किन चेत फिर्दैन सरकारी निकायको ?

महालेखापरीक्षक कार्यालयको ५९आंै वार्षिक प्रतिवेदनले देशमा आर्थिक अनुशासनहीनता बढ्दो अवस्थामा रहेको देखाउँछ । यसो त महालेखाले वर्षैपिच्छे लेखापरीक्षण गर्छ र बेरुजु आंैल्याउँछ । त्यति मात्रै होइन केन्द्रिय मन्त्रालयदेखि मन्त्रालयका मातहतका सरकारी कार्यालय तथा प्रदेश सरकार र स्थानीय सरकारलाई समेत बेरुजु फस्र्यौट गर्न बारम्बार निर्देशन दिने काम गर्छ महालेखा परीक्षकको कार्यालयले । तर, सुशासन कायम गराउन […] The post किन चेत फिर्दैन सरकारी निकायको ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

बैंक र बैंकरहरूमाथि अर्थहीन आक्रोश

कोभिडको समयमा अत्यावश्यक क्षेत्र भनेर पहिचान भएको बैंकिङ क्षेत्रले उक्त समयमा कोभिडको पर्बाह नगरी आफ्नो विवेकले भ्याउन्जेल सर्वसाधारणलाई सेवा प्रवाह गरेको थियो । कोभिडको समयमा प्रशंसा बटुलेको यो क्षेत्र अहिले विवादमा परेको छ । बैंकरलाई कालो मोसो लगाउनुपर्छ भन्नसमेत थालिएको छ । बैंकको काम गर्ने आफ्नै पद्धति हुन्छ, जुन नियामक निकायको अन्तर्गत रहेर गर्नुपर्ने हुन्छ । आज बैंकको नाफालाई लिएर विभिन्न टीकाटिप्पणी हुने गरेको देखिन्छ । बैंकमा भएको लगानी कति छ र त्यसको आधारमा नाफा कति भएको छ भनेर कसैले मूल्यांकन गरेको पाइन्न । बैंकिङ क्षेत्रले नेपालमा सर्वसाधारणलाई शोषण गरेर नाफा कमाएझैं व्यवहार गर्न थालिएको छ । यो निकै गलत छ । बैंकको उद्देश्य नाफा भए तापनि यसले समाजलाई सेवासुविधा पनि दिएको हुन्छ । आज व्यवसायी मर्कामा छन् तर हिजो उनीहरूलाई व्यवसाय शुरू गर्न सहयोग पनि बैंकले नै गरेको थियो । बैंकका कर्मचारीहरू वित्तीय अपराधको शिकार जुनै बेला पनि हुन सक्ने भयबाट अहिले त्रस्त छन् । आफू जति नै चनाखो भए पनि कुन समयमा कसरी फसिन्छ भन्ने डर एकातर्फ छ भने अर्कातर्फ व्यवस्थापनले दिएको लक्ष्य प्राप्त गर्न बेलुकी अबेरसम्म काम गर्नुपर्ने बाध्यता छ । बैंकमा कार्यरत कर्मचारी ती वर्ग हुन्, जो विदेशिने लोभ छोडेर स्वदेशमै काम गरिरहेका छन् । यहाँ कतिले जागीर छाड्नुपर्ने अवस्था आयो, कति अहिले जेलमा छन् । बैंकिङ क्षेत्र त्यस्तो पारदर्शी क्षेत्र हो, जहाँ २ रुपैयाँको हिसाब नमिल्दा रातभर बसेर मिलाउनुपर्ने हुन्छ । सार्वजनिक बिदा हुँदासमेत खोल्न लगाइने बैंकमा त्यही कर्मचारी फेरि पिल्सिनुपर्ने हुन्छ । कर्जा ग्राहकले बुझ्नुपर्ने एउटा महत्त्वपूर्ण विषय के हो भने उनीहरूले लिएको कर्जाको रकम बैंकको नभएर निक्षेपकर्ताको हो । बैंकको ऋण नतिर्ने हो भने निक्षेपकर्ताको रकम डुब्छ । बैंक दुई पक्षबीचको मध्यस्थकर्ता मात्र हो । निक्षेपकर्ताको दृष्टिबाट सोचौं । यदि बैंकमा पाइने ब्याजदर मुद्रास्फीति दरभन्दा कम छ भने कुनै पनि निक्षेपकर्ताले आफ्नो सञ्चित रकम बैंकमा राख्न उचित ठान्दैन । फलस्वरूप, उक्त रकम बैंकिङ प्रणालीमा प्रवेश नै गर्दैन । बैंकहरूले आफूसँग जति बढी निक्षेप भयो त्यसैको अनुपातमा कर्जा प्रवाह गर्न पाउने हो । त्यसैले निक्षेपकर्तालाई रिझाउन उचित अनुपातमा ब्याजदर तोक्नुपर्ने हुन्छ । कर्जा ग्राहकलाई लाभ पुर्‍याउने हेतुले निक्षेपकर्तालाई अन्याय गर्न पक्कै पनि सुहाउँदैन । अर्को महत्त्वपूर्ण पक्ष के पनि हो भने बैंकको ब्याजदर बढ्नुमा बैंक आफै र एकल दोषी पक्कै होइन । विभिन्न तथ्य र पक्षलाई आकलन गरेर बैंकले आधार दर निर्माण गर्छ । कोष लागत प्रतिशत, अनिवार्य मौज्दात लागत प्रतिशत, वैधानिक तरलता लागत प्रतिशत र सञ्चालन लागत प्रतिशत जोडेर बैंकको ब्याजदर निकालिएको हुन्छ । आधार दरमा बैंकले आफ्नो प्रिमियम थपेर ब्याजदर निर्धारण गर्ने गर्छ । आधार दर उच्च हुँदा स्वतः कर्जाको ब्याज दर बढ्छ र कम हुँदा स्वतः घट्छ । सामान्य दृष्टिले हेर्दा बैंकले ब्याजदर बढायो भनेर औंला तेस्र्याइन्छ तर विषय त्यसमा सीमित हुँदैन । आधार दरसँग आबद्ध अन्य पक्ष नेपाल राष्ट्र बैंकले समेत निर्धारण गरेको हुन्छ । बैंकदर उच्च हुँदा अन्तर बैंक ब्याजदरसमेत उच्च हुन्छ जसले गर्दा ट्रेजरी बिल्स र ऋणपत्रहरूको ब्याज उच्च हुन जान्छ । अन्ततः, समग्र दर उच्च हुन जान्छ । निक्षेपकर्ताले अपेक्षा गर्ने ब्याजदर मुद्रास्फीतिसँग सम्बद्ध हुन्छ । मुद्रास्फीति पूर्णतया सरकारी आर्थिक क्रियाकलापमा निर्धारित हुन्छ । बैंकले रहर लाग्दैमा ब्याजदर निर्धारण गर्न पाउँदैन । प्रधानमन्त्री आफैले ब्याजदर एकल विन्दुमा झार्न निर्देशन दिइसकेको समाचार आएको छ । निमुखा निक्षेपकर्ता, जसको बोलिदिने कोही छैन, उनीहरूलाई मर्का पारेर भए पनि सीमित कर्जा ग्राहकको स्वार्थ पूरा गर्ने कुरामा सरकारको ध्यान छ । पूर्वदेखि पश्चिमसम्म चर्को ब्याजदरको विरोध उद्योग, व्यावसायिक भवनहरूमा देखिन्छ । तर, उच्च ब्याजदर पारिनुको कारणप्रति कसैको ध्यान गएको देखिँदैन । सोझै बैंकलाई मात्र दोष लगाइएको छ । बैंकहरूले उच्च शुल्क लिइरहेका होलान् । एटीएम कार्ड, मोबाइल बैंकिङ या अन्य सुविधाको महँगो शुल्क लिएर ग्राहकलाई मार पारिएको हुन सक्छ । तर, त्यसमा नियामक निकायले ध्यान दिनुपर्ने हुन्छ । हिजो हरेक प्राथमिक शेयरको आवेदन दिँदा सीअस्बा शुल्क लिने बैंकहरूले गुनासो र निर्देशन आएपश्चात् निःशुल्क बनाएकै छन् । हाम्रो बैंकिङ प्रणालीमा स्थिर ब्याजदरको अवधारणा शुरू गर्न सक्नुपर्ने हुन्छ । मुद्दतीमा स्थिर ब्याजदर प्रदान गरिरहँदा कर्जामा अवस्था अनुकूल ब्याज निर्धारण गर्नु उचित विकल्प होइन । बाहिरी मुलुकमा जस्तो कर्जा ग्राहकलाई स्थिर ब्याज वा समयअनुरूपको ब्याज भनेर छान्ने अवसर प्रदान गर्नुपर्छ । यसले गर्दा एउटा पारदर्शी दर र अनुशासनको शुरुआत हुन्छ । तर, त्यो बैंकहरूको भन्दा पनि नियामक निकायबाट पहलकदमी हुँदा उचित हुन्छ । यसले जनमानसलाई बैंकप्रतिको गुनासो न्यून हुँदै जान्छ । बैंकको उद्देश्य नाफा भए तापनि यसले समाजलाई सेवासुविधा पनि दिएको हुन्छ । आज व्यवसायी मर्कामा छन् तर हिजो उनीहरूलाई व्यवसाय शुरू गर्न सहयोग पनि बैंकले नै गरेको थियो । यो दोष बैंक वा बैंकरको पक्कै होइन, समग्र अर्थतन्त्रको अवस्थाको हो । व्यवसायीमा के चेत हुन आवश्यक छ भने आर्थिक सिद्धान्तअनुरूप अर्थतन्त्र वा उद्योग कहिले उच्च बिन्दुमा पुग्छ भने कहिले न्यून बिन्दुमा । आज न्यून बिन्दुमा रहेको हो भने यो फेरि उँभो लाग्ने नै छ । यसमा बैंकले गर्न सक्ने धेरै कम छ । बैंकर्स एशोसिएशनले आफ्ना तर्फबाट केही गरी पनि रहेको छ । बैंकहरू मात्र त्यस्तो निकाय हो जसले आफ्नो समग्र वित्तीय अवस्था प्रकाशित नै गर्ने गर्छन् । यस कारण पनि बैंक र बैंकमा कार्यरत कर्मचारीको विरोध र रिस गर्नुभन्दा साथ दिई हौसला बढाएमा सबैको हित हुने थियो । रेग्मी बैंकर हुन् ।

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पारदर्शिता र इमानदारी

कुनै समय थियो, नेपाली चलचित्र भने पछि नेपालीहरू हलमा गएर फिलिम हेर्ने गर्थे । केही समय यही मान्यतामा नेपाली चलचित्रलाई दर्शकको अभाव रहेन । नेपाली भाषामा बनेको भनेपछि दर्शकहरूले हेरिहाल्छन् नि दर्शकको अभाव हुँदैन भन्ने सोच विकसित हुँदा नेपाली चलचित्र उद्योग आज कुन अवस्थामा छ, त्यो जग जाहेरै छ । भारतमा ‘खायगा भी पछताएगा, नही खाएगा भी पछताएगा र जाएगा भी पछताएगा, नहीँ जाएका भी पछताएका’ भन्ने उखान चलाएका हुन्छन् स्थान विशेषका परिकारका लागि र स्थान विशेषका लागि । ‘बद् अच्छा बदनाम बुरा’ भन्ने उर्दू उखान त्यसै चलेको होइन । एकचोटि कुनै स्थान, क्षेत्र र उद्योगको नराम्रो छाप सृजना भएपछि त्यसलाई मेटाउन निकै सकस पर्छ । एकाध जनाले बासी भात खुवाएको मार आज सिंगो राजमार्गछेउका होटेल व्यवसायीहरूले भोग्नु परिरहेको छ । त्यो नराम्रो छाप मेट्न अचेल यात्रुकै अगाडि खाना पकाएर खुवाउने चलन चल्दा पनि मानिसहरू हिचकिचाउन छोडेका छैनन् । कुनै नयाँ ठाउँमा घुम्न जाँदा कोही एक जना ठगियो भने त्यो पूरै ठाउँ नै ठगहरूको अखाडा लाग्छ, उसका दृष्टिमा । यो छाप उसले आफ्ना भए भरका वृत्तहरूमाफैलाउँछ । कुनै स्थान विशेषमा मानिसहरू यस्ता भनेर चलेका उखानका भरमा ती स्थान विशेषका मानिससँग कारोबार र व्यवहार गर्न मानिस हिचकिचाउँछन् । वर्तमान समयमा नेपालमा पनि आन्तरिक पर्यटनको ठूलो लहर आएको छ । विदेशी पर्यटकको स्थान नेपाली पयर्टकले लिन थालेका छन् । नेपाली पर्यटकका कारण नेपाली पर्यटन व्यवसायीहरूका सुकेका ओठ तालुहरू रसिला हुन थालेका छन् । यस परीस्थितिमा नेपाली पर्यटकले नेपालको आन्तरिक पर्यटन उद्योगलाई ठूलो भरथेग गरेको छ । परन्तु यो पर्यटन गतिविधिलाई नेपाली पर्यटन उद्योगले सदुपयोग गर्न सकेको भने देखिएको छैन । जसरी हिजो चलचित्र उद्योग जुन मानसिकताबाट ग्रस्त थियो, आज नेपालको पर्यटन उद्योग पनि त्यही मानसिकताबाट ग्रस्त छ । नेपालीलाई जस्तो व्यवहार गरे पनि हुने, जस्तो सूचना दिए पनि हुने र जस्तो गुणस्तरको सेवा दिए पनि हुने र जस्तो बोली व्यवहार गरे पनि हुने अचम्मको मानसिकता विकास हुन थालेको छ आन्तरिक पर्यटन उद्योगमा । नेपाली पर्यटकले खर्च गर्ने पैसाचाहिँ पैसा नै होइन, जस्तो व्यवहार गर्ने प्रवृत्ति नेपाली पर्यटन उद्योगमा विकसित हुन थालेको छ । आतिथ्यप्रधान उद्योगले आन्तरिक पर्यटकलाई गर्ने छुद्र व्यवहार सृजित गुणस्तरहीनताले १ दिन नेपालीहरू नेपालभित्र घुम्न जाँदा नेपाली भाषाका चलचित्रहरूले दर्शक नपाएझैं नाक खुम्च्याउनुपर्ने अवस्था सृजना हुन जान्छ । भावनालाई झजाएर उद्योग लामो समयसम्म टिक्न सक्दैन भन्ने तथ्यबाट नेपाली चलचित्र उद्योगझैं नेपाली पर्यटन उद्योगमा पनि लागू हुन्छ । आन्तरिक पर्यटकले भोग्नु परेको अर्को समस्या भनेको कुसूचना (डिसइन्फर्मेशन) हो । कुनै पर्यटक नेपालभित्र घुम्न जान घरबाट निस्केर घर नर्फिकउञ्जेल सम्म संगठित असंगठित कुसूचना प्रवाहको शिकार भइरहेको हुन्छ । यो कुसूचना गुणस्तर, समय र मूल्य, दूरी र आवृत्ति सबैतिर समान रूपमा प्रयोग भई रहेको छ । यात्रुलाई एउटा गुणस्तरको सेवा प्रदान गर्ने वाचाविपरीत न्यून गुणस्तरको सेवा प्रदान गर्ने, एउटा मूल्यको सेवा प्रदान गर्ने वाचा गरिसकेपछि सेवा उपभोग गरिसकेपछि थप मूल्यहरू थोपरेर सेवाग्राहीलाई महँगो मूल्य तिर्न बाध्य पार्नेजस्ता घटना आन्तरिक पर्यटनका क्षेत्रमा आम रूपमा देखा पर्न थालेका छन् । यात्रामा लाग्ने समय, दूरी र आवृत्तिमा पनि आन्तरिक पर्यटकहरू नराम्ररी ठगिने गरेका छन् । एकचोटि आएको ग्राहक हो, फेरिफेरि आउने होइन, यसलाई जति सक्यो अहिल्यै निचोर्नुपर्छ भन्ने सोच आन्तरिक पर्यटन उद्योगमा बलशाली हुँदै गएको छ । सारमा भन्नुपर्दा ‘अतिथि देवो भवः’को मान्यता बोकेको आन्तरिक पर्यटन उद्योग अतिथि कुक्कुटो भवः (अतिथिहरू मुर्गा हुन्) भन्ने मान्यतामा हिँड्न थालेको आभास हुन थालेको छ । लगानीकर्तालाई मुर्गा बनाउने प्रवृत्तिले नेपाली चलचित्र क्षेत्रमा गुणस्तरीय लगानी आउन नसक्दाको परिणाम नेपाली चलचिच उद्योगले हाल भोगिरहेको छ । तर, नेपालको आन्तरिक पर्यटन उद्योग पनि ग्राहकलाई मुर्गा बनाउने प्रवृत्तितर्फ उन्मुख हुँदै जाँदा यस क्षेत्रले गुणस्तरीय पर्यटक पाउन मुश्किल हुँदै जाने खतरा उत्पन्न भएको छ । आन्तरिक पर्यटन उद्योग भन्नासाथ होटेल, रिसोर्ट, पर्यटकीय उत्पादनहरू भन्ने मात्रै हुँदैन । पर्यटन उद्योगको पनि आफ्नै पर्यावरण हुन्छ । यस पर्यावरणमा पर्यटकको स्रोतदेखि गन्तव्यसम्मको समग्र वातावरण भन्ने बुझिन्छ । यातायात, सूचना र स्थानीय जनता तथा व्यवसायी यस पर्यावरणमा तीनओटा महत्त्वपूर्ण खम्बाहरू हुन् । भरपर्दो, सुरक्षित, मर्यादित, युक्तिसंगत मूल्यसहितको यातायात प्रणाली, भरपर्दो सूचना प्रणाली र सहयोगी र सह्दयी स्थानीय जनता र व्यवसायीहरूले आन्तरिक पर्यटनको पर्यटनको जग बलियो बनाउन मद्दत गर्छ । परन्तु पर्यटक वासस्थान नपुग्दै गलत सूचना प्रवाह गरी अनावश्यक भाडा असुल गर्ने, स्थानीय जनताले पनि नवआगन्तुकहरूलाई भ्रमित गर्ने खालका सूचना प्रवाह गर्ने तथा असहयोगी चरित्र प्रदर्शन गर्ने प्रवृत्ति आम रूपमा विस्तार हुँदै गएको छ । एउटा पर्यटक कुनै होटलमा वास बस्न जाँदा प्रत्यक्ष लाभान्वित हुने पनि यातायात व्यवसायी र स्थानीय जनता नै हुन् । परन्तु त्यो पक्षलाई यी दुवै क्षेत्रले महत्त्व दिन सकेको छैनन् । स्थान विशेषको बदनामी भई होटेलमा पर्यटकहरू जान छोडे भने यसको मार होटेलमा मात्रै होइन, त्यस क्षेत्रको समग्र अर्थतन्त्रमा नै पर्न जान्छ भन्ने विषयमा स्थानीयहरूमा अझै चेत पलाउन सकेको छैन । उल्लिखित पक्षहरूलाई दृष्टि गर्दै आन्तरिक पर्यटनलाई स्थायी प्रकृतिकोे व्यवसायको रूपमा विकास गर्न देहायका पक्षमा नेपाली पर्यटन क्षेत्रको ध्यान जानु आवश्यक छ । सर्वप्रथम पर्यटन क्षेत्रमा क्रियाशील व्यावसायीहरूले यस क्षेत्रमा पर्यटकलाई मूल्य, सेवा र आवृत्तिमा सद्व्यहावरको प्रत्याभूति गर्न संगठित प्रयास गर्न जरुरी छ । आचारसंहिताका कडा प्रावधानहरूको तर्जुमा र त्यसको कार्यान्वयन, आचारसंहिताको कार्यान्वयनमा सरकारी निकायको समेत सहभागिता हुन सकेको खण्डमा यस क्षेत्रका तमाम विकृतिहरू एकै साथ समाधान हुने देखिन्छ । यस कार्यमा यातायात व्यवसायीहरूलाई सहमत तुल्याएर अघि बढ्नु आवश्यक छ । त्यस्तै पर्यटन क्षेत्रको स्थानीय पर्यावरणलाई पर्यटनमैत्री बनाउन स्थानीय राजनीतिक नेतृत्व, नागरिक समाज तथा स्थानीय उद्योग वाणिज्य संघलाई पनि यस अभियानमा संलग्न गराउन पनि त्यत्तिकै जरुरी छ । इमानदारी र पारदर्शिता पर्यटन व्यवसायको मूल हो भन्ने विषय सबैले समयमै मनन गर्नु जरुरी छ । सारमा भन्नुपर्दा नेपाली पर्यटन क्षेत्रले ‘आन्तरिक पर्यटनको मूल आधार यथार्थ सूचनाको प्रवाह’लाई मूलमन्त्र बनाउँदै अघि बढ्नुपर्ने देखिन्छ । यसो गर्न सकेको खण्डमा नेपालको आन्तरिक पर्यटन उद्योग साँच्चै नै आकर्षक क्षेत्रका रूपमा अर्थतन्त्रमा उल्लेख्य योगदान दिने निश्चित छ । सभ्य, सुसंस्कृत र पारदर्शी पर्यटन उद्योगको विकास गर्न सकेको खण्डमा यो उद्देश्य प्राप्ति सहज हुने देखिन्छ ।   (लेखक व्यापार निकासी तथा प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन्)