विपद् जोखिम व्यवस्थापनलाई विकासका योजनासँग मूल प्रवाहीकरण गरी उत्पादनशील समुदाय, समाजको दायित्वभित्र पार्न आवश्यक भएको छ ।
नेपालको राजधानी काठमाडौँ उपत्यका साथै तराईका क्षेत्र तथा पहाडी भू–भागहरू प्राकृतिक प्रकोपको व्यवस्थापनको दृष्टिले अति संवेदनशील क्षेत्र मानिन्छ । घना आवादी बढ्दै जानु, कमजोर किसिमले आधारभूत संरचनाहरू निर्माण हुनु, जाडो याममा शीतलहर र गर्मीमा आगलागी, वर्षायाममा बाढी पहिरोका समस्याका कारण यहाँको प्रकोप सङ्कटासन्नता तथा जोखिमको स्तर बढ्दै गएको पाइन्छ । भूकम्प, बाढी पहिरो, विस्फोट, आगलागी, सुक्खा, आँधिबेहरी, शीतलहर, चट्याङ, डढेलोजस्ता सम्भाव्य सबै प्रकारका विपद्जन्य अवस्थाको पूर्व सूचना, सङ्कटासन्न अवस्था तथा त्यस्ता क्षेत्रहरूमा रहेका जोखिम विवरण समुदाय र सरोकारवाला निकायहरूलाई उपलब्ध गराई सम्भाव्य विपद्बाट बचाउन पूर्वतयारीका लागि सङ्घ, प्रदेश र स्थानीय तहमा सोसम्बन्धी कार्य गर्न आवश्यक छ ।
२०७७ चैत १२ गते बिहीबार एकै दिन ४७ जिल्लामा चारसय ७९ ठाउँमा डढेलो लाग्यो । नासाको मोडिस प्रविधिले खिचेको डढेलोको तस्बिर विश्लेषण गर्दा यति डढेलो विगतमा कहिल्यै लागेको थिएन् । मध्य फागुनदेखि वैशाखसम्म अत्यधिक डढेलो लाग्ने गर्छ । तर यो वर्ष उच्चपहाडी क्षेत्रमा कात्तिकदेखि नै डढेलो लाग्न सुरु भएको थियो ।