फागुनमा मात्रै ९९ हजार ८३९ नेपाली श्रमस्वीकृति लिएर विदेशिएका छन् । यो भनेको दैनिक औसत ३ हजार ३२७ नेपाली रोजगारीका लागि विदेश पसेको तथ्यांक हो । अध्ययनका लागि विदेशिने विद्यार्थीको संख्या पनि यसैगरी अचाक्ली बढेको छ । तर, नेपालीहरू वैदेशिक रोजगारीमा गइरहेको विषयको आर्थिक पक्षबारे प्रशस्त परिचर्चा हुने गरे पनि त्यसको कूटनीतिक अर्थ र समस्याबारे खासै चर्चा हुने गरेको पाइँदैन ।
देश समृद्ध बन्न युवाशक्तिलाई स्वदेशमा रोजगारी दिनुपर्छ । त्यति हुन नसकेको बेला सरकारले विभिन्न मुलुकबाट वैदेशिक लगानी भित्र्याएर स्वदेशमा उद्योग, कारखाना स्थापना गरी रोजगारी सृजना गर्नुपर्ने हो । तर, नेपालमा यी दुईओटै काम हुन नसकेपछि श्रम गर्ने उमेरका युवायुवती वैदेशिक रोजगारीमा जान बाध्य छन् । त्यसैले तत्काल रोजगारीका लागि विदेश जानेलाई रोक्नसक्ने अवस्था देखिँदैन । तर, पछिल्लो तथ्यांक हेर्दा वैदेशिक रोजगारीबाट अनेक समस्या देखिन सक्ने जोखिम देखिएको छ । पहिलो, विप्रेषण अर्थतन्त्रको दीर्घकालीन हितमा नहुने र दोस्रो, श्रम निर्यातका कारण विभिन्न मुलुकसँगको कूटनीतिक सम्बन्ध बिग्रनु हुँदैन । उदाहरणका लागि श्रमस्वीकृति लिने अधिकांश युवायुवती खाडी मुलुक र मलेशिया जाने गरेका छन् । यसले नेपाल र इजरायलको सम्बन्धमा चिसोपना आउन सक्छ । किनकि ठूलो संख्याका युवायुवती खाडी मुलुक र मलेसिया जाँदा नेपाल पनि बिस्तारै तिनै मुलुकतिर ढल्कन सक्छ । खाडी मुलुक र इजरायलको सम्बन्ध राम्रो छैन । नेपाल इजरायलको निकै पुरानो र विश्वासिलो मित्र हो । जतिबेला इजरायल राज्य स्थापना भयो त्यति बेला नेपालले तुरुन्तै यसलाई मान्यता दिएको थियो जसको गुन अहिले पनि इजरायलले सम्झने गरेको छ । त्यसैले सरकारले सीमित मुलुकमा श्रमिक पठाउने वा जाने प्रचलनमा सुधार गरी सबैतिर जानसक्ने नीति लिन आवश्यक छ । नेपालले असंलग्न परराष्ट्र नीति लिएको छ । त्यसैले सबै मुलुकसँग समदूरी र समनिकटताको सम्बन्ध अपेक्षित हुन्छ । सबैसँग समान सम्बन्ध राख्नुपर्ने भए पनि श्रम निर्यातका विविध पक्षमा ध्यान जान सकेको देखिँदैन । सबै मुलुकसँग समान सम्बन्ध कायम गर्दा कूटनीति मात्र राम्रो हुने होइन, नेपालले राम्रा गन्तव्यमा पनि श्रमिक पठाउने अवसर पाउँछ ।