६ वर्षपछि उभियो धरहरा

काठमाडौं (अस) । २०७२ वैशाख १२ मा गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको भुइँचालोले ढलेको काठमाडौंको धरहरामा त्यसैको प्रतिरूप ६ वर्षपछि उभिएको छ । शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गर्नुभएको हो । चीनको जीआईईटीसी र नेपालको रमन कन्ट्रक्सनले रू. ३ अर्ब ४८ करोड लागतमा धरहरा स्तम्भ निर्माण गरेका हुन् । पुरानो कर्मचारी सञ्चय कोषको मूल भवन र टक्सार भवन रहेको स्थानसमेत समेटेर ४२ रोपनीमा लिफ्टसहितको नयाँ धरहरा बनेको छ । धरहरा बनाउँदा नेपाली निर्माण सामग्री सिमेन्ट र छडहरू प्रयोग गरिएको छ । यसमा सर्वाेत्तम सिमेन्टलगायतका कम्पनीको सामग्री प्रयोग भएको छ । यहाँ संग्रहालय र पार्किङ सुविधासमेत समेटिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ । ढलेको धरहराको ठुटोलाई स्मारकका रूपमा राखिएको छ । सम्पदाविद्हरूले यसलाई पुनर्निर्माण नभई नयाँ धरहरा भएको बताएका छन् । तर, सरकारले भने पुनर्निर्माण भएको बताउँदै आएको छ । धरहराको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक महत्त्वको संरचना पुनर्निर्माण हुनु गौरवको विषय भएको बताउनुभयो । उद्घाटन समारोहमा बोल्दै उहाँले भन्नुभयो, ‘२०७२ फागुन ४ गते म बनाउँछु धरहरा अभियान चलाएको थिएँ, आज यो बन्दा सबैलाई खुशी लागेको छ ।’ प्रधानमन्त्री ओलीले धरहरालाई पेरिसको इफेल टावरसँग दाँज्दै धरहरा काठमाडौं र नेपालको परिचयका रूपमा विश्वमा चिनिने दाबी गर्नुुभयो । उहाँले उक्त कार्यक्रममा धरहरा भत्किँदा मृत्यु भएका ६० परिवारबाट एक/एक सदस्यलाई धरहरामा रोजगारी दिने बताउनुभयो । उहाँले काठमाडौंलाई भिखारीमुक्त शहर बनाउनेसमेत दोहोर्‍याउनुभयो । दोस्रोपटक प्रधानमन्त्री हुनुभएका ओलीले विभिन्न समयमा काठमाडौंलाई भिखारीमुक्त शहर बनाउने बताउँदै आउनुभएको छ । हाल धरहराको स्तम्भ मात्र तयार भएकोमा धरहरा क्षेत्रमा बनाउने भनिएको पार्क, संग्रहालय र बगैंचालगायतको संरचना भने पुसयता तयार नहुने प्राधिकरणले बताएको छ । प्राधिकरणका सूचना अधिकारी मनोहर अधिकारीले पुससम्ममा धरहरा क्षेत्रको सबै संरचना बनिसक्ने जानकारी दिए । उनका अनुसार यो पूर्णरूपमा तयार भइनसकेकाले सर्वसाधारणले तत्काल अवलोकन गर्न पाउने छैनन् । भुइँचालोले भत्काएको अढाइ वर्षपछि २०७४ कात्तिक अन्तिम साताको मन्त्रिपरिषद् बैठकले धरहरा पुनर्निर्माणको काम राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेको थियो । पुरानै प्रविधिमा धरहरा बनाउने वा ठुटो बाँकी राखेर नयाँ बनाउने भन्नेमा विवाद भए पनि प्राधिकरणले नयाँ धरहरा बनाउन ठेक्का दिएको थियो । २०७५ असोजमा २ वर्षको समायावधिसहित रमन कन्स्ट्रक्शनलाई धरहरा पुनर्निर्माणको ठेक्का दिएको थियो । रमनले कोरोनाका कारण २०७६ चैतदेखि भएको बन्दाबन्दीका कारण काम गर्न नपाएको भन्दै ६ महीना थप समय माग गरेको थियो । थपिएको समयमा धरहराको स्तम्भ बनेपछि अन्य काम बाँकी रहँदै धरहराको उद्घाटन गरिएको हो । उद्घाटनकै लागि चैत अन्तिम सातायता सामान्यभन्दा बढी मजदूर खटाएर शुक्रवार रातिसम्म स्तम्भको काम गरिएको हो । धरहरा बनाउँदा नेपाली निर्माण सामग्री सिमेन्ट र छडहरू प्रयोग गरिएको छ । नेपाली निर्माण सामग्री प्रयोग गरी धरहराको पुनर्निर्माण गरिएकाले गौरवको आयोजनासहित यो नेपाली निर्माण व्यवसाय क्षेत्रका लागि पनि गरिमा भएको सर्वोत्तम सिमेन्टका प्रोजेक्ट हेड अभिषेक झाले बताए । उनले भने ‘यसले नेपाली निर्माण सामग्रीप्रति आम नागरिकमा भरोसा बढाउनुका साथै आगामी दिनमा अन्य परियोजनाका लागि पनि नेपाली निर्माण सामग्री पहिलो रोजाइका लागि वातावरण बनाएको छ ।’ विसं १८८१ मा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले लगनमा स्तम्भ बनाउन लगाएका थिए र यसको नाम भीमसेन स्तम्भ राखिएको थियो । विसं १८८२ मा महारानी ललिता त्रिपुरासुन्दरीको आग्रहमा थापाले सुन्धारामा ११ तलाको धरहरा बनाउन लगाएको इतिहास छ । विसं ११९० माघ २ को महाभूकम्पमा धरहरा भत्किएको थियो । त्यसपछि जुद्ध शमशेरको पालामा ९ तले धरहरा बनाइएको थियो ।   ६ वर्षअघिको भूकम्पले धरहरा पुनः भत्किएपछि अहिले बनाइएको धरहरा बाहिरबाट हेर्दा ११ ओटा तला देखिने गरी भित्रबाट कुल २२ तला रहेको छ । धरहरा नवनिर्माण नभई पुनर्निर्माण हो राजुमान मानन्धर, विज्ञ, प्राधिकरण धरहरा नव–निर्माण नभई पुनर्निर्माण हो । यसलाई अन्यथा लिनु हुँदैन । अहिले निर्माण भएको धरहरामा केही आधुनिक प्रविधि राखिएको र अपनाइएको भए पनि मौलिकता, धरहरा भएको स्थानमा बनाइएको मात्रै हो । अझ अर्काे कुरा नेपाल भूकम्पको उच्च जोखिममा भइरहेकाले यसलाई भूकम्पप्रतिरोधी, अपांगमैत्री, बुढाबुढीहरू पनि धरहरा चढ्न सकून् भनेर अहिले यसमा दुईओटा लिफ्ट मात्रै राखिएको छ । कालन्तरमा समयानुकूल संरचना विकास गरिएको मात्रै हो, यसको पहिचाहन मासिएको छैन । मौलिकतामा धेरै खलल नपुगोस् भनेर धरहराको झ्याल, रंग, गजुर पनि पुरानै प्रयोग गरिएको छ, यद्यपि त्यसमा केही सुन थपिएको भने छ ।

सम्बन्धित सामग्री

मिनी धरहरा

काठमाडौँ, १८फागुन ।सुर्खेतको वीरन्द्रनगर– ६ मा रहेको मिनी मार्केटमा बनाइएको मिनी धरहरा । पर्यटकलाई आकर्षित गर्नका लागि यो धरहरा निर्माण गरिएको हो। रासस

धरहरा र मान्छे

सरकारले,इन्जिनियरले,डकर्मीले, जसले बनाए पनि धरहरा, भन न मान्छेहरू,मनको धरहरा बनाउने कसले?

धरहरा र मान्छे

सरकारले,इन्जिनियरले,डकर्मीले, जसले बनाए पनि धरहरा, भन न मान्छेहरू,मनको धरहरा बनाउने कसले?

धरहरा पुनर्निर्माण रोकियो

ऐतिहासिक धरहरा पुनर्निर्माण रोकिएको छ । धरहरा पुनर्निर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूल धारो नष्ट हुने गरी डोजर चलाएको भन्दै काठमाडौं महानगरपालिका र स्थानीयले तत्कालका लागि धरहराको काम पनि रोकेका हुन्...

दशैंमा धरहरा चढ्न नपाइने

काठमाडौं । सर्वसाधारणले यस पटकको दशैंमा पनि धरहरा अवलोकन गर्न नपाउने भएका छन् । दशैंमा धरहरा खुला गर्ने भनी गत असारमा घोषणा गरिएको थियो । केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) का प्रमुख कोषनाथ अधिकारीले धरहरा निर्माणको अझै २० प्रतिशत काम बाँकी नै रहेकाले तत्काल सर्वसाधारणका लागि खुला नहुने जानकारी दिनुभयो । धरहरा वरिपरि […]

धरहरा निर्माणमा टेलिकम पाइपको अवरोध

निर्माणाधीन धरहरा परिसरमा नेपाल टेलिकमको १६ वटा अन्डरग्राउण्ड युटिलिटिज पाइपका कारणले धरहरा निर्माणको काम रोकिएको छ।...

कहिले ढल्छ पिसाको ढल्केको धरहरा ? यस्तो छ रोचक कथा

इटालीमा रहेको पिसाको ढल्केको धरहरा पर्यटनको केन्द्र हो । उक्त ढल्केको धरहरा हेर्नका लागि बर्सेनि लाखौं मानिस त्यहाँ पुग्दछन् । त्यो विचित्र धरहरा वास्तवमै रहस्यले भरिएको छ । सदियौंदेखि त्यो धरहरा त्यसरी नै ढल्केको छ । तर गुरुत्वबलको विज्ञान तथा सामान्य नियमलाई समेत चुनौती दिंदै यो धरहरा कहिलेसम्म यसरी नै ढल्किएर रहला ? यो धरहराको […]

सम्पदा नम्बर एक : मानिस कि धरहरा ?

‘हामीले साझा संकल्प गर्‍यौँ भने धूलो टकटक्याउँदै फेरि उठ्ने छ धरहरा ।’(११ जेठ २०७२, नयाँ पत्रिका )यो भनाइको अर्थ लाक्षणिक होला शायद । भग्न धरहरालाई यहाँ एउटा प्रतीकका रुपमा प्रस्तुत गर्न खोजिएको छ । त्यसैले धूलो टक्टक्याउँदै धरहरा उठ्ने प्रसङ्ग भग्नावशेषबाट जीवन उठ्ने कुराको पनि सङ्केत होला शायद ।नयाँ पत्रिकाको पहिलो पातोमा यो भनाइको छेवैमा धरहराको भव्य तस्बीर छ । यो हिजोको धरहरा हो । भूकम्पले धूलिसात् गर्नुअघिको धरहरा । अनि भोलिको धरहरा ? भोलिको धरहरा नयाँ पत्रिकाको ‘ग¥

बाइस तले धरहरा

स्कुले हाजिरी जवाफ प्रतियोगितामा बालबालिकालाई बारम्बार सोधिने प्रश्न थियो धरहरा कसले बनाएको? धरहरा पहिले भीमले बनाए रे अनि धरहरा जुद्धले पनि बनाए रे ...