आन्तरिक पर्यटनमा आशा जगाउँदै पूर्वी नेपालमा पोखराको प्रवद्र्धन सम्पन्न

गण्डकी, २० कात्तिक । होटेल सङ्घ पोखराको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा पूर्वी नेपालका प्रमुख सहरमा गरिएको ‘जाउँ है पोखरा’ अभियान आन्तरिक पर्यटनको वृद्धिमा जोड दिँदै सकिएको छ । यही कात्तिक १६ गतेदेखि सुरु गरिएको पाँच दिने अभियानमा पूर्वी नेपालका बर्दिबास, जनकपुर, विराटनगर, इटहरी, बिर्तामोड, धनकुटा, चितवनलगायतका प्रमुख सहर समेटिएको थियो । सूर्योदयको स्थल भनेर […]

सम्बन्धित सामग्री

दशैँयता सौराहा भरिभराउ

नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको चितवनको सौराहा केही दिन अगाडिदेखि भरिभराउ हुन थालेको छ । कोरोना सङ्क्रमणमा आएको कमीसँगै नेपालीका ठूला चाड दशैँ तिहार र लगत्तै विभिन्न कार्यक्रमका कारण सौराहा भरिभराउ हुन थालेको हो । अझ पछिल्ला दिनमा नेकपा एमालेको महाधिवेशनका कारण सौराहाको रौनक नै फेरिएको छ । यहाँको नदी किनारका पपहरू रातभर जाग्राम हुने गरेका छन् । सौराहाका सडक दिन र रात उस्तै भरिभराउ छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरेका अनुसार दशैँ लागेदेखि नै सौराहामा पर्यटकको आगमन पनि सुरु भए पनि अझै विदेशी पर्यटक भने शून्य रहेकोे छ । स्वदेशी पर्यटक आउने क्रम अझै जारी रहेका बेला नेकपा एमालेको महाधिवेशनले सौहाराको पर्यटक सङ्ख्या उकालो त लागेको छ तर विदेशी पर्यटक नआएसम्म सौराहाको पर्यटनमा खासै उल्लेख्य सुधार हुन्छ भन्न नसकिने उहाँले स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “आन्तरिक पर्यटनले सौराहाको पर्यटनलाई बितेको दुई वर्षभन्दा सहज त होला तर दीर्घकालीन रूपमा विदेशी पर्यटकविहीन सौराहाले यहाँको पर्यटन व्यवसाय जेजस्तो विकास र प्रवद्र्धन हुनुपर्दथ्यो, त्यो हुनसक्ने अवस्था म देख्दिनँ । त्यसले यहाँको व्यवसायलाई जेनतेन धान्ला तर जुन किसिमको आम्दानी राज्यलाई हुन्थ्यो त्यो भने हुँदैन।” सौराहाको होटल जङ्गल भिस्टा र होटल भिस्टाका सञ्चालक रमेश सिलवालका अनुसार बितेको दुई वर्ष कोरोनाका कारण व्यवसायमा मन्दी आएको थियो । मन्दीले गर्दा पैतृक सम्पत्ति बिक्री गरेर बैङ्कको किस्ता भुक्तानी गरेको बताउँदै उहाँले भन्नुभयो, “पर्यटक ठप्प थिए । बैङ्कको ब्याज र किस्ता, कर्मचारी अनि हात्तीको खर्च धान्नसमेत धौधौ थियो । दशैँपछि भने केही आशा पलाएको छ । अझ सौराहालाई नै केन्द्रित गरी विभिन्न कार्यक्रम आयोजना गरिँदा यहाँका सबै व्यवसायी उत्साहित छन् ।” पछिल्ला वर्षहरूमा फुर्सदको समय घुम्ने नेपालीको कल्चरजस्तै बनेको बताउँदै सिलवालले बितेको दुई वर्ष पूरै बन्द भएको तर दशैँदेखि पुरानो अवस्थामा फर्केको अनुभव उहाँको छ । “दशैँदेखि हात्तीको कमाइ पनि राम्रै भएको होटलका कोठाको बुकिङ पनि राम्रै रहेको छ,” उहाँले भन्नुभयो। युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष एवं होटल व्यवसायी ऋषि तिवारी पछिल्लो समयमा हात्तीको आम्दानी केही बढेको बताउनुभयो । उहाँका अनुसार बितेको दुई वर्षको अवधिमा हात्ती पाल्न नसक्ने अवस्थामा पुगेका हात्तीपालक यतिबेला भने राहतको महसुस गरेका छन् । कोरोनाका कारण थला परेको पर्यटन व्यवसाय यस पटकको दशैँ तिहार सञ्जीवनी बनेको थियो । दशैँ तिहारलगत्तै एमालेको महाधिवेशन सौराहालाई धेरै उत्साहित बनाएको उहाँले बताउनुभयो । बितेको दुई वर्षको अनुभव सुनाउँदै तिवारीले भन्नुभयो, “

आन्तरिक पर्यटककै भरथेग

सन् २०२० मा २० लाख पर्यटक ल्याउने तयारीका साथ ‘नेपाल भ्रमण वर्ष–२०२०’ मा जुटेको नेपालका लागि कोरोना भाइरस (कोभिड–१९) पर्यटन व्यवसायका लागि ठूलै समस्या बनेर आयो । कोरोना भाइरस संक्रमणका कारण बाह्य पर्यटक आगमन ठप्पप्रायः हुँदा पर्यटन क्षेत्र नराम्रोसँग पछाडि धकेलियो । नेपालमा पर्यटक आगमन ८० प्रतिशत र विदेशी मुद्रा आर्जनसमेत ७१ प्रतिशतले कमी आयो । पर्यटन क्षेत्र ‘बाउन्स ब्याक’ हुन सन् २०२५ सम्म पर्खनुपर्ने देखिन्छ । कोभिडविरुद्धको खोप, आन्तरिक पर्यटकको रुचि, छिटफुट रूपमा आएका विदेशी पर्यटक आशाका संकेत हुन् । हस्पिटालिटी क्षेत्र, एयरलाइन्स कम्पनीहरूले ल्याएका विशेष प्याकेज तथा छूटले नेपालमै भ्रमण संस्कृति स्थापित गर्दै छ भने प्रतिस्पर्धी पर्यटन बजारले आन्तरिक पर्यटकलाई सस्तो तथा सुलभमा सेवा दिएर यसलाई आकर्षित गर्दै छ ।  अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको पर्यटन क्षेत्रमा आर्थिक पुनरुत्थानमा सहयोगी हुने किसिमले सकारात्मक संकेतहरू देखिन थालेका छन् । कोभिडविरुद्धको खोप लगाए पनि कोरोना संक्रमण हुने त्रास कायमै रहेको छ । तैपनि कोरोना भाइरस विरुद्धको खोप उपलब्ध भएको, व्यवसायीले पनि खोप लगाइसकेको र अन्य मुलुकहरूमा पनि खोप लगाउनेको संख्या बढ्दो क्रममा रहेको हुँदा अबको पर्यटकीय सिजनमा विदेशी पर्यटक आउन सक्ने सम्भावना भने नकार्न सकिँदैन । नेपालमा पर्यटकहरू पर्वतारोहण, दृश्यावलोकन, साहसिक खेल आदिका लागि बढी आउने गर्छन् । यसमध्ये बिदामा घुमफिर गर्ने र धार्मिक पर्यटकले जोखिम लिन नचाहने भएकाले उनीहरू आउने सम्भावना कम हुन्छ । तर, साहसिक पर्यटनका लागि भने पर्यटक आउने गरेका छन् । यो सम्भावना अझ सहज देखिन्छ । सन् २०२१ को वसन्त सिजनमा पनि नेपालमा बन्दाबन्दी थियो । तर, पनि पर्वतारोहणका लागि विभिन्न देशबाट पर्यटक आएका थिए । सन् २०२० मा पर्वतारोहणका लागि आउने पर्यटकको संख्या शून्य थियो । पर्यटन विभागको तथ्यांकअनुसार कोभिडकै बीचमा यो वर्षको सिजनमा ४५९ जना पर्यटकले सगरमाथा आरोहण गरेका थिए । त्यसमध्ये सबैभन्दा धेरै नेदरल्याण्ड्सबाट २८३ जनाले सगरमाथाको आरोहण गरेका थिए । अमेरिकाबाट ३२ जनाले सगरमाथा आरोहण गरेका थिए । यस्तै छिमेकी देश चीनबाट २४ र भारतबाट २० जना पर्वतारोही आएका थिए ।  नेपालको पर्यटन क्षेत्रको ठूलो पूँजी पर्वतारोहण हो, जसले केन्द्रदेखि ग्रामीण क्षेत्रसम्म आर्थिक गतिविधिहरू हुन पाउँछ । बहराइनका राजकुमारहरू विमान चार्टर्ड नै गरेर नेपालको हिमाल आरोहण गर्न आउँदा पर्वतारोहणमा आशा देखियो । यसले नेपाल घुम्न आउने कि नआउने भनी ‘पर्ख र हेर’को अवस्थामा रहेका विदेशी पर्यटकका लागि सकारात्मक सन्देश दिएको छ । ‘नेपाल पर्यटन तथ्यांक–२०२०’ अनुसार नेपालमा सन् २०२० मा २ लाख ३० हजार ८५ जना मात्रै विदेशी पर्यटक नेपाल घुम्न आएको देखिन्छ । सन् २०१९ को तुलनामा यो ८० प्रतिशतले कमी हो । पर्यटन क्षेत्रबाट उक्त वर्ष रू. २५ अर्ब आर्जन भएको देखिन्छ । पर्यटकको औसत बसाइ भने विगत वर्षभन्दा बढेको देखिन्छ । औसतमा १२÷१३ दिनको बसाइ हुने पर्यटकको अवधि १५ दिन पुगेको छ भने प्रतिपर्यटक खर्च पनि बढेर दैनिक ६५ अमेरिकी डलर पुगेको छ ।  कोरोनाकालमा पर्यटकको खर्च र बसाइ बढेको छ भने पर्वतारोहणका लागि आउने पर्यटकको संख्यामा पनि सुधार देखिएको छ । यसले थलिएको पर्यटन क्षेत्र विस्तारै लयमा आउने आशा पलाउन थालेको छ । खोप र कोरोना संक्रमण दरमा केही कमी आउँदा खुकुलो बनाउँदै लगिएको निषेधाज्ञाले आन्तरिक पर्यटनमा पनि सुधार ल्याएको छ । काठमाडौं उपत्यका वरपरका र देशका विभिन्न पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको आगमन बाक्लो हुन थालेको छ ।  साप्ताहिक बिदामा काठमाडौं नजिकका नगरकोट, धुलिखेलदेखि चितवनको सौरहा, कास्कीको पोखरा जस्ता प्रसिद्ध गन्तव्यहरू आन्तरिक पर्यटकले भरिन थालेका छन् । पाँचतारे होटेल, रेस्टुराँ सञ्चालन गरेर भए पनि व्यवसायी सञ्चालन खर्च जुटाउन लागिपरेका छन् । नेपालीको पहुँच पनि तारे होटेलसम्म पुग्न थालेको छ । आर्थिक वृद्धिमा उल्लेख्य योगदान दिने पर्यटन क्षेत्र प्रभावित हुँदा विदेशी मुद्रा आर्जनमा समेत कमी आएको छ । विदेश भ्रमणमा  जाने नेपालीहरू पनि अहिले यहीँका पर्यटकीय गन्तव्यका राम्रो स्रोत भएका छन् । पहिलो आफ्नै देश घुम्नुपर्छ भन्ने मान्यता विस्तारै स्थापित हुँदै आएको छ । खासगरी आन्तरिक पर्यटकले पर्यटनलाई ठूलो भरथेग गरेको छ । बिदा हुनासाथ विदेशका पर्यटकीय क्षेत्रहरू रोज्ने र रोजाइमा पर्ने ग्राहकहरू माउन्टेन भ्यू तथा अन्य गन्तव्य खोजेर जान थालेका छन् । आन्तरिक भ्रमणको संस्कृति स्थापित गर्न निजीक्षेत्रका वायुसेवा कम्पनी तथा हेलिकोप्टर कम्पनीका साथै पर्र्यटकीय गन्तव्य मानिने क्षेत्रका होटेलले आकर्षक प्याकेज ल्याएर थप मलजल गरे ।  काठमाडौंमा रहेका पाँचतारे होटेलदेखि उपत्यका वरपर रहेका होटेल तथा रिसोर्टहरूले पनि विभिन्न छूट दिँदै आन्तरिक पर्यटकलाई आकर्षित गर्ने प्रयास जारी राखेका छन् । तैपनि सन् २०१९ कै अवस्थामा आउन नेपाललाई समय लाग्न सक्छ । विदेशी पर्यटकमाथि आश्रित रहेको पर्यटन क्षेत्र उनीहरूको कम उपस्थितिले अहिले शिथिल छ । कोरोना कहर नै चुनौती बन्दै आएका बेला पर्यटन क्षेत्र पुनः लयमा फर्काउन धैर्य र नेपालमै भएका आन्तरिक पर्यटकलाई घुम्नलाई प्रेरित गर्नुको विकल्प छैन । सरकारले चालू आर्थिक वर्ष २०७८÷७९ को बजेटमा ल्याएको कार्यक्रम कार्यान्वयन गर्न सके निजामती, संस्थान तथा सार्वजनिक निकायको ठूलो हिस्सा आन्तरिक पर्यटकको रूपमा देशभर घुम्न सक्छन् । सरकारले बजेट वक्तव्यमा ‘आन्तरिक पर्यटन प्रवद्र्धन गर्न निजामती, सार्वजनिक संस्थान, प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलब्ध गराउने घोषणा गरेको छ । निजीक्षेत्रमा कार्यरत कर्मचारीलाई समेत सोही अनुसारको सुविधा प्रदान गर्न प्रेरित गर्ने कार्यक्रम छ । सरकारले घोषणा गरेका यस्ता कार्यक्रम छिटो कार्यान्वयनमा ल्याउन सके मात्रै पनि आर्थिक गतिविधि चलायमान बनाउन सकिने आधार तय हुन्छन् । तर, कागजमा मात्रै उल्लेख गरेर न त पर्यटकीय गतिविधि बढ्छन् न त, आर्थिक पुनरुत्थानमा पर्यटनले योगदान दिन सक्छ । त्यसैले सरकारले नै घोषणा गरेका कार्यक्रमहरू समयमै कार्यान्वयनमा ल्याई लय समात्न थालेको पर्यटन क्षेत्रलाई ऊर्जा दिन जरुरी छ ।