राष्ट्रपति विद्यादेवी भण्डारीले पुर्खाको नासोका रूपमा प्राप्त सबै सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु वर्तमान पुस्ताको दायित्व भएको बताउनुभएको छ ।
महाशिवरात्रि पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले बागमती नदीलाई स्वच्छ र सफा राखिरहनका लागि सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मानव जातिले प्रकृतिसँगको असल सहकार्यबाट मात्र आफ्नो प्रगतिको बाटो रोज्नुपर्छ भन्ने तथ्यलाई महाशिवरात्रि पर्वले थप उजागर गरेको बताउनुभएको छ । उहाँकोे सन्देशमा शिवोत्पत्ति भएको विश्वास गरिने मानसखण्डको भूभाग, शिवको विचरणस्थल मानिने हिमवत्खण्डको मुख्य भूगोल एवं निवासस्थल मानिने पवित्र पाशुपत क्षेत्र नेपालसँग रहनु नेपालीका लागि गौरवको विषय भएको उल्लेख गरिएको छ ।