काठमाडौं । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को नयाँ नेतृत्वका लागि आज (बिहीवार) निर्वाचन हुने भएको छ । नयाँ नेतृत्व चयन गर्न वर्तमान कार्यसमितिकै वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष समूहबीच निर्वाचन हुन लागेको हो । संस्थाको आगामी दुईवर्षे कार्यकालका लागि नाट्टाका वर्तमान वरिष्ठ उपाध्यक्ष विनय बस्नेत र उपाध्यक्ष रमेश थापाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
बस्नेत कोशी टूर्स एण्ड ट्राभल्स प्रालिका अध्यक्ष हुन् भने थापा मुनसन ट्राभल्स एण्ड टूर्सका अध्यक्ष हुन् । नाट्टामा हाल अच्युत शर्मा गुरागाईं अध्यक्ष छन् । नाट्टाको ५५औं साधारणसभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । संस्थामा हाल ४५० भन्दा बढी सदस्य छन् ।
बिहीवार नै चुनावी नतीजा आउने नाट्टाले जानकारी दिएको छ । संस्थाको साधारणसभा उद्घाटन समारोहमा पर्यटनमन्त्री प्रेम आलेले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि सबैको सहकार्य आवश्यक भएको बताए । कोरोना महामारीका कारण थलिएको यो क्षेत्रलाई उकास्न आवश्यक सहयोगका लागि सरकार तयार रहेको उनको भनाइ थियो ।
नेपालमा ठूला विमानस्थल सञ्चालन तथा निर्माणको अवस्थामा रहेको भन्दै उनले यसको प्रचारप्रसार र बजार प्रवर्द्धनका लागि पर्यटन व्यवसायीको महत्त्वपूर्ण भूमिका हुने बताए । सो अवसरमा नाट्टाका अध्यक्ष गुरागाईंले कोभिडपछिको पर्यटन पुनरुत्थानका लागि सरकारको सहयोग अपरिहार्य भएको बताए ।
पर्यटनको दीर्घकालीन पुनरुत्थानका लागि सरकार, पर्यटन क्षेत्रका विधागत व्यवसायी, नेपाल पर्यटन बोर्ड जस्ता संस्थाहरूबीच सहकार्य आवश्यक भएको उनको भनाइ छ ।
कोभिडपछिको अवस्थामा पर्यटकीय गतिविधि बढाउन जरुरी रहेको भन्दै उनले नाट्टाले तालीम, क्षमता अभिवृद्धि जस्ता काम गर्ने बताए । संस्थाले स्थानीय सरकार र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा विभिन्न कार्यक्रम गरिरहेको जानकारी उनले दिए ।