काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पा आज प्रहरी कार्यालयमा उपस्थित भएका छन् । जिल्ला अदालत काठमाडौंले आइतवार शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनी जिल्ला प्रहरी परिसर, काठमाडौंमा उपस्थित भएका हुन् ।
उक्त प्रकरणमा पक्राउ परेकाहरूले बयानका क्रममा पूर्वसभासद् शेर्पाको संलग्नता रहेको बताएपछि प्रहरीको आग्रहमा अदालतले आइतवार शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकारीले पूर्वसभासद शेर्पा प्रहरी कार्यालयमा उपस्थित भएको जानकारी दिए ।
यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डेलगायत १३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।