काठमाडौं । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का नेता सुब्रमण्यन स्वामीले नेपालको तरल राजीतिक परिस्थितिमा भारतले चतुर कदम चाल्नुपर्ने बताएका छन् । भारतको राज्य सभाका सदस्य रहेका स्वामीले भारतले चतुर कदम चालेर नेपालको जारी तरल राजनीतिक परिस्थितिलाई आफ्नो पक्षमा पार्नुपर्ने बताएका हुन्।
भारतले त्यसो गर्न नसके चीनले नेपालमा भूमिका बढाउने उनले बताएका छन्। अहिले प्रधानमन्त्री केपी शर्मा ओली ‘न घर न घाट’ को जस्तो अवस्थामा पुगेका बेला भारतले चतुर राजनीतिक कदम चाल्नुपर्ने उनको भनाइ छ ।
बीजेपीका केन्द्रीय कार्यसमिति सदस्य रहेका उनले नेपाल संभवतः अब लोकतान्त्रिक अवस्थामा फर्किने र गठबन्धन सरकार बन्ने भनी बिहीबार सामाजिक सञ्जालमार्फत् आफ्नो टिप्पणी सार्वजनिक गरेका हुन्।
‘ओली उनकै कदमका कारण अहिले ‘न घर न घाट’को अवस्थामा पुगेको हुँदा यहि बेला चिनियाँ प्रभावलाई निस्तेज पार्न भारतले केहि सिक्नैपर्छ,’ उनले भनेका छन्, ‘चिनियाँहरुले भूमिका बढाउने नै छन् त्यसैले सन्तुलन कायम राख्न भारतले निकै चतुर (मूर्खतापूर्ण होइन) राजनीतिक चाल चाल्नुपर्छ ।’
सर्वोच्च अदालतको मंगलबारको आदेशबाट प्रतिनिधि सभा पुनर्स्थापना भएपछि नेपालमा नयाँ सरकार गठनका लागि कसरत सुरु भइरहेका बेला उनको यो भनाइ आएको हो ।
केही दिन अघि मात्रै भारतीय गृहमन्त्री अमित शाहको नेपालमा भाजपाको संगठन विस्तार गरेर सरकार बनाउने अभिव्यक्ति आएको थियो । सो अभिव्यक्तिको कडा आलोचना भइरहेका बेला सत्तारुढ भाजपाका अर्का नेताको विवादास्पद भनाई सार्वजनिक भएको हो ।