वीरगञ्ज । वीरगञ्जका तीन उद्यमी नेपाल सरकारबाट विभूषित भएका छन् । शुक्रवार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई सो विभूषण प्रदान गर्नुभएको हो ।
वीरगञ्जका वरिष्ठ उद्यमी मुरलीधर रुंगटालाई सुप्रवल जनसेवाश्री चतुर्थ पदक प्रदान गरिएको छ । वीरगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुबोधकुमार गुप्ता र पूर्वअध्यक्ष अशोककुमार वैधलाई प्रवल जनसेवा श्री चतुर्थ पदकबाट सम्मानित गरिएको छ ।
निजीक्षेत्रको विकास र प्रवर्द्धनमा पुर्याएको योगदानका लागि सरकारले पदक दिएको हो । सरकारले गत संविधान दिवसको अवसरमा यो निर्णय गरेको थियो । वीरगञ्ज क्षेत्रका उद्यमी व्यवसायी विभूषित हुनु वीरगञ्ज क्षेत्रकै लागि गौरव भएको संघका अध्यक्ष अनिलकुमार अग्रवालले बताए ।