भैंसीपालनलाई अनुदान त दिइयो तर बजार भएन, कृषक मर्कामा

आफूहरुले गरेको भैंसीपालन व्यवसायवाट उत्पादित दूधले बजार नपाउँदा यहाँका कृषक चिन्तित भएका छन । उत्पादित दूधले बजार नपाउँदका यस व्यवशायमा लागेका युवा व्यवसायी निराश हुन थालेका छन् । भेरी नगरपालिका – २ राङ्सीका मक्कर नेपाली आफूले उत्पादन गरेको दूधले बजार नपाएको र यसको अन्य परिकार बनाउने सीप र ज्ञान नहुँदा यो व्यवशाय छोड्ने सोचाइमा पुगेको बताउनुहुन्छ । एक वर्ष अगाडि दुग्ध व्यवसाय प्रवर्धन कार्यक्रम अन्तरगत शुरु गरेको यस व्यवसायवाट उहाँको दैनिक २० लिटर उत्पादन हुने गरेको छ । तर सदरमुकाम खलंगा टाढा रहेको र नजिकका बजारमा खपत नहुँदा दूधबाट घिउ बनाउँदा निकै घाटा लाग्ने विकको गुनासो छ

सम्बन्धित सामग्री

तरकारीले बजार नपाउँदा कृषक मर्कामा

उत्पादन गरेको अर्गानिक तरकारीले बाजुरामा बजार नपाउँदा कृषक मर्कामा परेका छन् । कृषि ज्ञान केन्द्र बाजुराको पहल तथा अनुदान कार्यक्रमबाट तरकारी खेती गर्दै आएका किसानले उत्पादन गरेको तरकारीले जिल्लामा बजार नपाएपछि उनीहरु मर्कामा परेका हुन् ।

व्यावसायिक पशुपालनमा अग्रणी ‘ माछापुच्छ्रे गाउँपालिका’

असोज ३०, कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा व्यावसायिक पशुपालन फस्टाउँदै गएको छ । विगतमा निर्वाहमूखी कृषि गर्दै आएका कृषकहरुले अहिले पशुपालनलाई नै आम्दानीको मुख्य स्रोत बनाएर गाईभैँसी तथा बाख्रापाल्न शुरु गरेपछि व्यावसायिकता विकास भएको हो ।  गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा पहिलो स्थानमा छ । व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका कृषकले दूध बेचेरै राम्रो आम्दानी गर्दै आएका छन् । संघ, प्रदेश तथा स्थानीय सरकारले व्यावसायिक कृषकका लागि अनुदान सहयोगलगायतका कार्यक्रम ल्याएपछि कृषकहरु उत्पादनमार्फत् आयआर्जनमा प्रेरित भएका हुन् । गण्डकी प्रदेश सरकारले सहकारीबाट दूध विक्रीका आधारमा कृषकलाई प्रतिलिटर दुई रुपैयाँ पचास पैसा अनुदान दिँदै आएको छ । यसैगरी कृषि तथा पशु बीमा निःशुल्क गरिएको छ । संघ सरकारले बीमामा ७५ प्रतिशत अनुदान दिएकामा प्रदेश सरकारले २५ प्रतिशत थप गरेर निःशुल्क गरिएको छ ।  यसैगरी गाउँपालिकाले पनि यसअघि प्रतिलिटर २५ पैसा अनुदान दिएकामा यस वर्षदेखि वृद्धि गरेर ५० पैसा अनुदान दिने भएको गाउँपालिका पशु शाखा प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए । यसैगरी प्रदेश सरकारबाट ‘मोडल फार्म’, डेरी सुधार लगायतका कार्यक्रमबाट कृषकलाई दुई/तीन वर्षदेखि निरन्तर सहयोग प्राप्त हुँदै आएपछि कृषकमा उत्साह बढेको पाइन्छ ।   नौ ओटा वडा रहेको गाउँपालिकाबाट दैनिक १० हजार ५०० लिटर दूध विक्रीका लागि पोखरा बजारमा आउने गरेको तथ्यांक गाउँपालिकासँग छ । मध्यम र साना कृषकले सहकारी संस्थाबाट दूध विक्री गरेपनि ठूला कृषकहरुले आफैँ बजार खोज्ने गरेका छन् ।  गत आर्थिक वर्षमा विभिन्न पाँच सहकारी संस्थाबाट १८ लाख ३६ हजार ६३ लिटर दूध बिक्री भएको छ भने निजी फार्मबाट २० लाख आठ हजार ५०० लिटर बजारमा विक्री भएको बताइन्छ । पशु शाखा प्रमुख पौडेलले भने, ‘हाम्रो गाउँपालिका दूधको ‘हब’ बन्दै गएको छ । गाउँपालिकाको लाहाचोक र घाचोकमा पशुपालन व्यवसाय राम्रोसँग फस्टाएसँगै दूध बेचेर कृषकले राम्रो आयआर्जन गरेका छन् । अन्य वडामा समेत दैनिक उत्पादन बढिरहेको छ । सहकारीबाट दूध विक्री गर्ने कृषकहरु बढी छन्’ नौ ओटा वडा रहेको गाउँपालिकाको लाहाचोक, घाचोक र धितालबाट अन्य वडाबाट भन्दा बढी दूध उत्पादन हुने गर्दछ ।  लाहाचोकबाटमात्रै दैनिक पाँच हजार लिटर दूध विक्रीका लागि बजारमा आउने गरेको छ । वडा नं ३ को घाचोकबाट दैनिक तीन हजार ५०० लिटर र धितालबाट दैनिक एक हजार लिटर दूध बजारमा विक्री हुने गरेको बताइन्छ । रिभान, माछापुच्छ्रे र सार्दीखोलाबाट दैनिक ३०० लिटरका दरले दूध विक्री हुने गरेको तथ्यांक छ । त्यस्तै धम्पुस र ल्वाङघलेलबाट गरी दैनिक ५०० लिटर दूध विक्री हुने गरेको बताइन्छ । समग्रमा दूध विक्री गरेर गाउँपालिकामा कृषकले दैनिक रू. सात लाख ३५ हजार तथा मासिक रू. दुई करोड २० लाख हाराहारीमा आम्दानी गर्ने गरेको जानकारी दिइएको छ । सडक सुविधा, पशु आहाराका लागि घाँस तथा चरनक्षेत्र, नजिकको बजारलगायतका कारणबाट पशुपालनका लागि सहज वातावरण बनेपनि कृषकले उचित मुल्य पाउन नसकेको घाचोकका व्यावसायिक कृषक गोपाल पोखरेल बताउँछन् । उनले भने, ‘गाई भैँसी पाल्न हामीले सहज भएको छ तर उत्पादन लागत बढेको तथा दूधको मूल्य लामो समय बढ्न नसक्दा कृषक मर्कामा छन् । वर्षेनी मुल्य समायोजन हुने व्यवस्था भए सहज हुन्थ्यो ।’ लाहाचोकका युवा इमानबहादुर गुरुङले देशकै ठूलो भैँसीफार्म शुरु गरेपछि   गाउँपालिकामा व्यावसायिक पशुपालनमा शुरु भएको थियो । गुरुङको फार्ममा अहिले ३०० ओटा भैँसी छन् । विसं २०७३ मा उनी राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कारबाट समेत पुरस्कृत भएका थिए । व्यावसायिक कृषकलाई गाउँपालिकाले सहयोग गर्ने नीति लिएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा कृषि र पशुतर्फ रू. एक करोड पाँच लाख ७३ हजार ३७३ बजेट विनियोजन गरेको उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिए । रासस