वर्षौँपछि दिपायल सिलगढी वडा नं ८ नारीदाङदेखि कैलालीको धनगढीसम्म बस सेवा शुरु भएको छ । जिल्ला सदरमुकाम सिलगढी तथा तराई जानका लागि सास्ती खेप्दै आएका यहाँका नागरिक अब घरबाट नै गाडी चढ्न पाउने भएपछि खुशी छन् ।
कच्ची सडक निर्माण गरिएको लामो समय भइसक्दा समेत गाडी सञ्चालन नभएका कारण सो क्षेत्रका नागरिक जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायलसम्म जानका लागि घण्टौँ पैदलयात्रा गर्न बाध्य हुँदै आएका थिए ।
स्थानीयवासी केपी माझीले भन्नुभयो,“कच्ची सडक निर्माण भएको कम्तीमा पनि दश वर्ष भएको थियो, गाडी नचल्दा घरैमा सडक भए पनि यहाँका नागरिक पैदलयात्रा गर्न बाध्य थिए, बल्ल गाडी चल्न शुरु भयो, अब सबैलाई सहज हुने छ ।”
शैलेश्वरी सार्वजनिक यातायात प्रालि र सुन्दर सुदूरपश्चिम यातायात प्रालिले संयुक्त रुपमा दिवा तथा रात्रिकालीन सेवा दिनका लागि गत शुक्रबारदेखि नारीदाङदेखि कैलालीको धनगढीसम्मका लागि यातायात सेवा शुरु गरेका हुन् । शैलेश्वरी यातायात प्रालिका अध्यक्ष गणेश मलासीले सडक पुगे पनि यातायात नपुगेको र नागरिकलाई यातायातको समस्या हुन थालेपछि आफूहरुले बससेवा सञ्चालन गरेको जनाउँदै सबैले सहयोग गरे बस सेवा निरन्तर सञ्चालन हुने बताउनुभयो । गाउँमा बससेवा सञ्चालन भएपछि नागरिकलाई अब दिपायल तथा सिलगढीसम्मको यात्रा कम्तीमा पनि एक घण्टाको हुने र सामग्री ल्याउन सहज हुने दिपायल सिलगढी–८ वडाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।