात लाखभन्दा धेरैले युजरनेम र पासवर्ड लिएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजारमा नयाँ लगानीकर्ताको प्रवेश बढिरहेकाले अनलाइन कारोबारको लागि अनुमति लिनेको सङ्ख्या पनि बढिरहेको हो । शेयरबजार बढिरहेको र नयाँ पुस्ताको आकर्षणका कारण कारोबारीहरु बढिरहेको नेप्सेले जनाएको छ । आइतवार मात्रै शेयर कारोबार रकम र सङ्ख्याले रेकर्ड बनाएको छ । आइतवार १९ अर्ब ५५ करोड रुपैयाँ बराबरका तीन करोड ७० लाख ७६ हजार कित्ता शेयर किनबेच भएका छन् । एक लाख ८२ हजार ...

सम्बन्धित सामग्री

शेयरबजार विस्तार

नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीले ७७ ओटै जिल्लामा शाखा विस्तार गर्न पाउने व्यवस्था गरेको छ । यसबाट लगानीकर्ता र शेयर ब्रोकरसमेत खुशी देखिएकाले यसले बजारलाई थप विस्तार र परिपक्व बनाउँदै लैजाने अपेक्षा गर्न सकिन्छ । बोर्डले ‘धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्नेसम्बन्धी निर्देशिका २०७९’ जारी गरी शाखा खोल्न बाटो खुला गरेको हो । ब्रोकर कम्पनीले शाखा विस्तार गर्दा प्रतिशाखा रू. १ करोड ५० लाखका दरले चुक्ता पूँजी कायम गर्नुपर्ने व्यवस्था गरिएको छ, यस्तै मुख्य कार्यालय रहेको जिल्लामा शाखा कार्यालय खोल्न अनुमति नदिने व्यवस्था पनि गरिएको छ । त्यसैगरी उपत्यकाबाहिर कम्तीमा तीन शाखा खोलेपछि मात्रै उपत्यकामा शाखा खोल्न पाइने व्यवस्था गरिएको छ । एकपटकमा एउटा मात्र शाखा खोल्नका लागि निवेदन दिन सकिने व्यवस्था गरिएको छ । यसरी विभिन्न प्रावधानसहित बोर्डले शाखा विस्तार गर्न दिने नीति लिएको छ । अहिले शेयरबजारको सबैजसो काम अनलाइन हुन थालिसकेको छ । शेयर खरीद विक्री आदेश दिने, रद्द गर्ने, खरीद गरेपछि भुक्तानी दिने र विक्री गरेको शेयरको रकम खातामा आउने सबै कुरा अनलाइन भइरहेको छ । विश्वको कुनै पनि कुनामा बसेर शेयर किनबेच गर्न सकिने भएको छ । यस्तोमा ब्रोकर कम्पनीका शाखा सबै जिल्लामा आवश्यक नपर्न पनि सक्छन् । तर, बैंकहरूले ब्रोकरको अनुमति लिएमा भने ब्रोकरहरूलाई समस्या पर्ने देखिन्छ । बैंकहरूको शाखा सबै जिल्लामा पुगिसकेकाले उनीहरूले ती शाखामार्फत शेयर कारोबारको सुविधा दिन सक्छन् । हुन त बैंकहरूले शेयर कारोबार गर्न अलग्गै कम्पनी खडा गर्नुपर्ने प्रावधान राखिएको छ । तैपनि बैंकको शाखा सञ्जालसँग प्रतिस्पर्धा गर्न ब्रोकर कम्पनीहरूले शाखा खोल्न आवश्यक देखेका हुन सक्छन् । बोर्डले यस्तो व्यवस्था गरे पनि जिल्लाजिल्लामा ब्रोकरको शाखा खुलिहाल्छन् भन्ने देखिँदैन । बजारको सम्भावना देखिएका जिल्लाहरूमा शाखा खुल्न सक्छ । एउटै व्यक्तिले अलग अलग ब्रोकरकहाँ खाता खोल्न नपाउने व्यवस्था गरिएको छ । यसो हुँदा शाखाहरू बीच प्रतिस्पर्धा भने हुन सक्ने देखिँदैन । जे भए पनि यसले शेयरबजारलाई सकारात्मक बनाउने विश्वास गर्न सकिन्छ ।

शेयरमा उतारचढाव र भविष्य

अहिले शेयरको बारेमा चर्चा, परिचर्चा, टीकाटिप्पणी गर्नेहरू समाजमा धेरै भेटिन्छन् । हरेक घरदेखि चिया पसलसम्म पनि शेयरकै गफगाफ हुने गरेको छ । सामाजिक सञ्जाल फेसबुक, यूट्युब खोलेर हेरियो भने शेयरकै बारेमा सूचना प्रवाह भइरहेको पाउँछौं । शेयरका बारेमा जान्न, बुझ्न चाहनेहरू फेसबुकमा समूहगत रूपमा देखिन थालेका छन् । कार्यालयमा काम गर्दागर्दै नेप्सेमा आँखा डुलाउने पनि छन् । कम्पनीको पूँजीलाई सानो एकाइमा विभाजन गरेर बजारमा लगानीकर्तालाई विक्री गर्ने लगानीको अंश नै शेयर हो । शेयरलाई कानूनी भाषामा धितोपत्र भन्ने गरिन्छ । कम्पनी ऐन २०६३ मा साधारण, बोनस, हकप्रद, अग्राधिकार शेयर गरी विभाजन गरेको छ । कानूनले तोकिएको निश्चित पूँजी राखी स्थापना भएको कम्पनीले आफ्नो उद्देश्यअनुसार गरेको व्यवस्थायबाट भएको नाफा वा घाटा दुवैमा लगानीको अनुपातमा बेहोर्न मञ्जुर गरी शेयरमा लगानी गरिएको हुन्छ । यसैको आधारमा भविष्यमा लगानीकर्ताले नाफा वा घाटाको अंशियार बन्नुपर्ने हुन्छ । शेयरमा गरेको लगानीबाट लगानीकर्ताले कम्पनीको वित्तीय विवरणको आधारमा मुनाफा देखिएमा वार्षिक रूपमा लाभांश प्राप्त गर्ने गर्छ । तर, शेयरको सूचीकरण पश्चात् दोस्रो बजारमा कारोबार भएबापत प्राप्त हुने नाफा वा घाटाको सम्पूर्ण जिम्मेवारी लगानीकर्ता स्वयम् नै हुनुपर्छ । नेपालमा शेयर कारोबार हुन थालेको ८ दशकभन्दा बढी भइसकेको छ । १९९४ सालसम्म शेयर कारोबारको शुरुआत नै भएको थिएन । विसं १९९४ कात्तिक ३० गते नेपाल बैंकको स्थापनापछि देशमा औपचारिक रूपमा शेयर कारोबार हुन थालेको थियो । नेपाल बैंक र विराटनगर जुट मिल्सले पहिलो पटक शेयर जारी गरेका थिए । नेपालमा शेयर कारोबारको शुरुआती दिनमा स्टक एक्सचेन्जको स्थापना नै भएको थिएन । शेयरबजार सानो आकारमा सञ्चालन हुने गरेको थियो । लगानीकर्ता बजारमा खोज्नुपर्ने अवस्थामा थियो । कम्पनी ऐन २०२१ जारी भएपछि पहिलोपटक सरकारी ऋणपत्र निष्कासन भएको थियो । पछि २०३३ सालमा आएर धितोपत्र खरीद विक्री केन्द्रको स्थापना भयो । यस केन्द्रको स्थापनापछि मात्र नेपाली शेयरबजारमा सरकारी ऋणपत्र र कम्पनीको शेयर दोस्रो बजारमा किनबेच हुन थालेको थियो । त्यसको केही समयपछि उद्योगधन्दाको स्वामित्वमा जनसहभागिता बढाउन भन्दै धितोपत्र कारोबार ऐन २०४० जारी भई शेयरबजारलाई व्यवस्थित गर्न खोजेको देखिन्छ । देशमा २०४६ सालमा बहुदलीय प्रजातन्त्रको स्थापना भएपछि आर्थिक उदारीकरणको नीति अवलम्बन गरियो र देशमा निजीस्तरबाट विभिन्न उद्योगधन्दाहरू स्थापना भई सञ्चालनमा आए । धितोपत्र कारोबार ऐन २०४० मा भएको पहिलो संशोधनले धितोपत्र बजार सञ्चालन गर्न अनुमति लिनुपर्ने व्यवस्था गरे । पछि धितोपत्र खरीद विक्री केन्द्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रूपान्तरण भई २०५० पुस २९ गते पछि यसैमार्फत नियमित रूपमा शेयर कारोबार हुन थाले । कम्पनी स्थापना, शेयरको प्रकार, शेयर बाँडफाँट गर्ने कार्यलाई नियमित तथा व्यवस्थित गर्ने काम कम्पनी ऐन २०५३ ले गरे । पटकपटक कानून संशोधन भए पनि शेयरबजारले गति लिन सकेको थिएन । देशको आर्थिक विकासको लागि पूँजी परिचालन गर्न, लगानीकर्ताको हित संरक्षण गर्न, शेयरबजारलाई व्यवस्थित गर्न धितोपत्रसम्बन्धी ऐन २०६३ र धितोपत्र बजार सञ्चालन नियमावली २०६४ जारी गरियो । तैपनि शेयर कारोबारमा सहजता आएको थिएन । २०७२ सालसम्म आइपुग्दा शेयर कारोबार पूर्णरूपमा विद्युतीय माध्यमबाट भई धेरै नै सहजता आइसकेको छ । अहिले शेयरबजार साना, ठूला सबै लगानीकर्ताको पहुँचमा पुगिसकेको छ । लगानीको आकार पनि बढिसकेको छ । घर, कार्यालय, पार्क वा कुनै उपयुक्त स्थानमा बसी मोबाइल वा कम्प्युटरको सहायताले कम्पनीको शेयरमा लगानी गर्ने वातावरण बनिसकेको छ । सामाजिक सञ्जाल, सञ्चार माध्यमबाट शेयरसम्बन्धी सूचना तथा जानकारीहरू लगानीकर्तासमक्ष आउने गरेका छन् । अहिलेसम्म नेप्सेमा कारोबारका लागि सूचीकरण भएका कम्पनीहरू २ सयभन्दा बढी छन्, जसमा होटल, बैंक तथा वित्तीय संस्था, बिमा, जलविद्युत् तथा विभिन्न उत्पादनमूलक उद्योगहरू समावेश छन् । शेयर कारोबारमा आएको सहजताले लगानीकर्ताहरू पनि बढेका छन् । दोस्रो बजारमा नेप्सेमा सूचीकृत शेयरको मूल्य घट्ने र बढ्ने क्रम निरन्तर चलिरहेको हुन्छ । बजारमा आउने हल्ला, राजनीतिक परिवर्तन, नियामक निकायको नीतिगत व्यवस्था, भित्री कारोबार (इन्साइडर ट्रेडिङ) जस्ता विभिन्न पक्षले शेयरबजारमा उतारचढावको स्थिति आउने गर्छ । यस्ता कार्यप्रति लगानीकर्ता सचेत हुनुपर्छ । लगानीकर्ताहरूले कम्पनीको वित्तीय अवस्था, व्यवस्थापन पक्ष, नीतिगत व्यवस्था, बजारमा शेयर किनबेचमा हुने उतारचढाव आदिको बारेमा जानेर मात्र लगानी गर्नु उपयुक्त हुन्छ । शेयरमा अल्पकाल वा दीर्घकालका लागि लगानी गर्न सकिन्छ । वित्तीय रूपमा सबल कम्पनीको शेयरमा लगानी गरेको खण्डमा लगानीकर्तालाई भविष्यमा फाइडा नै गर्ला । तर, शेयरबाट सबैजना करोडपति नै हुन्छ भन्ने छैन, तर भविष्य राम्रो छ । राष्ट्रिय अर्थतन्त्र निर्माणमा शेयरबजारको पनि महत्त्वपूर्ण भूमिका रहने कुरामा विवाद छैन । उदार अर्थव्यवस्थाको शुरुआत भएसँगै देशको शेयरबजारमा निजी कम्पनीको बाहुल्य देखिएको छ । अहिले नयाँ कम्पनीहरू सर्वसाधारणमा शेयर जारी गरी बजारमा प्रवेश गरेका छन् । नेप्से पूर्णरूपमा अनलाइन भएसँगै लगानीकर्ताहरू पनि बढेका छन् । कुनै पनि कम्पनीको साधारण शेयरमा एकै दिनमा मागभन्दा बढी आवेदन पर्नुले पनि यो कुराको पुष्टि गर्छ । यस स्थितिमा शेयरबजारलाई अझ गतिशील बनाई प्रतिस्पर्धात्मक रूपमा अघि बढाउनु जरुरी छ । गैरआवासीय नेपाली नागरिकलाई शेयरबजारमा प्रवेश गराउनुपर्ने देखिन्छ । सीमित शेयर ब्रोकरबाट हुँदै आएको कारोबारको दायरलाई बढाउँदै लैजानुपर्ने देखिन्छ । कम्पनीको लीलामी शेयरमा पनि अरू शेयरसरह अनलाइनबाटै मूल्यमा बोलकबोल गरी किन्न सक्ने गरी प्रविधिको विकास गरिनुपर्छ । शेयरबजारलाई निश्चित दिशा दिने जिम्मेवारी धितोपत्र बोर्डको भएको हुँदा यसभित्र सक्षम व्यक्तिको मात्र प्रवेश हुनुपर्छ । यसका लागि समयसापेक्ष रूपमा नीतिगत तथा कानूनी व्यवस्था गर्दै लैजानु उचित हुन्छ । लेखक अधिवक्ता हुन् ।

शेयर कारोबार रकममा नयाँ रेकर्ड

काठमाडौं । सोमवार शेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस दिन हालसम्मकै उच्च रू. १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार बराबरको शेयर किनबेच भयो । यस दिन २ करोड ७१ लाख ४० हजार २०२ कित्ता शेयर कारोबार भएको थियो । जेठ ५ गते भएको सर्वाधिक रकमको रेकर्डलाई शेयर कारोबार रकमले सोमवार तोडेको हो । जेठ ५ गते रू. ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार बराबरको शेयर किनबेच भएको थियो । देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञाका कारण लगानीका अन्य विकल्प नहुँदा अनलाइन मैत्री शेयरबजारमा लगानी बढिरहेको छ । सोमवार २१६ कम्पनीको १ लाख ३६ हजार ४९९ पटकको व्यापारमा हालसम्मकै सर्वाधिक रकमको शेयर कारोबार भएको हो । कारोबार रकममा सर्वाधिक अंश यस दिन हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले ओगटेको छ । आइतवार शतप्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति पाएको कम्पनीको शेयरप्रति सोमवार उच्च आकर्षण रहेको देखियो । यस दिन यस कम्पनीको रू. १ अर्ब २६ करोड १९ लाख बराबरको शेयर कारोबार भयो । सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयरमूल्य पनि ७ दशमलव १० प्रतिशत बढेको छ । यस दिन प्रतिकित्ता रू. ३९ ले बढेर कम्पनीको अन्तिम शेयरमूल्य रू. ५८८ कायम भयो । हालसम्मकै उच्च रकमको कारोबार भएको दिन निर्जीवन बीमासमूह र लगानी समूहको परिसूचक सर्वाधिक बढेको छ । यस दिन निर्जीवन बीमा समूहको १ दशमलव ३९ प्रतिशत र लगानी समूहको १ दशमलव ३७ प्रतिशत परिसूचक बढेको छ । बैंकिङ समूहको शून्य दशमलव २२ प्रतिशत, जलविद्युत्को शून्य दशमलव १८ प्रतिशत र म्युचुअल फन्डको शून्य दशमलव ६३ प्रतिशत परिसूचक बढेको छ । सोमवारको बजारबाट वित्त समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । वित्त समूहको परिसूचक यस दिन सर्वाधिक २ दशमलव २ प्रतिशत घटेको थियो । यस दिन व्यापारिक समूहको १ दशमलव ३७ प्रतिशत, होटेल तथा पर्यटन समूहको शून्य दशमलव ४९ प्रतिशत, विकास बैंकको शून्य दशमलव ९६ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ८१ प्रतिशत, अन्यको शून्य दशमलव ४१ प्रतिशत, लघुवित्तको शून्य दशमलव १ प्रतिशत र जीवन बीमासमूहको शून्य दशमलव ३१ प्रतिशत परिसूचक घटेको छ । सोमवार समग्र नेप्से परिसूचक भने ३ दशमलव शून्य ७ अंक अर्थात् शून्य दशमलव ११ प्रतिशत बढेर २ हजार ८२३ दशमलव शून्य ६ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ३१ अंक अर्थात् शून्य दशमलव २६ प्रतिशत बढेर ५०८ दशमलव ४९ विन्दुमा पुगेको छ । सामान्य अंकले नेप्से उकालो लागेको यस दिन चार कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । वरुण हाइड्रोपावरको ९ दशमलव ९५ प्रतिशत, युनाइटेड इदी मादीको ९ दशमलव ८९ प्रतिशत, माउन्टेन हाइड्रोको ९ दशमलव ८७ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको ९ दशमलव ४५ प्रतिशतले मूल्य बढेको छ । यस दिन एक्सेल डेभलपमेन्ट बैंकको ४ दशमलव ४७ प्रतिशत, गुडविल फाइनान्सको ४ दशमलव ३७ प्रतिशत र सेन्ट्रल फाइनान्सको ४ दशमलव १३ प्रतिशतले शेयरमूल्य घटेको छ । एक्सेल डेभलपमेन्ट बैंकको प्रतिकित्ता रू. ३० ले घटेर अन्तिम मूल्य रू. ६४१, गुडविल फाइनान्सको प्रतिकित्ता रू. १९ ले घटेर अन्तिम मूल्य रू. ४१६ र सेन्ट्रल फाइनान्सको प्रतिकित्ता रू. १३ ले घटेर अन्तिम मूल्य रू. ३०२ मा झरेको हो ।