कैलाली । कैलालीको जानकी गाउँपालिकाका पशुपालक किसान व्यवसाय बढाउन अनुदान पाएपछि उत्साहित भएका छन् । पशुपालनलाई व्यवसायका रूपमा अघि बढाउन प्रयास गरिरहेका किसान अनुदान सहयोग पाएपछि थप उत्साहित भएका हुन् ।
किसानलाई व्यवसायमा आत्मनिर्भर बनाउन पालिकाले अनुदान सहयोग गरेको हो ।
गाउँपालिकाको पशु सेवा शाखाले आर्थिक वर्ष ०७७/७८ मा किसानलाई मासु र दूध तथा अण्डामा आत्मनिर्भर बनाउन अनुदानका कार्यक्रम ल्याएको थियो । यसका साथै पशुपालनतर्फ क्षमता विकासका कार्यक्रम, नश्लसुधार कार्यक्रम र वितरणका कार्यक्रमसमेत सञ्चालन गरेकाले किसानलाई व्यवसायमा सहयोग पुगेको छ ।
पशुपालक किसान गाउँपालिकाबाट पाएको अनुदानले आफ्नो व्यवसायमा सहयोग पुगेको बताउँछन् । जानकी–१ धर्मापुरका ओमप्रकाश चौधरीले दुई वर्षदेखि व्यावसायिक रूपमा बाख्रापालन गरिरहेका छन् ।
व्यावसाययिक फार्म दर्ता गरी व्यवसाय सुरु गरेका चौधरीले बाख्रा र हाँस पालेका छन् । सात वटा बाख्राबाट व्यवसाय सुरु गरेका चौधरीसँग हाल २५ बाख्रा र २५ हाँस पुगेका छन् ।
उनले गाउँपालिकाको पशुसेवा शाखाबाट विभिन्न किसिमका अनुदान सहयोग पाएका छन् । ‘बाख्रालाई औषधोपचार, घाँसको बीउ, उन्नत जातको बोयर बोका, घाँस काट्ने मेसिन सहयोग पाएँ, जसले मलाई निकै उत्साहित बनाएको छ’, ओमप्रकाशले भने, ‘व्यवसायमा सहयोग पुगेको छ । मजस्तो सानो व्यवसाय गर्ने मानिसको उन्नत जातको बोका किन्ने, घाँस काट्ने र दाना बनाउने मेसिन किन्ने क्षमता छैन । पालिकाले अनुदानमा दिएर व्यवसायमा निरन्तरता दिन हौसला मिलेको छ ।’
जानकी–९ मूर्तियाका प्रकाश विकले पनि तीन वर्षदेखि बाख्रापालन गरिरहनुभएको छ । तीन वर्षअघि पे्रम अमृता बाख्रापालन फार्म दर्ता गरी १७ वटा बाख्राबाट व्यवसाय सुरु गरेका विकसँग हाल ५६ बाख्रा छन् । तीमध्ये उनीसँग २८ वटा उन्नत जातका बाख्रा छन् भने ३२ वटा स्थानीय जातका बाख्रा छन् । व्यावसायिक रूपमा बाख्रापालन गरिरहेका विकले पनि गाउँपालिकाबाट दाना बनाउने र घाँस काट्ने मेसिन, बाख्राको औषधि, घाँसको बिउ, पशु प्राविधिको निःशुल्क सहयोग पाइरहेका छन् । ‘गाउँपालिकाबाट जुन सहयोग र अनुदान पाएको छु, यसले मलाई थप व्यवस्थापन गर्न सहयोग र हौसला मिलेको छ’, उनले भने, ‘अझै बाख्राका लागि दाना बनाउने र घाँस काट्ने मेसिन पनि पाएँ । अब व्यवस्थापनमा समेत सजिलो हुने भएको छ । रासस