राष्ट्र उत्थान लघुवित्तद्वारा १५ % लाभांश प्रस्ताव,  नेप्सेले रोक्यो शेयर कारोबार

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश सार्वजनिक गरेको छ । कम्पनीले बोनस र नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय भएको जानकारी मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत गराएको हो ।  गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. २६ करोडको आधारमा कम्पनीले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय वैशाख १३ गतेको सञ्चालक समितिको बैठकले गरेको हो । कम्पनीले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चान् आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।  कम्पनीले लाभांश प्रस्ताव सार्वजनिक गरेकै दिन नेप्सेले शेयर कारोबार रोक्का गरिदिएको छ । वैशाख १३ गतेनै भएको निर्णय वैशाख १९ गते विहान ११ बजेर ४८ मिनेट जाँदा मात्र नेप्समा प्राप्त भएकाले कारोबार रोक्का गरिएको जानकारी नेप्सेले दिएको छ । धितोपत्र मूल्यमा प्रभाव पार्ने उक्त सुचना कम्पनीले निर्णय भएको दिन वा भोलिपल्ट कारोबार खुल्नु अघिनै नेप्सेमा पेश गर्नुपर्ने थियो । तर कम्पनीले सो बमोजिम नगरेकाले तीन दिन भित्र के कति कारणबाट समयमै जानकारी दिन नसकेको हो ? त्यसको सम्बन्धमा स्पष्टिकरण पेश गर्न भन्दै नेप्सेले कारोबार रोक्का गरिदिएको हो ।

सम्बन्धित सामग्री

राष्ट्र उत्थान लघुवित्तको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार बिहीवार फुकुवा गरेको छ । नेप्सेले कम्पनीलाई गल्ती नदोहोर्‍याउन सचेत गराउँदै शेयर कारोबार फुकुवा गरेको हो । कम्पनीको सञ्चालक समितिको वैशाख १३ गते बसेको बैठकले लाभांश वितरणसम्बन्धी निणर्य १९ गते बिहान ११ः४८ बजे मात्रै जानकारी गराएको भन्दै नेप्सेले शेयर कारोबार रोक्का गरेको थियो । धितोपत्र सूचीकरण विनियमावली २०७५ मा भएको व्यवस्थाअनुसार शेयर मूल्य प्रभावित हुने गरी सूचना सार्वजनिक गरेको भन्दै नेप्सेले प्रष्टीकरण माग गर्दै कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । कम्पनीले नेप्सेसमक्ष सूचना प्रवाहसम्बन्धी गलत बुझाइका कारण समयमा जानकारी गराउन नसकिएको त्रुटिसहित क्षमा याचना गरेको छ । आगामी दिनमा यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता गरेपछि नेप्सेले कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो । वैशाख १३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको मुनाफाबाट शेयरधनीलाई चुक्तापूँजीेको १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।