काठमाडौं । गत साता धितोपत्र दोस्रो बजारका महत्वपूर्ण सूचकहरू घटेका छन् । बजार अघिल्लो साताको तुलनामा ८८ दशमलव ६७ अंक तल झरेको हो ।
अघिल्लो साताको अन्तिम कारोबार दिन २ हजार १८३ दशमलव २१ विन्दुमा रहेको बजार गत साताको अन्तिम कारोबार दिन २ हजार ९४ दशमलव ५४ विन्दुमा झरेको हो । साताको पाँच कारोबार दिनमा नेप्से परिसूचक एक कारोबार दिनमात्र बढेको छ । पहिलो कारोबार दिन १४ दशमलव ६८ अंक, दोस्रो दिन ४१ दशमलव १६ अंक र तेस्रो दिन १५ दशमलव ७० अंक घटेको बजार चौथो दिन भने ४ दशमलव ९७ अंक बढेको थियो । पाँचौ कारोबार दिन बजार २२ दशमलव १२ अंकले घटेर बन्द भएको हो ।
धितोपत्र दोस्रो बजारको समग्र कारोबार मापक नेप्से परिसूचकसँगै ठुला कम्पनीको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि गत साता १४ दशमलव ७७ अंकले घटेको छ । अघिल्लो साता ४१३ दशमलव १४ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स गत साता ३९८ दशमलव ३७ विन्दुमा झरेको हो ।
बजार घट्दा लगानीकर्ताको सम्पत्ति मूल्य पनि घटेको छ । अघिल्लो साताभन्दा गत साता लगानीकर्ताको सम्पत्तिको मूल्य अर्थात् कुल बजारपूँजीकरण रू. १ खर्ब २७ अर्ब ९५ करोड ८८ लाखले घटेको हो । अघिल्लो साताको अन्तिम कारोबार दिन रू. ३१ खर्ब ५० अर्ब ४८ करोड ६५ लाख रहेको कुल बजारपूँजीकरण गत साताको अन्तिम कारोबार दिन रू. ३० खर्ब २२ अर्ब ५२ करोड ७६ लाख रहेको थियो ।
गत साता कारोबार रकम र कित्ता समेत घटेको छ । अघिल्लो साता रू. १३ अर्ब १९ करोड ३८ लाखभन्दा बढीको ३ करोड ६३ लाख ५६ हजार ७८६ कित्ता धितोपत्र खरीदविक्री भएकोमा गत साता रू. १३ अर्ब ७२ लाखभन्दा बढीको ३ करोड ५५ लाख ८९ हजार ७५८ कित्ता धितोपत्र खरीदविक्री भएको हो । गत साता औषतमा रू. २ अर्ब ६० करोडभन्दा बढीको धितोपत्र खरीदविक्री भएको देखिन्छ ।
नयाँ सरकार गठनसँगै उकालो लागेको धितोपत्र दोस्रो बजार पछिल्लो समय राजनितिक अन्योलताले बजार प्रभावित बनेको को अनुमान लगानीकर्ताहरूको छ । सूचनाको आधारमा चल्ने नेपालको धितोपत्र दोस्रो बजार अगामी साता भने केहि सकारात्मक बन्न सक्ने अनुमान जानकारहरूले गरेका छन् ।
बजारमा तरलता प्रयाप्त हुँदापनि बजारमा लगानी गर्ने या नगर्ने अन्योलतामा लगानीकर्ता रहेको जानकारहरूको बुझाइ छ । बजारप्रति सकारात्मक सूचनाले लगानीकर्ता उत्साहित हुने अवस्थामा अगामी साताको कारोबारका लागि शेयर धितोकर्जाको सीमा हट्न सक्ने संकेतले सकारात्मक प्रभाव पार्ने जानकारी लगानीकर्ताको अनुमान छ ।
बिहीवार आयोजित एउटा अन्तरक्रियामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शेयर धितो कर्जाको समस्याका विषयमा सरोकार सबै पक्षहरू बसेर समाधान खोज्न सकिने वताएका थिए । उनले यो विषयमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समेत सकारात्मक रहेको बताएका थिए । पर्ख र हेरको अवस्थामा रहेको लगानीकर्तालाई शेयर धितो कर्जामा रहेको समस्या समाधानका लागि अर्थमन्त्रीले देखाएको चासोले उत्साहित बनाउन सक्ने सम्भावना देखिन्छ ।
गत साता सबै समूहले गुमाए
गत साता सबै समूहले गुमाएका छन् । कारोबारमा आएका सबै समूहगत परिसूचक गत साता घटेका हुन । गत साता सर्वाधिक परिसूचक लगानी समूहको ७ दशमलव २५ प्रतिशत घटेको छ । त्यस्तै वित्त समूहको ६ दशमलव ९५ प्रतिशत, जलविद्युतको ५ दशमलव शून्य ८ प्रतिशत, लघुवित्त ४ दशमलव ९६ प्रतिशत, विकास बैंक ४ दशमलव ८६ प्रतिशत, निर्जीवन बीमा ४ दशमलव ४५ प्रतिशत, अन्यको ४ दशमलव ४० प्रतिशत, होटल तथा पर्यटनको ४ दशमलव ३६ प्रतिशतले घटेको छ ।
त्यसैगरी व्यापारिकको ४ दशमलव ३५ प्रतिशत, जीवन बीमाको ३ दशमलव ३० प्रतिशत, म्युचुअल फण्डको २ दशमलव ८३ प्रतिशत, बैंकिङको २ दशमलव ७१ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको २ दशमलव १६ प्रतिशत परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्ने लगानी समूह अन्तर्गत धितोपत्र दोस्रो बजारमा ६ कम्पनी सूचीकृत रहेका छन् ।