मीरगञ्ज पुलबाट मालवाहक गाडी आवतजावतको अनुमति : ११६ किलोमिटर घुम्नुपर्ने बाध्यता अन्त्य

विराटनगर । भारतीय भन्सार विभागले मीरगञ्जको प्रमाणा नदीमाथिको पुलबाट तेस्रो मुलुकका मालवस्तु बोक्ने गाडी आवतजावतका लागि समेत स्वीकृति दिएको छ । विभागले उक्त पुलबाट अब भारतसहित तेस्रो मुलुकका सामान ल्याउने गाडी आवतजावत गर्न सक्ने सूचना जारी गरेको हो । उक्त स्वीकृतिपछि भारतको भीमनगर र नेपालको भण्टाबारी नाकाबाट हुँदै आएको तेस्रो मुलुकसँगको निकासी पैठारी पुन: जोगबनी नाकाबाटै हुन थालेको छ । भारतको कमिशनर अफ कस्टम, पटनाका अधिकारी प्रदीप कुमारले सूचना जारी गर्दै मीरगञ्ज पुल तेस्रो मुलुकबाट आएका सामान बोकेका गाडीका लागि पनि खुलेको जानकारी गराएका हुन् । यसअघि २०२२ जनवरी ११ मा उनले मीरगञ्ज पुल भासिएको भन्दै सम्पूर्ण कार्गाेको आवतजावत भीमनगर नाकाबाट सुचारु गरिएको सूचना जारी गरेका थिए । जोगबनी नाकाबाट आयात निर्यात बन्द हुँदा सीमाबाट ४ किलोमिटर दक्षिणसम्म आएका मालवाहक गाडी ११६ किलोमिटर घुमेर विराटनगर भन्सार आउने गरेका थिए । चार लेन सडकसहित मीरगञ्जको प्रमाणा नदीमाथि पक्की पुल बनेपछि भारतीय पक्षले गत शुक्रवार सो पुलबाट आवतजावत तथा मालसामान ओसारपासर गर्न सकिने औपचारिक जानकारी गराएको हो । मोरङ व्यापार संघको पहलमा दुवै देशका नेता तथा अधिकारीलाई पुल सञ्चालन गर्न दिइएको दबाबका कारण दुई महीनाअघि उक्त पुल अनौपचारिक रूपमा सञ्चालनमा आएको थियो । पछिल्लो अनुमतिले भारत र तेस्रो मुलुकबाट आउने कच्चापदार्थ लगायत सामग्री बोकेका मालवाहक गाडी अब भन्टाबारी नाका हुँदै आउनुपर्ने बाध्यताको अन्त्य भएको छ । यसअघि भारतको जोगबनीस्थित ल्याण्ड कष्टम र विराटनगर एकीकृत भन्सार जाँचचौकी (आईसीपी)बीच समन्वय हुन नसक्दा तेस्रो मुलुकका मालसामान बोकेका गाडी आंशिक रूपमा मात्र आउने गरेका थिए । मोरङ व्यापार संघको अगुवाइमा भारतलाई पटक पटक अनुरोध गरिएपछि २ महीनादेखि पुल सञ्चालनमा आएको थियो । सञ्चालनमा आए पनि उक्त पुलबाट भारत र नेपालका लागि मात्र कार्गाे आउने जाने गर्दथे । तेस्रो मुलुकबाट आउने सामान बोकेका गाडी सुनसरीको भण्टाबारी नाका हुँदै आउनुपथ्र्यो । मीरगञ्ज पुल जोगबनी नाकाबाट ४ किलोमिटर टाढा पर्छ । पुल पूर्णरूपमा सञ्चालनमा आएपछि अहिले दैनिक २०० ओटासम्म मालवाहक सवारीसाधन विराटनगरको आईसीपीमा आइरहेको विराटनगर भन्सार कार्यालयले बताएको छ । एउटा मालवाहक सवारीसाधन भीमनगर हुँदै ११६ किलोमिटर घुमेर आउँदा १६ हजार रुपैयाँ अतिरिक्त भाडा तिर्नुपरिरहेको थियो, जसकारण व्यवसायीले एक वर्षमा ११ करोड ५२ लाख रुपैयाँबराबरको अतिरिक्त ढुवानी भाडा तिरेका छन् । यस्तै जोगबनी नाकाबाट आयात निर्यात बन्द हुँदा विराटनगर आईसीपीको कारोबार १ वर्षमा २२ अर्ब ५० करोड रुपैयाँले घटेको थियो । मोरङ व्यापार संघमा निर्वाचित भएपछि आफूले मीरगञ्ज पुल सञ्चालन गराएरै छाड्ने प्रतिबद्धता अध्यक्ष नविन रिजालले गरेका थिए । भारतीय पक्षबाट समेत उक्त पुल प्रयोगको औपचारिक अनुमति आएपछि उत्साहित देखिएका उनले भने, ‘यो सबैको अथक प्रयासको परिणाम हो ।’

सम्बन्धित सामग्री

मीरगञ्ज पुल पूर्ण सञ्चालन : विराटनगर भन्सारको राजस्व संकलन बढ्यो

विराटनगर । जोगबनी नाकाबाट ४ किलोमिटर दक्षिणमा रहेको मीरगञ्ज पुल पूर्ण रूपमा सञ्चालन भएपछि विराटनगर भन्सार कार्यालयको दैनिक राजस्व संकलन बढेको छ । पुरानो बेलीब्रिज भासिएको १३ महीनापछि भारतीय राष्ट्रिय राजमार्ग जोड्ने ६ लेनको सडकसहित मोटरेबल पुल बनेपछि अहिले दैनिक २०० को संख्यामा मालवाहक गाडी विराटनगरस्थित एकीकृत भन्सार जाँचचौकी (आईसीपी)मा प्रवेश गर्न थालेका छन् । पुल सञ्चालन हुनुअघि मालवाहक गाडी ११६ किलोमिटर घुमेर सुनसरीको भण्टाबारी नाका हुँदै पुन: विराटनगरस्थित आईसीपीमा भन्सार जाँचपासका लागि आउने गरेका थिए । सम्बन्धित उद्योग तथा व्यापारिक फर्ममा माल अनलोड गरेर फेरि भण्टाबारी नाकाबाटै फर्कनुपर्ने बाध्यता थियो । भण्टाबारी नाका प्रयोग हुँदा दैनिक १२० ओटा मात्रै मालवाहक गाडी विराटनगर भन्सारमा जाँचपासका लागि पुग्ने गरेका थिए । मीरगञ्जको पुल भासिएपछि घुमाउरो बाटो आउँदा विराटनगर भन्सार कार्यालयको राजस्व संकलन प्रभावित बनेको थियो । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्र ढकालले पहिले दैनिक ५ करोडदेखि ७ करोड रुपैयाँसम्म राजस्व संकलन भएकोमा अहिले मीरगञ्जको पुल सञ्चालन भएपछि दैनिक १० करोडदेखि १२ करोड रुपैयाँसम्म राजस्व संकलन भइरहेको बताए । घुमाउरो बाटोबाट आउँदा मालवाहक गाडीको संख्या कम भए पनि अहिले पुन: बढ्न थालेको उनको भनाइ छ । ट्रान्स नेपालका विराटनगर प्रमुख लक्ष्मी सुब्बाले पनि मीरगञ्ज पुल सञ्चालनमा आएपछि विराटनगर नाका भएर आउने मालवाहक गाडीको संख्या बढेको बताए । पहिले घुमेर भण्टाबारी नाकाबाट आउनेभन्दा अहिले सोझै आउने मालवाहक गाडीको संख्या बढेको जानकारी उनले दिए । मीरगञ्जको पुल भासिएको कारण देखाउँदै सन् २०२२ जनवरी ११ देखि भारतीय भन्सार विभागले जोगबनी नाकाको सट्टा ११६ किलोमिटर पश्चिममा रहेको सुपौल जिल्लाको भीमनगर नाकाबाट नेपाल प्रवेशका लागि अनुमति दिएको थियो । सोहीअनुसार नेपालको भन्सार विभागले पनि भण्टाबारी नाकाबाट आयात निर्यातको अनुमति दिएको थियो । भारत सरकारले ११ महीनापछि अनौपचारिक रूपमा र त्यसको २ महीनापछि औपचारिक रूपमा पुल सञ्चालनको अनुमति दिएपछि भारतसहित तेस्रो मुलुकसँगको व्यापार सहज बनेको हो । यसअघि एउटा मालवाहक गाडी भीमनगर हुँदै ११६ किलोमिटर घुमेर आउँदा १६ हजार रुपैयाँ अतिरिक्त भाडा तिर्नुपरिरहेको थियो । मीरगञ्ज पुल भासिँदा विराटनगर भन्सारबाट हुने कारोबार एक वर्षमा २२ अर्ब ५० करोड रुपैयाँ घटेको थियो ।

मीरगञ्जको पुलबाट आवतजावत गर्न भारतले दियो अनुमति

विराटनगर : मीरगञ्जको परमान नदीमाथि पक्की मोटरेबल पुल बनेपछि भारतले पुलबाट आवतजावत गर्न अनुमति दिएको छ। विराटनगर–चार लेन सडक सहित मीरगञ्जको परमान नदीमाथि पक्की मोटरेबल पुल बनेपछि एक वर्षपछि आधिकारिक रूपमा शुक्रबार सूचना जारी गर्दै पुलबाट आवतजावत गर्न सकिने भारतले अनुमति दिएको हो। पुलमा आवतजावतका लागि दिइएको अनुमतिले भारत लगायत तेस्रो मुलुकबाट आउने कच्चा पदार्थ लगायतको सामग्री बोकेका मालवाहक गाडी ११६ किलोमिटर सुनसरीको भण्टाबारी नाकाबाट घुमेर आउनुपर्ने झन्झटबाट मुक्त भएको छ। दुवै देशका नेता तथा अध...

भण्टाबारी नाका खुला, भारतीय नाकाको टुंगो लागेन

विराटनगर । विराटनगर भन्सार कार्यालयबाट चार किलोमिटर दक्षिण पश्चिम भारतमा रहेको मिरगञ्जको बेलिब्रिज भासिएपछि भारत लगायत तेस्रो मुलुकबाट मालसामान लिएर नेपालतर्फ आएका ट्रक तथा कन्टेनर चार दिनदेखि रोकिएका छन् । कतिपय सड्ने सामान बोकेका कन्टेनर र ट्रकहरू नाका रिरूट नगरिँदा समस्यामा परेका छन् । नेपालको भन्सार विभागले भारतीय पक्षबाट स्वीकृति आएमा तत्कालका लागि सुनसरीको भण्टाबारी नाका प्रयोगको अनुमति दिएको छ । तर भारतको कष्टम विभाग र डीएम कार्यालयले यसबारे माथिल्लो निकायमा पत्र लेखे पनि त्यसको जवाफ नआएकाले कुन नाका प्रयोग गर्न दिने भन्ने अन्योलले नेपाल–भारत निकासी तथा पैठारी रोकिएको छ । विराटनगर भन्सार कार्यालय प्रमुख ताराप्रसाद सापकोटाका अनुसार भण्टाबारी नाका हुँदै विराटनगरको आईसीपीसम्म आइपुग्न झन्डै ११६ किलोमिटर पर्छ । सोहीकारण अररिया कुर्सियाकट्टा हुँदै जोगबनीसम्म आउने १२ किलोमिटर दूरी भएको रूट भारत सरकारले अनुमति दिँदा राहत हुने देखिन्छ । तर त्यसबारे निर्णय नआएकाले अहिले कुन रूट हुँदै कुन नेपाली नाकाबाट नेपालमा मालवाहक गाडी प्रवेश गर्छन् भन्ने यकिन भइनसकेको सापकोटाले बताए । भन्सार विभागले भारतले स्वीकृति दिएमा भण्टाबारी नाका प्रयोगको अनुमति दिए पनि भारतीय पक्षबाट कुनै प्रगति नभएकाले मंगलवार भारतीय र नेपाली अधिकारीको संयुक्त बैठक बसेर भए पनि एउटा नाकाबाट मालवाहकले निकासी र पैठारी गर्न सक्नेगरी सहमति जुटाउन प्रयास गरिने सापकोटाले जानकारी दिए । भन्सार अधिकृत अमित तिवारीका अनुसार विराटनगर भन्सारको दैनिक राजस्व संकलनको लक्ष्य १४ करोड ५० लाख भए पनि अहिले दैनिक २ करोडमा सीमित हुन पुगेको छ । भारतको मिरगञ्जमा रहेको फलामको पुल भासिएपछि जोगबनी नाकासम्म आउने अन्य स्तरीय बाटो नभएको कारण तत्काललाई समस्या देखिएको छ । यद्यपि फलामको पुल भन्दा एक किलोमिटर उत्तरतर्फ मोटरेबल पक्की पुल बनिसकेकाले त्यो दुई महीनाभित्र चालू भएपछि जोगबनी नाका आउजाउ गर्ने मालवाहकको समस्या स्थायी रूपमा समाधान हुनेछ । विराटनगर नाकाबाट दैनिक तीन सय मालवाहक गाडी आवतजावत गर्छन् । मोरङ व्यापार संघले बुझायो परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र यसैबीच, सोमवार मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजाल र पूर्वअध्यक्ष महेश जाजूले परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटेर जोगबनी नाकाबाट भइरहेको निकासी पैठारी तत्काल सुचारु गर्न ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा भारत सहित तेस्रो मुलुकबाट नेपाल भित्रने मालवाहक साधनका लागि हाल भारतको भीमनगर–भन्टाबारी भन्सार नाका सहित अररिया जिल्लाको अररिया– कुर्साकाँटा–जोगबनी वैकल्पिक मार्गको रूपमा सञ्चालनमा ल्याउन पहलल गर्नुपर्ने, मिरगञ्ज पुल तत्कालै मर्मत गर्नुपर्ने, सो पुल नजिक निर्माणाधीन नयाँ पुल यथाशीघ्र सम्पन्न गराउनुपर्ने लगायत माग  छन् । परराष्ट्रमन्त्री खड्काले जोगबनी नाकाबाट हुने निकासी पैठारी पूर्ववत् सञ्चालनका लागि आफूले भारत सरकारसँग कुरा राख्ने आश्वासन दिएका छन् ।