विद्यालयमा गुणस्तरीय शिक्षाका लागि विद्यार्थीबाट सङ्कलन गरिएको सामान्य शुल्कको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दुःख दिने कार्य भएको सुर्खेतका सामुदायिक विद्यालय व्यवस्थापन समितिले जनाएका छन् । विद्यालयमा गुणस्तरीय शिक्षा सञ्चालनका लागि समस्या भएपछि सामान्य रूपमा अभिभावकबाट शुल्क असुल गरिएका विषयमा अख्तियारमा उजुरी दिइने र पटक पटक बयानका लागि बोलाएर दुःख दिएको गुनासो विद्यालय व्यवस्थापन समितिको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ कर्णाली प्रदेशले आइतबार सुर्खेतमा गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालय व्यवस्थापन समितिको भूमिका विषयक अन्तर्क्रिया आयोजना गरेको थियो । सो कार्यक्रमका सहभागीले देशभरका सामुदायिक विद्यालय अख्तियारमा धाउँदा धाउँदा हैरानी खेप्नु परेको गुनासो गरेका हुन् । महासङ्घका कर्णाली प्रदेश अध्यक्ष गोविन्द कोइरालाले शुल्क उठाइएको विषयमा उजुरी परेपछि आफूहरू पटक पटक अख्तियार धाउँदा हैरानी खेप्नु परेको बताउनुभयो ।