शुक्रबार रातिदेखि परिरहेको अjlरल वर्षाले महोत्तरीको विभिन्न ठाउँहरूमा बाढीको जोखिम बढेको छ ।
जिल्लामा रहेको रातो, बिग्ही, जङ्गहा, अङ्कुसी, भब्सी, माढा लगायतका नदीहरूमा जलस्तर बढेको छ भने कतिपय स्थानमा नदीको तटबन्ध कटानसमेत शुरु भएको छ । सदरमुकाम जलेश्वर जोडने अधिकांश सडक भएर पानी बग्न थालेको छ । जलेश्वर मटिहानी सडकखण्डमा रातिदेखि नै दुई फिटभन्दा बढी पानी सडक भएर बग्दा उक्त अवरुद्ध हुन पुगेको छ । जलेश्वर-मटिहानी सडकखण्डको सुगाभन्दा पूर्वको डाइभर्सनदेखि लिएर बहुअर्वामोडसम्म सडकबाट पानी बग्न थालेको हो ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले नदीहरूमा जलस्तर बढदैगएको भन्दै तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सुरक्षित ठाउँमा सार्ने कार्य अगाडि बढाएको छ । अहिले पानी पर्ने क्रम रोकिएको कारणले सुरक्षाकर्मी परिचालन गरेर तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित रहन निर्देशन दिइसकिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो ।