अर्थमन्त्रीको चेतावनी र अपेक्षा

पछिल्लो समय बाक्लिएको बैंक, वित्तीय संस्थाविरुद्धको अफवाह र प्रहार सरकारदेखि नियामक निकायसम्मका लागि टाउको दुखाइको विषय बन्न थालेको छ । एकाथरी मानिसले मुलुकको वित्तीय प्रणालीबाट लिइएको कर्जा नतिर्न सर्वसाधारणलाई दुरुत्साहित गर्ने उद्देश्यले शृंखलाबद्ध अभियान चलाइरहेका बेला अर्काथरीले संस्था विशेषलाई निशाना बनाएर भ्रम फैलाउन थालेपछि अर्थमन्त्रीदेखि केन्द्रीय बैंकका उच्च अधिकारीसम्मले स्पष्टीकरण र चेतावनी दिँदै हिँड्नुपरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले शनिवार चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्ने क्रममा ‘बैंक, वित्तीय संस्थामा रहेको रकम डुब्दै छ, ऋण तिर्नु पर्दैन मिनाहा हुन्छ’ जस्ता अभिव्यक्ति दिने व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएका छन् । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले पनि आइतवारको एक कार्यक्रममा बैंक वित्तीय संस्थाबारे सकारात्मक सन्देश प्रवाह गरिदिन सञ्चारकर्मीसँग आग्रह गरिन् । कार्यक्रमका अन्य वक्ताले पनि अफवाहबाट सर्वसाधारणमा वित्तीय प्रणालीप्रति सृजना हुने भ्रम र त्यसबाट समग्र प्रणालीमा पर्न सक्ने दुष्प्रभावबारे शब्द खर्चिए ।  अर्थमन्त्रीदेखि नियमनकारी निकायका कायम मुकायम प्रमुखसम्मबाट व्यक्त चासो र चेतावनी निश्चय नै स्वागतयोग्य छ । यसले सर्वसाधारणमा विश्वास जगाउन र संस्थाहरूको आत्मबल बढाउन केही हदसम्म मदत गर्ला तर अफवाह फैलाउनेहरू चेतावनी मात्रैले पछि हट्छन् भनेर विश्वस्त हुन सकिँदैन । यहाँनेर बैंक वित्तीय संस्थाहरूको अनुनय विनयप्रति सरकार र केन्द्रीय बैंक हुनुपर्ने जति संवेदनशील नभएको अप्रिय विगत पनि छ । ऋण नतिर्न दुरुत्साहन गर्ने अभियानबीच वित्तीय संस्थाका कर्मचारीमाथि भौतिक आक्रमण नै हुन थालेपछि उनीहरूका संगठनले केन्द्रीय बैंकका गभर्नरदेखि गृहमन्त्रीसम्म गुहारेका थिए । तर, सरकारले आश्वासन दिनेबाहेक ठोस कदम चालेको देखिएको छैन । यस पृष्ठभूमिमा अर्थमन्त्रीको ताजा प्रतिबद्धता पनि त्यस्तै हुने त होइन भनेर आशंका गर्ने ठाउँ प्रशस्त रहेकाले त्यसलाई बोलीमा मात्र सीमित नराखी कार्यान्वयन नै गरेर देखाउन सक्नुपर्छ । अनि मात्र अर्थमन्त्रीको भनाइले सार्थकता पाउँछ ।  यतिबेला सर्वसाधारणमा व्याप्त द्विविधा निराकरण गर्ने प्रमुख दायित्व पनि अर्थ मन्त्रालय वा राष्ट्र बैंककै हो । उनीहरूले श्वेतपत्र जारी गरेर हुन्छ वा अरू कुनै उपायबाट मुलुकमा सञ्चालित बैंक, वित्तीय संस्थाको यथार्थ अवस्था सर्वसाधारणलाई जानकारी गराउन ढिला भइसकेको छ । यतिबेला सर्वसाधारणमा व्याप्त द्विविधा निराकरण गर्ने प्रमुख दायित्व पनि अर्थ मन्त्रालय वा राष्ट्र बैंककै हो । उनीहरूले श्वेतपत्र जारी गरेर हुन्छ वा अरू कुनै उपायबाट मुलुकमा सञ्चालित बैंक, वित्तीय संस्थाको यथार्थ अवस्था सर्वसाधारणलाई जानकारी गराउन ढिला भइसकेको छ । अफवाह र मिथ्याप्रचारमा दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउने कुरा त देशका उच्च अधिकारीबाट व्यक्त आश्वासनको कार्यान्वयन नै भइहाले । यति गर्न सके सर्वसाधारण विश्वस्त हुने बलियो आधार निर्माण हुनेछ । मर्जरमा गएका बैंकहरूले मर्जरअघि प्रकाशित गरेको त्रैमासिक वित्तीय विवरणसँग मर्जरपछि प्रकाशित विवरण मेल नखाएको घटना सतहमा आउँदा नेपाल राष्ट्र बैंक नै नियमनमा चुकेको आशंका गर्ने ठाउँ पनि छ । मर्जरअघि नाफा देखाइएको ठाउँमा मर्जरपछि घाटा देखाइँदा केन्द्रीय बैंकले के गर्‍यो ? बैंक वित्तीय संस्थाका कर्मचारी नियुक्तिमा समेत चासो राख्ने केन्द्रीय बैंकले यस्ता विषयमा नबोल्दा सर्वसाधारण अन्योलमा पर्छन् भने अफवाह फैलाउनेलाई बलियो आधार मिल्छ । बैंक, वित्तीय संस्था आम नागरिकको सम्पत्तिका संरक्षक हुन् । उनीहरूमाथि ठूलो दायित्व छ । यस क्षेत्रमा संस्था विशेषको गल्ती कमजोरीले पनि समग्र प्रणालीप्रति सर्वसाधारणको विश्वास धर्मराइदिन सक्छ । यसर्थ संस्था विशेष पनि नाफाको मनोविज्ञानबाट मात्र ग्रस्त नभई जिम्मेवारीबोधका साथ अघि बढ्नुपर्छ । बैंक, वित्तीय संस्था वा व्यापारिक व्यावसायिक प्रतिष्ठानबारेको एउटै मात्र स्वार्थप्रेरित टिप्पणीले पनि दशकौंको मेहनतले आर्जित प्रतिष्ठा र ख्याति माटोमा मिलाइदिन सक्छ । एउटा सशक्त संस्थालाई क्षणभरमै धराशयी बनाउनेसम्मको भूमिका त्यसले खेल्ने हुँदा यसलाई हल्का रूपमा कसैले लिनु हुँदैन । यस्तोमा नियामक र कानून कार्यान्वयन गर्ने निकाय चुप बसिदिए भने सिंगो प्रणाली ध्वस्त हुने जोखिम रहन्छ । अर्थमन्त्रीले विषयको संवेदनशीलता बुझेरै कारबाहीको चेतावनी दिएका हुन् भने उनले तत्काल कदम चाल्नुपर्छ, सरोकारवाला सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ ।   

सम्बन्धित सामग्री

पुर्व गभर्नर क्षेत्रीको ठुकुवा, '२ दिन बिदा दिने निर्णय कुनै हालतमा टिक्दैन'

जेठ १ गतेबाट सरकारले हप्तामा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । निर्णय लागू हुने मिति नै नआउँदै यस विषयमा नकारात्मक टिप्पणी सुरु भएको छ । अर्थविद् तथा अर्थशास्त्रका जानकारहरुले नेपाल जस्तो विकासोन्मुख अर्थतन्त्र भएको देशमा बढी काम गर्नुपर्ने समयमा कार्य दिन नै घटाईदिनु गलत भएको बताएका छन् । नोल राष्ट्र बैंकका पूर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्री २ दिन सार्वजनिक बिदा दिँदा भएकै साधनको दुरुपयोग बढ्ने र घट्छ भनिएको पेट्रोलियन पदार्थको खपत पनि बढाउने बताउँछन् । “२ दिन बिदा दिँदा पनि पेट्रोलियन पदार्थको खपत बढ्छ भन्दा यो मान्छे आलोचना मात्रै गर्छ भन्लन्, तर सबै मान्छे मनदेखि निर्णय मानेर बस्छन् र ?” प्रश्न गर्दै उनले भने, “छट्टुहरु बिदाको अघिल्लो दिन नै पूर्व र पश्चिम तिर निस्किन्छन्, अनि कसरी घट्छ ?”बिजुलीको खपत बढाउन छोडेर उल्टो निर्णयपूर्वगर्भनर क्षेत्रीले अर्थ मन्त्रालय, उद्योग मन्त्रालय र उर्जा मन्त्रालय यो निर्णयमा सहमत हुनु अचम्मको विषय भएको बताएका छन् । बिजुलीको खपत बढाउने निर्णयको अपेक्षा गरिएका बेलामा २ दिन बिदा दिने निर्णय गरेर सरकार उल्टो बाटो हिडेको क्षेत्रीको संकेत छ ।“अहिले त बत्तीको खपत बढाउने बेला हो, बत्तीको खपत बढाउने खालको निर्णयको अपेक्षा गरिएको समय हो अहिले” उनले भने, “नेपाल जस्तो विकासोन्मुख देशमा अहिले काम बढाउनुपर्ने समय हो, अतिरिक्त समय दिएर काम गर्नुपर्ने, आर्थिक उपार्जन बढाउनुपर्ने बेला हो । तर, यस्तो बेलामा हप्तामा २ दिन बिदा दिईएको छ, यो टिक्दैन ।”उनले नेपालका लागि हप्तामा २ दिन बिदा दिईनु घातक नै हुने चेतावनी पनि दिएका छन् ।९० प्रतिशत कर्मचारी घुम्न हिड्छनपूर्व गर्भनर क्षेत्रीले एकातिर कर्मचारीलाई इन्धन सेवामा कटौती र अर्कोतिर २ दिन बिदाको विषय आफैँमा कमजोर जगमा गरिएको निर्णय भएको बताएका छन् । उनले १० प्रतिशत जति तल्लो तहका कर्मचारी बिदा भनेर घरमै बसेपनि उच्च तहका नीजि सवारी भएका कर्मचारी र मध्यम तहका कर्मचारी पनि बिदा भन्नासाथ घुम्न निस्कने भन्दै इन्धनको खपत घट्नुको सट्टा बढ्ने दाबी पनि गरे । “उत्पादन थियो, आर्थिक रुपमा मुलुक सबल थियो भने आन्तरिक पर्यटनका लागि ठिकै हुन्थ्यो” क्षेत्री भन्छन्, “तर अहिले त मुलुकमा काम गर्नुपर्ने समय हो, तर २ दिन बिदा दिने भनेपछि ९० प्रतिशत जति कर्मचारीले इन्धनको खपत कम गरौँ भनेर घरमै बस्ने काम गर्दैनन् भन्ने लाग्छ, जान्छन् घुम्न ।”

विराटनगर महानगरमा बन्न सकेनन् आकाशे पुल

विराटनगर । ट्राफिक चाप वृद्धि हुनु र मुख्य राजमार्ग दुई लेनबाट ६ लेनको विस्तार हुँदा विराटनगरका विभिन्न चोकहरूमा दुर्घटना बढेपछि विराटनगर महानगरपालिकाले आकाशे पुल बनाउने निधो गर्‍यो । डीपीआर तयार भएर ठेक्का पनि लाग्यो । तर पहिले आकाशे पुल चाहिन्छ भनेर महानगरलाई दबाब दिनेहरू नै अहिले पुल बन्न नदिने प्रयासमा लागेका छन् । ‘पहिले आकाशे पुल बनाइदेऊ भन्दै डेलिगेसन आउँथे, अहिले मेरो घर अगाडि बनाउन पाइँदैन भन्दै अवरोध गरिरहेका छन्,’ महानगर प्रमुख भीम पराजुलीले भने । महानगरवासीको चौतर्फी दबाब बढेपछि महानगरले आकाशे पुलको आवश्यकता अध्ययन ग¥यो । अध्ययनले कम्तीमा चार ठाउँमा आकाशे पुल जरुरी रहेको निष्कर्ष निकाल्यो । त्यसैका आधारमा महानगरपालिकाले आवश्यक स्रोतको व्यवस्थापन गरेर आकाशे पुल बनाउने योजना अगाडि बढायो । अहिले कञ्चनबारी, बरगाछी, घाँसचोक र बसपार्क क्षेत्रमा आकाशे पुल बनाउने अन्तिम तयारी गरिरहेको बेला स्थानीयले अवरोध गर्न थालेका छन् । आकाशे पुल बनाउन ठेकेदार कम्पनीले बसपार्क दक्षिण पाञ्चाली मोड नजिकै काम शुरू गर्‍यो । तर, जग्गाधनी नागेश कोइरालाले काममा अवरोध गरे । उनले आवश्यकता नै नभएको ठाउँमा आकाशे पुल बनाउन जरुरी छैन भन्दै काम अगाडि बढाउन दिएका छैनन् । विकल्पमा उनले बसपार्क क्षेत्रमै आकाशे पुल बने उपयोगी हुने सुझाव दिएका छन् । आकाशे पुल चाहियो भनेर सबैभन्दा धेरै माग भएमध्येको कञ्चनबारी चोकमा पनि महानगरले काम अगाडि बढाउन सकेन । आकाशे पुलको ‘ड्रइङ डिजाइन’ चोकको दक्षिणमा बनाउने गरी तयार भएको थियो । राजमार्ग पूर्व र पश्चिम दुवैतर्फका घरधनीहरूले पुल निर्माण गर्न नदिने भएपछि चोकबाट उत्तरतर्फ सारियो । तर, त्यहाँ पनि आकाशे पुल बन्ने छाँट छैन । प्रदेशसभा सदस्य चुमनारायण तवदारले महानगरमा लिखितै उजुरी दिएर आकाशे पुलको विकल्प खोज्न वा त्यहाँबाट अन्यत्र सार्न माग गरेका छन् । दक्षिणतर्फ बनाउँदा महानगर–४ का वडाध्यक्ष देवेन्द्रराज पोखरेलको घर छेकिने भएकोले पहिल्यै सारिएको थियो । उत्तरमा सांसद चुमनारायण तबदारको घर परेपछि कञ्चनबारी चोकमा बन्ने भनिएको आकाशे पुलको योजना अघि नबढ्ने आशंका गर्न थालिएको छ । बरगाछीमा पनि स्थानीय गणेश थापाले आफ्नो घर अगाडि आकाशे पुल नबनाउन दबाब दिँदै आएका छन् । उनले पनि दायाँबायाँ सारेर पुल बनाउन आग्रह गर्दै आफ्नो घर अगाडि भने बनाउन नमिल्ने भन्दै काम गर्न नदिने चेतावनी दिइरहेका छन् । सबैतिरबाट अवरोध भएपछि महानगर योजना कार्यान्वयन गर्न नसक्ने अवस्थामा पुगेको छ । विराटनगर महानगरपालिकाले बनाउन खोजेकामध्ये घाँसचोकमा आकाशे पुलको सबैभन्दा धेरै आवश्यकता देखिएको छ । बजार क्षेत्र भएको र पूर्व हाटखोलादेखि पश्चिम सरोचिया, जनपथ, ब्रह्मपुरादेखि सुनसरीसम्मबाट ठूलो संख्यामा मानिस आवतजावत गर्ने केन्द्र भएकाले त्यस ठाउँमा बन्ने आकाशे पुल उपयोगी हुने सरोकारवालाहरूले बताएका छन् । त्यस्तै कञ्चनबारी र बरगाछीमा पनि आकाशे पुल जरुरी छ । ती दुवै ठाउँमा स्थानीयले अवरोध गरेको भन्दै महानगरपालिकाले गत बिहीवारदेखि सरोकारवालाहरूसँग छलफल आरम्भ गरेको छ । बिहीवार विराटनगरबाट प्रकाशित पत्रिकाका सम्पादक र नेपाल पत्रकार महासंघका पदाधिकारीहरूसँग महानगरले छलफल गरी आकाशे पुल निर्माणमा देखिएको समस्याबारे जानकारी गराउँदै सहजीकरणको अपेक्षा पनि गर्‍यो । प्रदेशसभा सांसद तवदारले आफू विकासको विरोधी नभएको बताए । ‘जुन ठाउँमा बन्नुपर्ने हो, त्यो ठाउँमा नबनेर अन्तै बनाउन लागिएकाले त्यसो नगर्न भनेर मैले भनेको हुँ,’ उनले भने । अहिले आकाशे पुल बनाउने तयारी गरेको ठाउँबाट पूर्वतर्फ जाने दुईओटा साना बाटाहरूमा अवरोध हुने भएकाले सार्न आग्रह गरेको उनले बताए । चोकलाई आधार मानेर आकाशे पुल बनाउँदा सहज हुने उनको भनाइ छ । विराटनगर–४ का वडाध्यक्ष देवेन्द्रराज पोखरेलले आकाशे पुल बनाउन आफूले अवरोध नगरेको बताए । ‘मेरै अगाडिबाट बनाए पनि हुन्छ, पहिले पनि मेरो कारणले नभएर छिमेकीहरूका कारणले सरेको हो, यस विषयमा छलफल गरेर निष्कर्षमा पुग्ने सहमति छ,’ उनले भने । उता, पाञ्चाली मोड नजिक बन्न लागेको आकाशे पुल भने कम उपयोगी हुने सरोकारवालाहरूको ठहर छ । काममा अवरोध गरेको आरोप खेपेका नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइरालाले भने, ‘आकाशे पुल कस्तो ठाउँमा बनाइन्छ ? भीडभाड हुने ठाउँमा नबनाएर नागेश कोइरालाको खाली जग्गामै लगेर बनाउनुको अर्थ के हो ? जबरजस्ती विकास विरोधी देखाउन यस्तो गरिएको अनुभूति भएको छ ।’ प्रदेश सरकारसमेतको सहयोगमा घाँसचोकमा लिफ्ट, शौचालय, सूचना केन्द्रसहितको आकाशे पुल बनाउने विराटनगर महानगरपालिकाको योजना छ । बाँकी पुलहरूमध्ये दुईओटामा दुवै तर्फबाट चढ्न मिल्ने र एउटामा भने एकातर्फबाट चढ्न मिल्नेगरी बनाउन लागिएको इन्जिनीयर डा. राजन सुवालले जानकारी दिए । चारओटा आकाशे पुल निर्माणका लागि महानगरले करीब ८ करोड रुपैयाँ खर्च गर्दै छ ।

महामारीमा अर्थतन्त्रको पुनरुत्थान

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत ६ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि हात पार्ने लक्ष्य राखेको छ । अर्कातिर चालू आर्थिक वर्ष २०७७/७८ का लागि संशोधनसहित अपेक्षा गरिएको ४ दशमलव १ प्रतिशतको वृद्धि हुनेमा समेत सरकारी आँकडाहरूले नै आशंका गरेको अवस्था छ । गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर ऋणात्मक हुन पुगेको सरकारले नै स्वीकार गरेको छ । बितेको वर्ष आर्थिक वृद्धि ऋणात्मक हुनुका मुख्य कारण कोरोना महामारी र यसको नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी नै मुख्य कारण थियो । यो वर्ष पनि करीब एकै समय हाराहारीबाट कोरोनाको महामारी शुरू भएको छ । अझ यस पटकको दोस्रो लहर झनै प्राणघातक रूपमा अगाडि आएको देखिएको छ । सरकारले बन्दाबन्दी नै नभने पनि त्यस्तै प्रकृतिको निषेधाज्ञा लगाएको छ । देशका ७७ जिल्लामध्ये अहिले ७५ ओटा जिल्ला निषेध आदेशमा चलेका छन् । आर्थिक र सामाजिक दिनचर्या ठप्प पारिएको छ । दैनिकीलाई रोकेरमात्र कोरोना महामारीको निकास सम्भव छैन, यसबाट मुक्तिका लागि खोपको उलब्धतालाई मुख्य मानिएको छ । सरकार यही कार्यमा आफूलाई दह्रोसँग उभ्याउन सकेको छैन । सरकारले असारको पहिलो हप्तादेखि निषेधाज्ञा क्रमशः हटाउने भन्ने कुरा आएका छन् । यो महामारी नियन्त्रण भएका कारण होइन, कर उठाउनका लागि निषेधाज्ञा हटाउने तयारी भइरहेको बुझाइ निजीक्षेत्रको छ । सरकारले चालू आर्थिक वर्षको आर्थिक वृद्धिको संशोधित अनुमानको प्राप्तिमा समेत आशंका व्यक्त गर्नुको पछाडि कोरोना महामारीको असर कुन तहसम्म जान्छ भन्ने निश्चित नहुनु नै हो । अहिले संक्रमण केही मत्थरजस्तो देखिएको छ । तर, कन्ट्याक्ट ट्रेसिङको अभाव छ । अघिल्लो महामारीमा अपनाइएका परीक्षण र उपचारका प्रायः उपाय र पाठहरू यसपटक बिर्सिएको छ । बरु, यसलाई व्यापारीकण गरिँदा उपचारका पहुँच झन् कठिन बनेको अवस्था छ । महामारीको तेस्रो लहर पनि आउने चेतावनी विज्ञहरूले दिइरहेका छन् । यसको सामनाको तयारी देखिएको छैन । कोरोना महामारीको भरपर्दो प्रतिवाद बन्दाबन्दी र निषेधाज्ञा होइन भन्नु अब नयाँ विषय लाग्दैन । यो त अचानक रूपमा संक्रमण देखिँदा चेन ब्रेक गर्न छोटो समयका लागि अपनाइने उपायमात्रै हो । सबै नागरिकलाई खोपको उलब्धता नै महामारीबाट बच्ने प्रभावकारी उपाय हो । सरकारले आउँदो कात्तिक र मङ्सिरमा चुनाव घोषणा गरेको छ । र, चुनावअघि सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रतिबद्धता पनि गरेको छ । यो महामारीको बेला चुनाव घोषणा गर्दा हुने आलोचनाको बचाउनमात्र हो कि भन्ने भान परेको छ । खोप आपूर्तिमा सरकारी सक्रियताको ओज हेर्दा सरकारको प्रतिबद्धतामा पूर्णरूपमा विश्वस्त हुने आधार भने सुदूरसम्म पनि देखा परेको छैन । सरकारले अहिले पनि अनुदानको खोपको मुख ताकेर बसिरहेको छ । चीनले दिएको अनुदानको खोपमा खोप अभियान चलाइएको छ । यो पाराले सबै नागरिकलाई खोप पु¥याउने उद्देश्य पूरा हुन सक्दैन । कोरोनाको तेस्रो लहरबाट बालबालिका बढी जोखिममा पर्ने भनिएकाले कतिपय मुलुकमा बालबालिकालाई खोप लगाउन थालिसकेका छन् । हाम्रो सरकारले भने पहिलो मात्रा दिएका १३ लाखभन्दा बढी ज्येष्ठ नागरिकलाई कसरी खोप दिने भन्नेमा बेवास्ताजस्तै देखिएको छ । सरकारले खोपको खरीदलाई प्राथमिकतामा राख्नुपर्छ । अब अनुदानको मात्र मुख ताकेर हुँदैन । सरकारको खरीद प्रक्रिया आफैमा रुमलिएको अवस्था छ । भारतको सिरम इन्स्टिच्युटलाई भुक्तानी दिइसकिएको १० लाख डोज खोप अहिलेसम्म उपलब्ध हुन सकेको छैन । सरकार भने अहिले पनि अनुदानमा भारतकै मुख बढी ताकेर बसेको भान हुन्छ । भारत आफै महामारीसित जुधिरहेकोमात्र छैन, खोप अभावका कारण बाहिरबाट आयात गरिरहेको छ । यस्तो अवस्थामा भारतबाट थप खोप आउला, त्यो पनि अनुदानमा भनेर बस्नु भनेको भ्रम पाल्नुमात्रै हो । भारतको भरमा पर्दा ६५ वर्षभन्दा माथिको उमेरसमूहका १३ लाख ५० हजार नागरिकहरू दोस्रो खोप कहिले पाउने भन्ने अन्योलमा छन् । भारतले खोप दिन नसकेको भन्दै सरकारले वैकल्पिक खोप दिने बताइरहेको छ । वैकल्पिक खोप आइहालेछ भने पनि त्यो लगाउने कि नलगाउने भन्नेमा नागरिकलाई द्विविधा हुनेछ । एकथरी खोप लगाएकालाई अर्को मात्रा बेग्लै कम्पनीको खोप दिन हुने कि नहुने भन्ने विषय स्पष्ट छैन । यसले ज्येष्ठ नागरिकहरूमा द्विविधा हुनु अस्वाभाविक होइन । दोस्रो डोज खोप आउने सुनिश्चित नगरी खोप दिने र अहिले आपूर्ति हुने अवस्था नदेखेपछि अन्य खोप लगाउने भन्ने सरकारको निर्णयले सर्वसाधारण अन्योलमा छन् । रोटीबेटीको सम्बन्ध रहेको भारतलाई १० लाख डोज खोप आपूर्तिमा सहमत गराउन नसक्नु र भारतले भुक्तानी लिइसकेको खोपको समेत आपूर्ति रोकेर राख्नु भनेको दुवैतर्फको कूटनीतिक मामिलामा कमजोरी हो । नेपालले भारतलाई आपूर्तिमा सहमत गराउन सक्नुपर्ने थियो । खुला सिमाना र पारस्परिक आर्थिक तथा जनस्तरमा सामाजिक सम्बन्ध रहेको नेपालका लागि १० लाख डोज खोप (त्यो पनि भुक्तानी लिइसकेको) दिन नमान्नु एउटा असल छिमेकीका लागि शोभनीय काम हुन सक्दैन । यो परिबन्धले साढे १३ लाख ज्येष्ठ नागरिकको स्वास्थ्य जोखिममा परेको छ । यो विषयको गाम्भीर्यलाई सामान्यीकरण गरिनु हुँदैन । खोपको सरोकार प्रत्यक्ष रूपमा देशको अर्थतन्त्रसित जोडिन गएको छ । अहिले मुख्य औद्योगिक कोरिडोरका उद्योगमा कार्यरत कामदार कर्मचारी र उद्योग सञ्चालकलाई समेत प्राथमिकतामा राखेर खोप दिइनुपर्ने माग अगाडि आउन थालेको छ । निश्चित रूपमा महामारीका बेला उत्पादन र आपूर्तिमा खटिने पङ्क्तिले कोरानाविरुद्धको खोपमा प्राथमिकता पाउनुपर्छ । यसअर्थमा खोपलाई सर्वसुलभ बनाएर अर्थतन्त्रका आयामहरूलाई अघि बढाउने आधार निर्माण गरिनुपर्छ । सरकारको सल्लाहकार मानिएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको आर्थिक अवस्थाबारे अध्ययनले विगत बन्दाबन्दीमा थला परेका उद्योग व्यापार क्रमिक रूपमा सुधारको गतिमा अघि बढेको देखाएको छ । तर, सोही अध्ययनले कोरोना महामारीको दोस्रो लहर शुरू भइसकेकाले यसले उत्पादन र यसका सरोकारहरूमा असर पार्ने प्रक्षेपण पनि गरेको छ । निजीक्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले अहिले निषेधाज्ञाका कारण ७० प्रतिशत उद्योग व्यापार प्रभावित भएको बताएका छन् । राष्ट्र बैंकको अध्ययनले त्यति नै उद्यम पूर्णक्षमतामा चल्न थालिसकेको उल्लेख गरेको थियो । सरकारले असारको पहिलो हप्तादेखि निषेधाज्ञा क्रमशः हटाउने भन्ने कुरा आएका छन् । यो महामारी नियन्त्रण भएका कारण होइन, कर उठाउन निषेधाज्ञा हटाउने तयारी भइरहेको बुझाइ निजीक्षेत्रको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्त रूपमा विज्ञप्ति नै जारी गरेर कर बुझाउन नसक्ने व्यवसायीलाई जरीवाना नगर्न माग गरेका छन् । विगतको बन्दाबन्दीमा पनि सक्षम व्यवसायीहरूले कर बुझाएर सरकारलाई सहयोग गरेकै थिए । निजीक्षेत्रले सरकारलाई अवसर र जोखिम आपसमा बाँडेर आर्थिक संकटबाट उठ्न सकिने आग्रह गरेको छ । यसलाई अस्वीकार गरिहाल्नुपर्ने कारण छैन । यसअर्थमा जो अक्षम छन्, उनीहरूलाई कर चुक्ताका लागि सरकारले दबाब दिनु हुँदैन । बरु, समयसीमा बढाएर वा छूट दिएर राहत प्रदान गरिनु वाञ्छनीय हुन्छ । निश्चित रूपमा पछिल्लो निषेधाज्ञाले उत्पादन, आपूर्ति, बजार, माग र मूल्यमा प्रभाव पारेको छ । बजारमा विक्री छैन, भएको विक्रीको समेत भुक्तानी आउन सकेको छैन । उत्पादनमा चालू पूँजीको अभाव भइरहेको छ । यस्तो अवस्थामा सरकारबाट राहतको अपेक्षा गर्नु अस्वाभाविक होइन । कारोना प्रभावित व्यापार व्यवसायलाई करमा छूट तथा सहुलियतको घोषणा गरेकोमा अहिले त्यसलाई आगामी आर्थिक वर्षको शुरुआतबाटै कार्यान्वयनमा लैजान कार्ययोजनालाई तीव्र पारिएका समाचार सञ्चारमाध्यममा आएका छन् । यसलाई रचनात्मक र सहज बनाउन सकियो भनेमात्रै लक्षित उद्देश्यमा पुगन सहज हुन सक्छ । निजीक्षेत्रले आगामी वर्षको बजेटमा आर्थिक पुनरुत्थान र निजीक्षेत्रको विकासका माग सम्बोधन भएको बताइरहेको पनि छ । यसको अर्थ के हो भने आगामी वर्षको बजेटबाट दिइने भनेर घोषणा गरिएका कार्यक्रमहरूको चाँडो र प्रभावकारी कार्यान्वयनको खाँचो छ । ठाकुर वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष हुन् ।