नेपाल–भारत सीमा नाका झुलाघाटमा कोरोना भाइरस चेकजाँच सहायता कक्षमा स्वास्थ्यकर्मी आठ घण्टा अनुपस्थित हुँदा आइतबार भारतबाट नेपाल आउने ३० जना स्वास्थ्य परीक्षण नगरेरै भित्रिएका छन् ।
कोरोनो भित्रिन नदिन बैतडीमा उच्च सतर्कता अपनाउन प्रशासनले सूचना जारी गरेको भोलिपल्ट सहायता कक्षमा बस्नुपर्ने स्वास्थ्यकर्मी आठ घण्टासम्म अनुपस्थित भएका हुन् ।
झुलाघाट सीमा नाकाबाट आइतबार बिहान ७ बजेदेखि १ बजेसम्म ३० जनाभन्दा बढी नेपाल भित्रिएको झुलाघाट सीमा प्रहरी चौकीले जानकारी दिएको छ । कोरोना जाँच सहायता कक्षमा स्वास्थ्यकर्मी नहुँदा भित्रिने कसैको पनि स्वास्थ्य परीक्षण हुन सकेन । झुलाघाटको नेपाल–भारत सीमा पुल बिहान ७ बजे खुल्छ भने बेलुकी ६ बजे बन्द हुने गरेको छ ।