हाम्रो जस्ता अविकसित देशका मानिस राम्रो आम्दानी तथा गुणस्तरीय शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा सुविधा प्राप्त हुने भएकाले अमेरिका, यूरोप तथा अन्य विकसित देशहरूतर्फ आकर्षित हुन्छन् । आफ्नो रुचि र अवश्यकताअनुरूपको ज्ञान तथा शीपका लागि पनि मानिस अन्य देश जान लालायित हुन्छन् । कतिपय अवस्थामा आफ्नो देशमा हुने प्राकृतिक प्रकोप तथा अन्य वातावरणीय प्रतिकूलताका कारण त कहिले कहिले युद्ध तथा अशान्तिले पनि मानिसलाई आफ्नो मातृभूमि छोडेर विदेश पलायन हुन बाध्य पार्छ । देशमा चरम आर्थिक संकट आइलाग्यो भने पनि मानिस विदेशिनु पर्ने अवस्था सृजना हुन्छ ।
मानव तस्करीले आन्तरिक रूपमा तथा सीमापार रूपमा समेत विभिन्न स्वरूपमा हुने शोषणलाई इंगित गरेको हुन्छ भने प्रवासीहरूको तस्करीले सीमापार तस्करीलाई मात्र जनाउँछ ।
यसरी माथि उल्लिखित विभिन्न कारणले विदेशिनु पर्ने अवस्था वा बाध्यता भए पनि सबै मानिस आफूले चाहेको देशमा कानूनी रूपमा जान पाउँदैनन् । आफ्नो सामर्थ्य, आवश्यक कागजात तथा कानूनी हैसियत नभए पनि विदेश जानैपर्ने र जान खोज्ने यस्ता व्यक्तिहरूको ‘जमात’ देखेर र पैसा पनि मनग्य कमाइने हुनाले कतिपय व्यक्ति तथा संगठित तस्कर समूहले नाफामूलक (ठगी ?) व्यवसाय मार्फत यसरी विदेश जान चाहनेहरूलाई अवैध तरिकाले विदेश पठाउने ‘सेवा’ प्रदान गर्ने गर्छन् । यस्तै अवैध तरीकाले एक देशबाट अर्को देशमा मानिस पठाउने र त्यसबापत अवैध अर्थोपार्जन गर्ने गरी सेवाको नाममा सञ्चालन गरिने ‘ठगी व्यवसाय’लाई नै प्रवासीहरूको तस्करी भनेर बुझ्न सकिन्छ ।
मानव तस्करी र प्रवासीहरूको तस्करी
झट्ट सुन्दा प्रवासीहरूको तस्करीलाई आम रूपमा मानव तस्करीकै रूपमा व्याख्या गर्ने गरिएको पाइन्छ । तर, त्यसमा तात्त्विक भिन्नता रहेको देखिन्छ । मानव तस्करीले आन्तरिक रूपमा तथा सीमापार रूपमा समेत विभिन्न स्वरूपमा हुने शोषणलाई इंगित गरेको हुन्छ भने प्रवासीहरूको तस्करीले सीमापार तस्करीलाई मात्र जनाउँछ । मानव तस्करीको शिकार महिला, बालबालिका तथा जोसुकै पनि हुन सक्छन् । मानव तस्करीमा आवरणमा देखाइने कामको आडमा भर्ना गर्ने तथा शोषण गर्ने उद्देश्यले एक ठाउँबाट अर्को ठाउँमा लैजाने जस्ता कार्य पर्छन् । यस्तो शोषणअन्तर्गत बँधुवा मजदूर, दास, यौन शोषण तथा अंग निकाल्नेसम्मका कार्य पर्छन् । लागू पदार्थ तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसंघीय संगठन (यूएनओडीसी) का अनुसार कार्य (भर्ना, स्थानान्तरण, प्राप्ति) उपाय (धम्की, बलको प्रयोग, धोखा, ठगी, शक्तिको दुरूपयोग, नाजायज फाइदा) तथा शोषणको उद्देश्य (यौन शोषण, जबर्जस्ती श्रम शोषण, अंग निष्कासन आदि) मानव तस्करीमा अन्तर्निहित हुन्छ ।
प्रवासीहरूको तस्करीमा प्रवासीहरूले आफ्नै तस्करीका लागि अनुमति दिएका हुन्छन् भने मानव तस्करीमा शिकार हुने व्यक्ति आफू तस्करीको शिकार भइरेहेकोप्रति अनविज्ञ रहन्छ ।
अर्को कुरा मानव तस्करीको शिकार भएको व्यक्तिको शोषण कहिलेसम्म कायम रहन्छ भन्ने कुरा निश्चित हुँदैन । तर, प्रवासीको तस्करीमा सम्बद्ध देशमा पुगेपछि त्यस्तो कारोबारको अन्त्य हुन्छ । अन्तरराष्ट्रिय कानूनहरूले यस्तो प्रवासीहरूको तस्करीलाई अवैध मानेको भए पनि स्वेच्छाले तस्कर संगठनसँग तस्करीका लागि तयार हुने भएकाले त्यसमा संलग्न हुने प्रवासीहरूलाई चाहिँ वैध नै मान्दछ । तर, यसरी कानूनले उन्मुक्ति दिए पनि तस्करहरूले भने तिनीहरूलाई अनेक प्रकारले आर्थिक, भौतिक तथा मानसिक शोषण गरेका हुन्छन् ।
तस्करहरूको सञ्जाल र वित्तीय अपराध
प्रवासीहरूको तस्करी विशेष गरी एकआपसमा जेलिएर रहेका विभिन्न अन्तरदेशीय आपराधिक संगठनहरूमार्फत हुने गर्छ । विशेषगरी जुन देशमा तस्करी गरी प्रवासी पठाइने हो त्यसका लागि मार्ग पर्ने देशहरूमा यस्तो सञ्जाल रहेको हुन्छ ।
यस्ता तस्कर समूहहरू सम्पत्ति शुद्धीकरणजस्ता वित्तीय अपराधमा पनि नियमित रूपमा संलग्न हुने गरेका तथ्यहरू सार्वजनिक भएका छन् ।
हालैका दिनहरूमा यस्ता तस्करहरूले विभिन्न सामाजिक सञ्जाल तथा इन्क्रिप्ट गरिने सञ्चार माध्यममार्फत सम्पर्क कायम गर्ने हुनाले एकातिर तिनले आफ्नो कार्य दक्षता तथा कुशलतामा पनि अभिवृद्धि गरेका छन् भने अर्कोतिर गोप्य र सुरक्षित तरीकाले वित्तीय अपराधलाई पनि निरन्तरता दिन सफल भएका छन् ।
वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले हालै एक प्रतिवेदन सार्वजनिक गरी प्रवासीहरूको तस्करीबाट सम्पत्ति शुद्धीकरणजस्ता वित्तीय जोखिम बढेको भन्दै त्यसप्रति सचेत रहन अन्तरराष्ट्रिय समुदायलाई सजग गराएको छ ।
यूरोपेली आयोगले पनि यस्तो तस्करीलाई नियन्त्रण गर्न ५ सूत्रीय कार्ययोजना नै बनाएको छ जसअन्तर्गत अन्तरदेशीय सहयोग आदान प्रदानदेखि लिएर कतिपय कानूनी संरचनाहरूको निर्माणसम्म पर्छन् ।
हालैका वर्षहरूमा प्रवासीहरूको तस्करी जुन रूपमा बढेको छ सोही अनुपातमा त्यस्ता तस्करहरूलाई कानूनी कारबाहीको दायरामा नल्याइएको उक्त प्रतिवेदनले उल्लेख गरेको छ र यही कारणले पनि यस्तो अवैध तस्करीले फस्टाउने मौका पाएको देखिन्छ ।
प्रवासीहरूको तस्करी गर्नेहरूले आवरणमा अनेक प्रकारका वैध व्यवसायहरू देखाएका हुन्छन् । कसै कसैले ट्राभल एजेन्सीजस्ता भ्रमण व्यवस्थापन गर्ने कम्पनीहरूमार्फत यस्तो तस्करी गरिरेहेका हुन्छन् । यसअन्तर्गत अव्यवस्थित तस्कर संगठनहरूसँग आबद्ध ट्याक्सी, बस, लरी तथा ट्रक चालकहरूका रूपमा समेत तस्करहरू समावेश भएका र उनीहरूको मुख्य काम नै गन्तव्यसम्म प्रवासीहरूलाई पुर्याउनु रहन्छ ।
अलिक व्यवस्थित कर्पोरेट ढाँचाका संगठनहरूले भने बृहद् प्याकेज नै बनाएर प्रवासीहरूको तस्करी गरेका हुन्छन् । यिनीहरूले प्रवासीलाई विस्तृत रूपमा गन्तव्यसम्म पुग्ने हरेक सीमा तथा वाहनसमेत खुलाएर व्यवस्थित यात्रा तालिका नै उपलब्ध गराएका हुन्छन् र त्यही भएर यी तस्करहरू अलिक महँगा हुन्छन् । ‘यूएनओडीसी’ले सार्वजनिक गरेको ५ वर्ष अगाडिकै तथ्यांकअनुसार विश्वमा करीब वर्षेनि २५ लाख प्रवासीको तस्करी हुने र त्यसबापत अवैध रूपमा कारोबार हुने रकमको राशी वार्षिक ७ अर्ब डलरको हाराहारीमा रहेको छ । यति ठूलो राशीको रकमको स्थानान्तरण गर्दा अनौपचारिक हन्डी (हवाला) को प्रयोग गर्ने हुनाले पनि यिनीहरूको वित्तीय कारोबारका बारेमा सम्बद्ध राज्यहरू जानकार हुँदैनन् ।
यसअतिरिक्त यस्ता तस्करहरूले आफ्नो अवैध आर्जनलाई शुद्धीकरण गर्न व्यावसायिक कम्पनीहरूलाई समेत उपयोग गर्न थालेका छन् ।
आतंकवादको लागि हुने वित्तीय सिञ्चनमा समेत कतिपय प्रवासीको तस्करी गर्ने संगठनहरूको संलग्नता देखिएको कुरा एफएटीएफको प्रतिवेदनले उल्लेख गरेको छ । विशेष गरी अफ्रिकी मार्ग हुँदै विदेश पठाउने तस्करहरूबाट यस्तो वित्तीय सिञ्चन भएको बताइन्छ ।
यसरी प्रवासीहरूको तस्करीमार्फत व्यापक मात्रामा सम्पत्ति शुद्धीकरणजस्ता वित्तीय अपराध तथा आपराधिक क्रियाकलापलाई वित्तीय सिञ्चन गर्ने काम मौलाइरहेको भए तापनि धेरैजसो देशहरूमा यससम्बन्धी गम्भीर बुझाइको अभाव रहेको ‘एफएटीएफ’ को निष्कर्ष रहेको छ । अन्य अन्तरराष्ट्रिय प्रकृतिका अपराधको तुलनामा यस्तो तस्करीको कारण वैध बनाइने अवैध रकमको राशी त्यति ठूलो त देखिँदैन तापनि यसले गम्भीर प्रकृतिका भौतिक क्षति तथा कष्ट निम्त्याउने हुनाले सम्बद्ध देशहरूले उपयुक्त सक्रियता देखाएर यस्ता गतिविधिमाथि निगरानी तथा नियन्त्रण गर्नुपर्ने टड्कारो आवश्यकता भने महसूस गर्न सकिन्छ ।
लेखक बैंकर हुन् ।