नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मिति २०७६।१२।१९ गते कोरोना भाइरससम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवथापन मापदण्ड, २०७६ साथै कोभिड–१९ का कारण प्रभावित क्षेत्रहरूका लागि राहत सुविधा प्रदान गर्ने कार्ययोजना, २०७६ सबै प्रदेश तथा स्थानीय तहहरूमा तत्कालै लागू हुने गरी कार्यान्वयनमा ल्याएको छ । यो मापदण्ड र कार्ययोजनाका आधारमा राहत वितरणको व्यवस्था मिलाउने भनिएको छ । राहत प्याकेजमा ३० किलो चामल, ३ किलो दाल, २ प्याकेट नुन, २ लिटर खाने तेल, ४ वटा साबुन, २ किलो चिनीको प्याकेज बनाएर वितरण गर्नुपर्ने उल्लेख छ । राहत वितरणका लागि सम्बन्धित वडा समितिले राहत सामग्री खरिद गरी वितरण गर्ने भनिएको छ । साथै राहत वितरणमा एकद्वार प्रणाली अपनाउने भनिएको छ ।