मंसिर २९, काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ३१ दशमलव ५८ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार ५ हजार ४९६ कित्ता शेयर कारोबार भएको छ ।
कम्पनीको रू. १ करोड २८ लाख ३८ हजार बराबरको उक्त कित्ता शेयर खरिद विक्री भएको हो । धितोपत्रको दोस्रो बजारमा उक्त कम्पनीको ६ लाख ६० हजार कित्ता शेयर सूचीकृत रहेको छ । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १५ ले बढेर अन्तिम मूल्य रू. २ हजार २९० कायम भएको छ ।
लाभांश सुरक्षित गर्ने अन्तिम दिन कम्पनीको शेयरमूल्यमा निकैनै उतारचढाव देखिएको छ । प्रतिकित्ता रू. २ हजार ३२० मा खुला भएको कम्पनीको शेयरमूल्य न्यूनतम रू. २ हजार १८८ देखि अधिकतम रू. २ हजार ४१२ सम्म पुगेको थियो ।
अघिल्लो कारोबार दिनको भन्दा यो दिन कम्पनीको कारोबार रकम र कित्ता बढेको छ । मंगलवार कम्पनीको रू. १५ लाख ८८ हजार बराबरको ७०२ कित्ता शेयर कारोबार भएको थियो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट यस वर्ष ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ६ करोड ६० लाखको आधारमा उक्त लाभांश वितरण गर्न लागेको हो ।
उक्त प्रस्तावसहित अन्य विविध प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस १० गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १ गते बिहीवार एक दिन बुक क्लोज गर्ने गर्ने भएकाले बुधवार लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको थियो । बुक क्लोजको आधारमा मंसिर २९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
गत वर्ष यस कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेकोमा यस वर्ष भने आकर्षक लाभांश प्रस्ताव गरेको छ ।
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ८ दशमलव ३५ रहेको छ ।
यस अवधिसम्म कम्पनीले रू. १३ लाख ७७ हजार खुद नाफा गरेको छ । कम्पनीको जगेडा कोष रकम भने रू. ५ करोड ३६ लाख ९३ हजार रहेको छ ।