सिभिल सहकारी प्रकरण: मुख्य अभियुक्त इच्छाराज तामाङकी पत्नी पक्राउ

काठमाडौँको सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाबाट बचतकर्ताको ठूलो रकम ठगीमा मुछिएका मुख्य अभियुक्त इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य तामाङलाई प्रहरीले आज पक्राउ गरेको छ । काठमाडौँ जिल्ला अदालतबाट गत पुस २७ मा पक्राउ पुर्जी जारी भई फरार रहेका सहकारीको तत्कालीन लेखा समिति सदस्य तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले काठमाडौँस्थित रामशाहपथबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कानूनी कारबाहीका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । उनीहरुको मिलेमतोमा काठमाडौँ महानगरपालिका–१३, सोल्टीमोडस्थित उक्त सहकारी संस्थामा आकर्षक ब्याजदर दिनेलगायत विभिन्न प्रलोभनमा पारी ठूलो सङ्ख्याका बचतकर्तालाई रकम जम्मा गर्न लगाई सङ्गठितरूपमा रु पाँच अर्ब ८४ करोड ४० लाख ठगी भएको खुल्न आएको थियो । उक्त सहकारीमा विगत तीन वर्षदेखि बचत गरेको रकमको साँवा तथा ब्याज माग गर्दा नदिइएको भन्दै एक हजार ५३० जना पीडितले ब्यूरोमा ठगी एवं सङ्गठित अपराध कसुरमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा अनुसन्धान सम्पन्न गरी ब्यूरोले गत मङ्सिर १७ गते संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १२ जना प्रतिवादीलाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । हाल प्रतिवादी इच्छाराज तामाङ र केशवलाल श्रेष्ठ पुर्पक्षका लागि कारागारमा छन् ।

सम्बन्धित सामग्री

सिभिल सहकारी प्रकरण : इच्छाराज तामाङ पत्नी पनि पक्राउ

३ साउन, काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङ पक्राउ परेकी छन् । ठगी सम्बन्धी कसूरमा फरार रहेकी तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो । शाक्य संस्थामा लेखा समिति सदस्य थिइन् । सीआईबीका एसपी श्यामकुमार महतोका अनुसार सिभिल सहकारीमा भएको पाँच […]