मौन अवधिअघिसम्म भोट माग्न आउनेको घुइँचो थियो । आश्वासनको बाढी पनि उस्तै थिए । अर्जुनधारा नगरपालिका–११ बुट्टाबारी तीनपैनी बस्तीका चिया श्रमिक नेताका आश्वासन सुन्छन् र केही नबोली बस्छन् । योपल्टको चुनावी घरदैलो तीनपैनी टोलका चिया श्रमिकले यसरी नै बिताए । ७३ वर्षीया राममाया तामाङले अर्जुनधारामा ०४८ देखि नै भोट दिँदै आएकी छिन् ।