तुम्लिङटार-शीतलपाटी २२० केभी प्रसारण लाइन निर्माण अघि बढ्यो, ६०० मेगावाट विद्युत् प्रवाह हुने

माघ २०, काठमाडौ। तुम्लिङटार–शीतलपाटी २२०  केभी विद्युत् प्रसारण लाइन निर्माण हुने भएको छ । प्रदेश न‌ १ अन्तर्गत सखुवासभा जिल्लामा निर्माणाधीन तुम्लिङटार २२० केभी सव- स्टेसनसम्म करिव १३.६१५ किलोमिटर लामो डबल सर्किट विद्युत प्रसारण लाइन निर्माण गर्न लागिएको हो । प्रसारणलाइनको क्षमता २ लाख २० हजार भोल्ट र  डबल स्रकिट रहने छ । यो प्रसारण लाइन निर्माण सम्मपन्न भएमा ६ सय मेगावाट सम्मको विद्यूत शक्ति प्रसारण गर्न सकिने विद्युत् विकास विभागले जनाएको छ ।   संखुवासभाको खाँदवारी नगरपालीका - १० मा प्रस्तावित  २२०/१३२/३३ केभी शीतलपाटी सवस्टेसनबाट शुरु भई सोहि नगरपालीका - ९ मा नेपाल विद्युत् प्राधिकरणको निर्माणाधिन २२०/१३२/३३ के भी तुम्लिङटार सवस्टेसन सम्म निर्माण गरिने भएको छ । यो प्रसारण लाइनको लम्बाई करिव १३.६१५ किलोमिटर हुनेछ भने यसमा ४२ वटा टावर निर्माण हुनेछन् ।  साथै टुवीन मूस एसीएसआर कन्डक्टर जडान हुनेछ । एक टावरदेखी अर्को टावरसम्मको दुरी बढिमा ५९४.२४ मिटर हुनेछ भने कम्तिमा १५७.३२ मीटर हुनेछ ।  जमिनको सतहदेखि टावरको औसत उचाई ३८ मिटर रहने छ । आयोजना निर्माणका लागि ५१.५० हेक्टर जमिन अधिग्रहण गरिने  भएको छ । जसमध्ये १३.९३७ हेक्टर जमिन स्थाई रुपमा सवस्टेसन तथा टावर प्याड निर्माणका लागि प्रयोग हुनेछ भने बाँकी ३७.५६ हेक्टर राईट अफ वेए तथा स्ट्रोङ एरिया/मोबाईल क्याम्पका लागि प्रयोग हुनेछ । प्रसारण लाइनको निर्माण आगामी ३ बर्ष भित्र सक्ने लक्ष्य लिएको विद्यूत विकास विभागले जारि गरेको सुचनामा उल्लेख छ । प्रसारण लाइन निर्माण तथा सञ्चाचलन गर्दा प्रतिकुल असर पर्ने भएमा ३५ दिन भित्र विभागमा आफ्नो लिखित राय पेश गर्न विभागले अनुरोध समेत गरेको छ ।

सम्बन्धित सामग्री

भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौं  । चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनबाट शुरू भई नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट सबस्टेसमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो । यो प्रसारण लाइनले हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्छ । २२० केभी डबल सर्किट प्रसारण लाइनलाई शुरूमा १३२ केभीमा सञ्चालनमा ल्याइने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त प्रसारण लाइन निर्माण सम्पन्न भएपछि भरतपुरबाट पश्चिमतर्फ विद्युत् प्रवाह गर्न थप सहज हुने बताए । ‘प्रसारण लाइनको रुट परिवर्तन गर्न माग गर्दै स्थानीयको अवरोध, रुख कटानको समस्या, ठेकेदारको कमजोर कार्यसम्पादनलगायत कारणले जीर्ण बनेको आयोजना निरन्तर प्रयासपछि निर्माण सम्पन्न भएको छ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘भरतपुरबाट पश्चिमतर्फ विद्युत् प्रवाहका लागि हाल चालू रहेको १३२ केभी प्रसारण लाइन सिंगल सर्किट मात्र थियो । उक्त लाइनको क्षमताले नधान्दा भरतपुरबाट पश्चिमतर्फ थप विद्युत् पठाउन समस्या थियो । अब २२० केभी लाइन निर्माण सम्पन्न भएपछि थप विद्युत् प्रवाहका लागि सहज हुनेछ । भोल्टेजमा पनि सुधार हुनेछ ।’ अब भरतपुरबाट बर्दघाटसम्म विद्युत् पठाउन पुरानोसहित तीनओटा सर्किट भएका छन् । २२० केभीको लाइनलाई हाल १३२ केभीमा चार्ज गर्दा एउटा सर्किटबाट १७० मेगावाटसम्म विद्युत् प्रवाह हुन सक्छ । पुरानो सिंगल सर्किटबाट करीब ९० मेगावाटसम्म विद्युत् प्रवाह भइरहेको थियो । बर्दघाटबाट नवलपरासीको सुनवल नगरपालिका–१३, भुमहीस्थित नयाँ बुटवल सबस्टेशनसम्मको २२० केभी प्रसारण लाइन निर्माणाधीन छ । उक्त लाइन आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । त्यसपछि हेटौंडाबाट नयाँ बुटवल सबस्टेशनसम्म २२० केभी प्रसारण लाइन जोडिनेछ । भरतपुर–बर्दघाट प्रसारण लाइनको लम्बाइ ७४ किलोमिटर छ । यसमा २४६ टावर छन् । आयोजना निर्माणका लागि सेन्ट्रल चाइना पावर ग्रीड इन्टरनेशनल इकोनमिक एन्ड ट्रेड कम्पनीसँग २०६७ कात्तिकमा ठेक्का सम्झौता भएको थियो । कार्यसम्पादन सन्तोषजनक नभएपछि उक्त कम्पनीसँगको ठेक्का सम्झौता २०७४ जेठमा रद्द गरी प्राधिकरणले बाँकी काम गर्न नयाँ टेन्डर गरेको थियो । बाँकी काम गर्न चिनियाँ कम्पनी हेङटन अप्टिक्क इलेक्ट्रिकसँग २०७५ साउनमा ठेक्का सम्झौता भएको थियो ।  नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–२, दुम्कीबासमा केही स्थानीयले प्रसारण लाइनको रुट परिवर्तन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले २०७७ चैत २५ गते स्थानीयको मागबमोजिम अन्तरिम आदेश दिएपछि त्यस क्षेत्रमा पर्ने प्रसारण लाइनको दुईओटा टावर निर्माण रोकिएको थियो । सर्वोच्चले पछि २०७९ असार १२ गते उक्त रिट खारेज गर्‍यो । त्यसपछि स्थानीयसँगको मुआब्जा तथा क्षतिपूर्तिका विषयमा निरन्तर छलफल गरी २०७९ चैतमा सहमति भएपछि निर्माण शुरू गरिएको आयोजना प्रमुख सन्तोष साहले बताए । दुम्कीबासको अवरोधका कारण प्रसारण लाइन निर्माण गर्न नसक्दा भरतपुरबाट बर्दघाटतर्फ थप विद्युत् पठाउन नसक्ने अवस्था आएपछि प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत निर्माण सम्पन्न भएको खण्ड सञ्चालनमा ल्याएको थियो । भरतपुरबाट नवलपरासीको अरुण खोलासम्मको करीब ५६ किलोमिटर प्रसारण लाइनको सिंगल सर्किटलाई एक वर्षअघि सञ्चालनमा ल्याइएको थियो । भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको लाइनलाई अरुण खोलामा ट्यापिङ गरी हाल सञ्चालनमा रहेको १३२ केभी प्रसारण लाइनमा जोडिएको थियो । भरतपुर–बर्दघाट १३२ केभी प्रसारण लाइनलाई अरुण खोलामा छुट्ट्याएर भरतपुर–बर्दघाट २२० केभीको लाइनसँग जोडिएको थियो । प्रसारण लाइनको क्षमता सुदृढीकरण र नेपालको एकीकृत विद्युत् प्रणाली विश्वसनीय बनाउन नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना शुरू गरिएको थियो । २०७८ कात्तिकमा विश्व बैंकले आयोजनाबाट हात झिकेपछि सरकार र प्राधिकरणको लगानीमा बाँकी काम अगाडि बढाइएको थियो । आयोजनालाई हेटौंडा–भरतपुर र भरतपुर–हेटौंडा खण्डमा विभाजन गरी निर्माण शुरू गरिएको थियो । हेटौंडा–भरतपुर खण्ड निर्माण सम्पन्न भई एउटा सर्किटलाई तत्कालका लागि १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याएको छ ।

कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माणमा ढिलाइ

काठमाडौं । कालीगण्डकी र आसपासका क्षेत्रमा निर्माण भएका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने प्रसारण लाइन निर्माणमा ढिलाइ भएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी करिडोरको दुई सय २० केभी प्रसारण लाइन निर्माण तत्काल गर्न आयोजना व्यवस्थापन पक्ष र निर्माण व्यवसायीलाई ताकेता गरेको छ । सो आयोजनाको निर्माण गत असारमा गर्ने लक्ष्य थियो । रुख कटान अनुमति प्रक्रियामा भएको ढिलाइ, स्थानीयवासीको अवरोध र निर्माण व्यवसायी भारतीय कम्पनी एल एण्ड टीको कमजोर कार्यसम्पादनका कारण आयोजना निर्माणमा ढिलाई भएको प्राधिकरणले जनाएको छ । उक्त आयोजना निर्माणमा ढिलाइ भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार निर्माणस्थल अनुगमन गरी आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या र समाधानका उपायबारे छलफल गरेका थिए । छलफलअनुसार प्रसारण लाइनको निर्माण यही साउनभित्रमा गर्ने नयाँ तालिका तय गरिएको छ । छलफलमा कार्यकारी निर्देशक घिसिङले जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि कालीगण्डकी करिडोर प्रसारण लाइन अत्यन्तै महत्वपूर्ण र संवेदशील रहेकाले जुनसुकै अवस्थामा पनि साउनभित्र सम्पन्न गर्न निर्देशन दिए । उनले यो लाइन बनेपछि म्याग्दी, पर्वत, कास्की र लमजुङ जिल्लामा निर्माण भएका जलविद्युत् आयोजनाहरुको विद्युत् प्रवाह गर्न सहज हुने उल्लेख गरे । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेसनबाट शुरूभई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ भूमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको एक सय २७ किलोमिटर डबल सर्किट प्रसारण लाइन आयोजना दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ । पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको ३९ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । पहिलो खण्डमा नै खुर्कोटमा दुई सय २०/एक सय ३२ केभी र दानामा दुइ सय २०/एक सय ३२/३३ केभी सबस्टेसन निर्माण भइसकेका छन् । दोस्रो खण्डअन्तर्गत कुश्माबाट नयाँ बुटवल सबस्टेसनसम्मको ८८ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । यस खण्डमा पर्ने दुई सय ३५ वटा टावरमध्ये दुई सय ३४ वटा निर्माण भइसकेका छन् । रुपन्देहीको देवदह क्षेत्रमा एउटा टावर निर्माणाधीन अवस्थामा छ । पर्वत, पाल्पा र रुपन्देहीमा गरी गरिब सात किलोमिटर तार तान्न बाँकी छ । आयोजनाअन्तर्गत नवलपरासीको सुनवल नगरपालिका–१३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म दुई सय २० केभीको चार सर्किट (मल्टी सर्किट) लाइनका लागि टावर निर्माण गरी करिब आठ किलोमिटर डबल सर्किट तार तानिएको छ । कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण शुरूगरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार दुई सय मेगावाट विद्युत् प्रवाह गर्न सकिन्छ । नयाँ बुटबल–बर्दघाट प्रसारण लाइन पुसभित्र      नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनबाट बर्दघाटसम्मको २२० केभी प्रसारण लाइन आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । वन क्षेत्रको जग्गा प्रयोग र रुख कटान स्वीकृतिको निर्णय प्रक्रियामा भएको ढिलाइका कारण आयोजनाको निर्माणमा असर परेको थियो । अहिले आयोजनाले रुख कटानका लागि अनुमति पाइसकेको छ । प्रसारण लाइनका टावर र मार्गधिकार (राइट अफ वे) लागि ५०दशमलव ३१ हेक्टर वन क्षेत्रको जग्गा र त्यहाँ रहेका पाँच हजार आठ सय रुख हटाउनु पर्नेछ । आयोजनाले वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुख हटाएवापत रु २७ करोड ९९ लाख ४९ हजार वन विकास कोषमा जम्मा गर्नु पर्ने छ । यसमध्ये आयोजनाले पहिलो किस्तावापत रु तीन करोड ५१ लाख कोषमा गरेपछि जग्गा प्रयोग र रुख कटानको स्वीकृति प्रक्रिया अगाडि बढेको थियो । कूल २१ किलोमिटर प्रसारण लाइनका लागि ५६ वटा टावर निर्माण गर्नु पर्नेछ । यसमध्ये २१ वटाको जग हालिएको छ । पाँच वटा टावर खडा गरिएको छ । प्रसारण लाइनका अधिकांश उपकरण आयोजनास्थलमा आपूर्ति भइसकेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा रहेको समस्या समाधान भइसकेकाले जनशक्ति थप गरी आगामी पुसभित्र निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिए । उनले नवलपरासीको सुनवल नगरपालिका–१३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म दुई सय २० केभीको चार सर्किट (मल्टी सर्किट) लाइनमध्ये आयोजनाले तान्नुपर्ने डबल सर्किट तार तान्न निर्देशन दिए । आयोजनाअन्तर्गत भूमहीमा दुई सय २०/एक सय ३२ केभी नयाँ बुटवल सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ । रासस

दोर्दीखोला करिडोरको बिजुली जोड्ने वैकल्पिक प्रसारण तयार

लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि वैकल्पिक व्यवस्थासहितको प्रसारण लाइन तयार भएको छ । सो करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाको बिजुली उदीपुर हुँदै मध्यमस्र्याङदीको स्वीचयार्ड सिउँडीबारमा जोड्ने गरी वैकल्पिक व्यवस्था गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले कूल छ किलोमिटर लामो प्रसारण लाइनमार्फत बिजुली जोड्न सकिने गरी नयाँ व्यवस्था गरिएको मस्र्याङदी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाका प्रमुख चिरन्तनविक्रम राणाले जानकारी दिए ।“हामीले सबै परीक्षणको काम सम्पन्न गरिसकेका छौं, प्रवद्र्धकले चाहेको बेलामा नै अब बिजुली जोड्न सक्छन्”, आयोजना प्रमुख राणाले भने “कार्यकारी निर्देशकले पनि शिघ्र काम सम्पन्न गर्न दिनुभएको छ, हामीले सबै काम सम्पन्न गरेर तयारी अवस्थामा बसेका छौं ।”वन क्षेत्रको रुख कटानमा देखिएको समस्या तथा अन्य स्थानीयवासीको मागका कारण लामो समयदेखि मार्कीचोक हुँदै लमजुङ खण्डमा प्रसारण लाइन निर्माणको कामले गति लिन नसकेपछि प्राधिकरणले आफ्नो प्रतिवद्धताअनुसार प्रसारण लाइन तयार पारेको हो ।हाल तयारी हालतमा रहेको प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरिने छ । सो प्रसारण लाइनको क्षमता २२० केभी भए पनि तत्काल कम क्षमता चार्ज गरेर प्रवद्र्धकको बिजुली प्रणालीमा जोडिने आयोजना प्रमुख राणाको भनाइ छ । लमजुङकै ङादी तथा त्यसका सहायक खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाको विद्युत् खुदी सवस्टेसनमा जोडिने छ ।मस्र्याङ्दी र त्यसका सहायक नदीमा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार छ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ ।उनका अनुसार हिमालयन पावर पार्टनरको २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाले बिजुली जोड्छौं भनेकै दिन जोड्न सकिने भएको छ । यस्तै लिबर्टी इनर्जी लिमिटेडको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युतको आयोजना निर्माणाधीन छ । त्यस्तै दोर्दीखोला जलविद्युत् कम्पनीको १२.१ दोर्दी–१ पनि तत्कालै जोड्न सकिनेछ ।चेपे खोलाका निर्माणाधिन सात मेगावाटको अर्को एक आयोजनाको समेत बिजुली सोही प्रसारण लाइनमा जोडिँदा तत्कालै ७० मेगावाट बराबरको बिजुली केन्द्रीय प्रणालीमा थप हुनेछ । चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब एक सय १३ किलोमिटर छ । आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सवस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ ।दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सवस्टेसन निर्माणाधीन छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई सवस्टेसन निर्माण भइरहेका छन् । नेपाल सरकारको लगानी र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब रु १६ अर्ब बराबर छ ।लमजुङमा रु २३ अर्बभन्दा बढी लगानीमा पाँच जलविद्युत् आयोजना निर्माणाधीन छन् । यस्तै पिपुल्स हाइड्रोपावर कम्पनीद्वारा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ पनि सोही प्रसारण लाइनमार्फत नै प्रवाह हुनेछ । सो करिडोरका सबै आयोजना निर्माण सम्पन्न भएपश्चात् एक सय २५ मेगावाट बिजुली उत्पादन हुनेछ । त्यहाँ निर्माण भएका आयोजनाबाट एक वर्षदेखि पाँच वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।त्यस्तै दोर्दी करिडोरमै छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीले सोही खोलामा चार मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । दोर्दी करिडोरको सबैभन्दा माथिल्लो तटमा पिपुल्स हाइड्रोपावरको सुपर दोर्दी ‘ख’ (५४ मेगावाट) आयोजनामा कूल रु आठ अर्ब ८० करोड लगानी छ । सो आयोजनामा प्रभावित क्षेत्रका बासिन्दा र जिल्लावासीको पनि रु २७ करोड लगानी रहेको छ ।

भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन सञ्चालनमा

काठमाडौं । चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा आएको छ । चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीस्थित सबस्टेसनबाट नवलपरासीको अरुण खोलासम्मको करिब ५६ किलोमिटर प्रसारण लाइनमा सोमबार विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो ।नवलपरासीको दुम्कीवासमा भइरहेको अवरोधका कारण प्रसारण लाइन निर्माण गर्न नसक्दा भरतपुरबाट बर्दघाटतर्फ थप […]

कोशी कोरिडोर २२० केभी प्रसारण लाइन : पहिलो प्याकेजको निर्माण सम्पन्न

काठमाडौं । कोशी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजनाको पहिलो प्याकेज (खण्ड) को निर्माण सम्पन्न भएको छ । उक्त आयोजनाअन्तर्गत सुनसरीको इनरुवाबाट संखुवासभाको वसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटारसम्मको प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो । त्यसमा २२० केभी डबल सर्किट टावर निर्माण गर्ने र टावरको एकतर्फ मात्र तार तान्ने कार्य सम्पन्न भएको हो । नेपाल विद्युत् प्राधिकरण र भारतीय एक्जिम बैंकले हालै धनकुटामा एक कार्यक्रम गरेर पहिलो प्याकेजअन्तर्गतको प्रसारणलाइनको निर्माण सम्पन्न भएको घोषणा गरेका हुन् । यस खण्डको प्रसारण लाइन नेपाल सरकार र भारत सरकारको एक्जिम बैंकको सहुलियत पूर्ण ऋणमा निर्माण गरिएको हो । एक्जिम बैंकले यस आयोजनामा ९ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण दिएको थियो । यसमा अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको थियो । कोशी कोरिडोर प्रसारण लाइन आयोजनामार्पmत तुम्लिङटारदेखि वसन्तपुरसम्म करीब १ हजार मेगावाट, ढुंगेसाँघु (ताप्लेजुङ) देखि वसन्तपुरसम्म करीब १ हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करीब २ हजार मेगावाट विद्युत् प्रसारण गर्न सकिन्छ । साथै, एक नम्बर प्रदेशका जिल्लाहरूमा विश्वसनीय विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरण सञ्जाल बन्नेछ । कार्यक्रममा एक्जिम बैकका प्रतिनिधि विश्वजित गर्गले उक्त खण्डको प्रसारण लाइन नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए । उनले निर्माण सम्पन्न भएको साँचो ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हस्तान्तरण गरेका थिए । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन निर्माणपछि प्रदेश नं १ मा विद्युत् प्रसारण तथा वितरणका लागि मेरूदण्ड तयार भएको बताए । कोशी कोरिडोर र कावेली कोरिडोर प्रसारण लाइनलाई लिंक गर्न लागिएको जानकारी दिँदै उनले आयोजनाअन्तर्गतका सबस्टेशनहरूको निर्माण सम्पन्न भएपछि यस क्षेत्रको विद्युत् आपूर्ति गुणस्तरीय र विश्वसनीय हुने बताए । ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले प्रसारण लाइनको निर्माणबाट अरूण र तमोर जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् ग्राहकसम्म पुर्‍याउन पूर्वाधार तयार भएको बताए । प्रसारण लाइन निर्माणपछि यसक्षेत्रका खोलानालामा जलविद्युत् आयोजना निर्माणका लागि निजीक्षेत्रको लगानीलाई थप सुनिश्चित बनाएको उनको भनाइ छ । प्राधिकरणले उक्त प्रसारण लाइनको दोस्रो सर्किटको तार तान्ने कार्य र सम्बद्ध सबस्टेशनहरूमा २२० केभी लाइन तथा पावर ट्रान्सफरमरहरूको क्षमता विस्तार गर्ने योजना पनि बनाएको छ । प्राधिकरणले त्यसका लागि आवश्यक लगानी जुटाउन नेपाल सरकारमार्फत भारतीय एक्जिम बैंकलाई पत्राचार पनि गरिएको छ । उक्त कामका लागि ४० मिलियन अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । विश्वव्यापी कोरोना महामारी र त्यसका कारण सृजित बन्दाबन्दीले यो आयोजना प्रभावित भएको थियो । प्रसारण लाइनमा जडान हुने विभिन्न उपकरण र प्राविधिकहरू कोरोना महामारीका कारणले पूर्वनिर्धारित समयमा नै आयोजना स्थलसम्म आइनपुग्दा निर्माण प्रभावित भएको बताइएको छ । प्रसारण आयोजना तीनओटा प्याकेजमा विभाजन गरी निर्माण गरिएको छ । पहिलो प्याकेजमा इनरुवा–तुम्लिङटार प्रसारण लाइन, दोस्रो प्याकेजमा तीनओटा सबस्टेशन र तेस्रो प्याकेजमा तेह्रथुमको वसन्तपुरको ताप्लेजुङको ढुंगेसाँघुसम्म प्रसारण लाइन तथा सबस्टेशनको निर्माण गर्ने योजना रहेको छ । अरुण र तमोर नदी तथा तिनीहरूका सहायक नदीहरूबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गर्न नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २२० केभीको कोशी कोरिडोर प्रसारण लाइन बनाउन लागिएको हो । एक नम्बर प्रदेशका भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी कोरिडोरको निर्माण गरिएको हो । प्याकेज १ को निर्माण भएको छ भने २ र ३ को क्रमशः ८० र ७० प्रतिशत निर्माण सकिएको छ । आयोजनाको दोस्रो प्याकेजअन्तर्गतका संखुभासभाको बानेश्वर तथा तुम्लिङटार र वसन्तपुरमा २२०/१३२/३३ केभीका तीनओटा सबस्टेशनहरू र इनरुवा सबस्टेशनमा ‘बे एक्सटेन्सन’ ९ को काम अन्तिम चरणमा छन् । आयोजनाको सम्पूर्ण कार्य मार्च २०२२ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । इनरुवामा अहिले २२० केभीको सबस्टेसन निर्माणाधीन छ । उक्त सबस्टेशन निर्माण पूरा नहुन्जेलसम्मका लागि इनरुवा–वसन्तपुर–तुम्लिङटार प्रसारण लाइनलाई अस्थायी रूपमा ३३ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ । संखुवासभाको किटिंगीडाँडादेखि सुनसरीको धरानसम्म ६६ किमि प्रसारणलाई २ भदौ २०७८ मा ३३ केभीमा चार्च गरिएको थियो । प्याकेज २ अन्तर्गत सबस्टेशनहरूको निर्माण र नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट निर्माणाधीन २२०/१३२/३३ केभी इनरुवा सबस्टेशन सम्पन्न गरी इनरुवा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार प्रसारण लाइनलाई डिसेम्बर, २०२१ सम्ममा २२० केभीमा चार्ज गर्ने लक्ष्यका साथ काम भइरहेको छ । हाल ३३ केभीमा चार्च गरिएको प्रसारण लाइनमार्फत भोजपुर, संखुवासभा र तेह्रथुममा निजीक्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गरिएको छ । यसबाट वर्षाको समयमा त्यस क्षेत्रका आयोजनले बेहोर्दै आएको प्रसारण लाइनको समस्या समाधान भएको छ । तिरतिरे–वसन्तपुर–धनकुटा–धरान ३३ केभी प्रसारण लाइनको क्षमताले नपुग्दा भोेजपुर, संखुवासभा र तेह्रथुममा सञ्चालित आयोजनाहरू वर्षाको समयमा पूर्ण क्षमतामा चल्न सकिरहेका थिएनन् । आयोजनाहरूको जडितक्षमता करीब ३३ मेगावाट छ । संखुवासभाको तिरतिरेमा अहिले रहेको ३३ केभी लाइनलाई कोशी कोरिडोर प्रसारण लाइनमा जोडी सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित चतरा–धरान ३३ केभी लाइनमा ल्याइएको छ । कोरिडोरको पहिलो प्याकेजको इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार २२० केभी प्रसारण लाइन निर्माण गर्न भारतीय कम्पनी कलपत्रु पावर ट्रान्समिशन लि २५ फेब्रुअरी २०१६मा ठेक्का सम्झौता गरिएको थियो । ठेक्का सम्झौता १४ जुन २०१६मा कार्यान्वयमा आएको थियो । पहिलो प्याकेजको अनुमानित लागत ३ करोड ७३ लाख डलर (करीब ४ अर्ब) छ ।