चिनियाँ राष्ट्रपति सी जिनपिङ चीनको राष्ट्रपतिमा तेस्रो कार्यकालका लागि अनुमोदित भएका छन् । बेइजिङमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औँ महाधिवेशनले उनलाई चीनको राष्ट्रपतिमा तेस्रो कार्यकालका लागि अनुमोदन गरेको हो । बीबीसीका अनुसार महाधिवेशनले ११ जना महिलासहित २०५ सदस्यीय केन्द्रीय कमिटी पनि चयन गरेको छ । महाधिवेशनले पोलिटब्युरो र स्थायी समितिका सदस्यहरु प्रधानमन्त्री ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेनलाई भने बिदा गरेको छ । दोस्रो वरियताका प्रधानमन्त्री ली र जन कांग्रेसका अध्यक्ष समेत रहेका तेस्रो वरियताका नेता चान्सुलाई महाधिवेशनले बिदा गरेको हो । महाधिवेशनले ५ वर्षअघि पार्टीले अपनाएको सी विचारधारालाई अझै सशक्त बनाउने र चिनियाँ विशेषता अनुसारको चिनियाँ समाजवाद सम्बन्धी सी विचारधारालाई पार्टीको विचारको रूपमा अघि बढाउने प्रस्ताव पारित गरेको चिनियाँ सञ्चार माध्ययमहरुले जनाएका छन् ।