काठमाडौं । सर्वोच्च अदालतले ‘नेकपा’ नामको विवादमा ऋषिराम कट्टेलको पक्षमा फैसला गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको बारेमा परेको रिटमाथि सर्वोच्चले आइतबार कट्टेलको पक्षमा फैसला सुनाएको हो ।
ऋषि कट्टेलले दुई वर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको भन्दै रिट निवेदन दर्ता गर्नुभएको थियो । निर्वाचन आयोग विरुद्ध परेको सो मुद्धाको सुनुवाई फागुन १३ मा सकिएको थियो ।
आयोगको ओली–प्रचण्ड अध्यक्ष रहेको नेकपा दर्ता गर्ने निर्णयविरुद्ध कट्टेल नेतृत्वको नेकपाका तर्फबाट २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर भएको थियो । सो मुद्दामा आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा फैसला सुनाएको हो ।