दमौली । तनहुँको भिमाद नगरपालिका–९ मोहोरियामा निर्माण भएका तीन योजना एकसाथ उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सरकार र वडा कार्यालयको लगानीमा बनाइएको घाङ्च ल्हुम (अग्लो ढुंगा) पक्षी एवं वनस्पति उद्यान, पर्यटन सूचना केन्द्र भवन र धन्दुर इको पदमार्ग एकसाथ बुधबार गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले उद्घाटन गरेका हुन् ।
गण्डकी प्रदेश सरकारको रु २० लाखको लागतमा अग्लो ढुंगासहितको उद्यान निर्माण गरिएको थियो । उद्यान निर्माणका लागि स्थानीयवासीले दश प्रतिशत बेहोेरेका छन् । ढुंगा सिँगारेर उद्यान बनाइएपछि आन्तरिक पर्यटकको चहलपहल शुरू भएको वडाध्यक्ष इमानबहादुर थापाले जानकारी दिए । सोही ठाउँमा २० लाखको लागतमा धन्दुर इको पदमार्ग निर्माण गरिएको छ । पदमार्गमा रेलिङसहितको चार सय मिटर सिँढी निर्माण गरिएको छ । चमेरो गुफाबाट मोहोरियाको घाङ्चल्हुम जोड्नलाई रेलिङसहितको सिँढी बनाइएको छ । प्रसिद्ध चारतले धन्धुर सिद्ध गुफासँगै रहेको चमेरो गुफादेखि मोहोरियासम्म निर्माण गरिएको पदमार्गले सर्वसाधारणलाई सहज हुने उनले बताए । निकट भविष्यमा सिद्धगुफा, चमेरेगुफा, मोहोरियाका घाङचलुह्म, पाइमीको भ्युटावर, इलुङ झरना हुँदै पाथर्दी सामुदायिक होमस्टेलाई जोडेर फूलको बगानसहितको पदमार्ग बनाउने योजना रहेको वडाध्यक्ष थापाको भनाइ थियो । रासस