मानव जीवनमा उसको प्राणको अतिरिक्त सबैभन्दा प्यारो सन्तान, महत्त्वपूर्ण ख्याति र अनिवार्य कमाइ हो । त्यसमा पनि तरल सम्पत्तिलाई सबैभन्दा महत्त्वपूर्ण कमाइका रूपमा हेरिन्छ । जुनसुकै कमाइको मुख्य आधार लगानी हो । यद्यपि लगानीले नियमित रूपमा कमाइ दिन सक्दैन । उचित ठाउँमा गरिएको लगानी र त्यसको अभिवृद्धिका लागि गरिने निरन्तर प्रयासले मात्र उचित र नियमित कमाइ दिन सक्छ । लगानीका अनगिन्ती ठाउँ र उपाय छन् । ती उपायमध्ये सबैमा लगानी गर्नुपूर्व विशेष ध्यान पुर्याउनुपर्छ, सबै कुराको विश्लेषण गर्नुपर्छ र लगानी पछि पनि निरन्तर त्यसमा निगरानी गर्न सक्नुपर्छ ।
लगानीका विभिन्न क्षेत्र छन् । जस्तै : उद्योगधन्दा, कलकारखाना, सेवामूलक व्यवसाय, स्टार्टअप, उद्यमशीलता, शेयरबजार आदि । यीमध्ये जुनमा लगानी गरे पनि यसको उचित रेखदेख, उचित व्यवस्थापन र निरन्तर सुधारका लागि प्रयासरत रहेर मात्र सफलता पाउन सम्भव हुन्छ । कुनै पनि लगानीमा कमाइ हुन आन्तरिक तथा बाह्य वातावरणको संयोजन मिल्नैपर्छ, यसमा कुनै सन्देह रहेन । यसमा नेतृत्वको भूमिका ज्यादै निर्णायक हुन्छ ।
हामीमा प्राय: बाह्य वातावरणलाई दोष दिने, नेता र राजनीतिलाई दोष दिने चलन छ । वास्तवमा सफलता वा असफलताको मुख्यविन्दु आन्तरिक वातावरणबाट सृजित हुन्छ । बाह्य वातावरण सफलता वा असफलतामा निर्णायक छँदै छैन भन्न खोजिएको होइन तर कमजोरी हामीभित्र पनि छ, सुधार्नुपर्छ, सचेत हुनुपर्छ ।
शेयरबजारमा पनि लगानी गरेर प्रशस्त धन आर्जन गर्न सकिन्छ, त्यतिकै गुम्न पनि सक्छ । एउटै कम्पनीमा लगानी गरेर कसैले मनग्गे कमाउँछ र कोही त्यसै कम्पनीबाट डुब्छ भने लगानीकर्ताको आन्तरिक विश्लेषण क्षमताको अभाव हो । यसमा बाह्य वातावरणलाई दोष दिन पाइँदैन । पक्कै पनि व्यवसाय बाह्य वातावरणको पासोमा हुन्छ । अवसर वा चुनौती बृहत् वातावरणले सृजना गर्छ । सफल नाविकले हुरी र बतासका बीचमा डुंगालाई पार लगाउन सक्छ भने सही समयमा सही निर्णय नगर्नेले जहाज डुबाउँछ ।
वास्तवमा शेयरबजारमा गरेको लगानीले राम्रो प्रतिफल दिन जुन कम्पनीको शेयरमा हामीले लगानी गरेका हुन्छांै, त्यसको वित्तीय अवस्था स्वच्छ र प्रगतिउन्मुख हुनुपर्छ । सबै पक्ष हेरेर लगानी गर्नुपर्छ । पीई रेसियो, प्रतिशेयर आम्दानी, ननपरफर्मिङ सम्पत्तिको विश्लेषण गरेर लगानी गरे तापनि एकपटकको सही निर्णयले व्यवसायमा निरन्तर लाभ दिन सक्दैन । त्यसैले बजारमा लगानी गर्नेले उपयुक्त समयमा शेयर बेच्ने र अर्को कम्पनीको किन्ने क्षमता राख्नुपर्छ । एउटै कम्पनीको लगानीले ४ वर्षको अन्तरालमा कसैले त्यो कम्पनीको शेयरबाट घडेरी किन्छ, कोही घर बेचेर ऋण तिर्न बाध्य हुन्छ । यसमा समय र निर्णय क्षमताले ठूलो भूमिका खेलेको हुन्छ ।
लगानी गर्दा कम्पनी छनोट गर्दाको सतर्कताले नै मानिसलाई बजारमा सक्षम लगानीकर्ता बनाउँछ । यदि राम्रो कम्पनी छनोट गरिएन भने त्यसले बजारमा हरियाली हुँदाहुँदै पनि आफ्नोचाहिँ कम्पनीको अवस्था बिग्रिएको हुन्छ । कम्पनीको अवस्था परीक्षण कसरी गर्ने भन्नेबारेमा विभिन्न समस्या छन् आजभन्दा १ वर्षअगाडि लघुवित्त कम्पनीहरूको शेयर मूल्य १००० भन्दामाथि नै हुन्थ्यो आज कुनै लघुवित्त कम्पनी आईपीओ मूल्य रू. १०० भन्दा पनि तल झरेको अवस्था छ । सफलता वा असफलताको खेल नै यसैमा छ । कुन बेला कुन कम्पनीको शेयर थप्ने कुन बेच्ने सफलताको रहस्य यहाँनेर छ ।
लगानीले कति बेला कमाइ र सन्तुष्टि दिन्छ भनेर कसैको अनुभव, अर्ती अध्ययनले जानकारी दिन सक्दैन । त्यसले कसैको कहानी, लेख, किताब पढेर सफलताको सूत्र भेट्न सकिँदैन तर समयको अध्ययनले धेरै कुरा सिकाउन सक्छ ।
काममा निरन्तरता, सचेतता, वृद्धिको प्रयास गर्दै जाँदा जस्तो परिस्थिति आइलाग्छ त्यसैअनुसार निर्णय गर्दै जानुपर्छ । कुनै व्यवसाय ठीक वा बेठीक भन्ने केही हुँदैन । जसले आवश्यकताअनुसार उचित निर्णय लिएर परिस्थितिलाई सम्हाल्दै लैजान सक्छ उसलाई राम्रो हुन्छ, नसके बिग्रिन्छ । राजनीति र नोकरीमा सफलता पाउनु र आफ्नो व्यवसाय र लगानीमा सफल हुनु अलग विषय हुन् । राजनीतिमा समाज सेवामा कोही असफल भए पनि आफ्नो व्यक्तिगत लगानी डुबेर सडकमा आउनु पर्दैन । तर, व्यापार, व्यवसाय, शेयरबजारमा लगानी डुबेमा व्यवसायीको आत्महत्या गर्नुपर्ने अवस्था आउन सक्छ ।
त्यसैले सफलताको पनि एउटै परिभाषा हुँदैन र असफलताको एउटा मात्र कारण हुँदैन । व्यवसायलाई टिकाउन, लगानीलाई दिगो बनाउन र आम्दानीलाई कायम राख्न आर्थिक अनुशासन कायम राख्दै वित्त व्यवस्थापनमा सदैव सचेत हुनुपर्छ । कुनै पनि विषयको सफलताका लागि कुनै सूत्रात्मक तरीका छैन तर प्रक्रिया पालन गर्नुमा कुनै चुक हुनु हुँदैन । व्यक्तिलाई सबै सफलता आवश्यक छ तर राष्ट्र, समाज र मानवताका लागि व्यावसायिक सफलता बढी आवश्यकीय र अनिवार्य तत्त्व हो । त्यसैले व्यवसाय एक संस्था यसलाई असफल हुनबाट बचाउन त्यसको सञ्चालकले प्रयास त गर्नैपर्छ । राज्यले उद्यम र उद्यमीलाई डुब्नबाट बचाउने गरी नीति, रणनीति बनाउनुपर्छ ।
लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।
काठमाडौं। शहरी विकास विज्ञ तथा सरकारका पूर्वसचिव किशोर थापाले नेपालका शहर आर्थिक वा उत्पादनका केन्द्र नभई भारत, चीनलगायत देशबाट आएका कमसल सामान वितरण गर्ने वितरण केन्द्र भएको बताएका छन् ।
आर्थिक अभियानसँगको कुराकानीमा उनले भने, ‘नेपालका शहर आर्थिक केन्द्र वा उत्पादनका केन्द्र होइनन् यी त भारत, चीन लगायतबाट आएका सामान बेच्ने वितरण केन्द्र हुन् । यहाँ न स्थानीय उत्पादन छ न स्वदेशी ।’
गाउँमा उत्पादन र शहरमा खपत हुने गरी लिंकेज हुनुपर्नेमा नेपालका ठूला शहरमा हुने खपतको लिंकेज भारतीय गाउँसँग हुन पुगेको र यो दु:खद भएको थापाको भनाइ छ ।
उनले कृषि भूमिको संरक्षण गर्दै व्यवस्थित शहरीकरण गर्न सरकार चुकेको र जग्गा वर्गीकरणको नीति नै फेल भएको बताए । यसमा सरकार नै दोषी रहेको उनको निष्कर्ष छ ।
‘सरकारले योजना बनाएर वर्गीकरण गर्न लगायो तर काम योजनाअनुसार भएन । स्थानीय तहलाई जिम्मा दिएको थियो, उनीहरूले त्यसको महत्त्व बुझेनन्,’ थापाले भने, ‘कृषियोग्य जमीनलाई खण्डीकरण हुनबाट रोक्नु लक्ष्य थियो । तर, अधिकांश स्थानीय तहले कृषियोग्य जमीनलाई आवासीय जग्गाको रूपमा राखेर पठाए ।’ त्यसो हुनुमा धेरै कारण भए पनि राजनीतिज्ञ र सरकारको गलत नीति मुख्य भएको उनले बताए ।
खाद्य सुरक्षा पनि देशको सार्वभौम हो भन्ने नेपाली राजनीतिज्ञले नबुझेको थापाको भनाइ छ । ‘देश अन्य क्षेत्रमा जतिसुकै सबल भए पनि खाद्य सुरक्षा छैन र परनिर्भर छ भने त्यो सार्वभौम भएको मानिँदैन,’ उनले भने, ‘स्थानीय तहलाई बढी कर उठ्ने देखेर कृषियोग्य जमिनलाई आवासीयमा वर्गीकरण गरियो ।’
यसो हुनुमा कृषिभन्दा आवासीय जमिनको मूल्य बढी पर्नु र सरकारले गर्ने मूल्यांकन तथा वित्तीय संस्थामा ऋण लिन बढी मूल्यको जमिन चाहिनु मुख्य कारण रहेको उनले बताए । उनी यसमा सरकारको नीति फेल भएको ठान्छन् ।
अन्य देशमा कृषि हुँदै औद्योगिकीकरण र त्यसकै जगमा शहरीकरण भएको तर नेपालमा कृषिबाट सीधै जाँदा शहरीकरण अव्यवस्थित भएको उनको तर्क छ । ‘विश्व परिवेश हेर्दा ५४ प्रतिशत जनसंख्या शहरमा बस्छ । तर, हाम्रा बस्ती शहरीकरण भएका छन् । मनोविज्ञान शहरीकरण नभएर ग्रामीण नै छ,’ उनले भने, ‘सरकारले सही निर्देशन नगर्दा अव्यवस्थित शहरीकरण भयो ।’ सरकारी प्रतिवेदनले ६६ प्रतिशत जनसंख्या शहरमा बस्छ भने पनि त्यो गलत तथ्यांक भएको थापा बताउँछन् । यो तथ्यांक घोषित नगरक्षेत्रभित्र बस्नेको मात्रै भएको तर वास्तविक शहरमा बस्ने जनसंख्या २५/३० प्रतिशत मात्रै भएको उनी बताउँछन् । नेपालका शहर सरकारले नभई निजीक्षेत्रले बनाएको र व्यक्तिगत स्तरबाट बनेका शहर उनीहरूको सानो आवश्यकताअनुरूप भएको बताए । थापाका अनुसार सरकारले नीति र पूर्वाधार बनाइदिए निजीक्षेत्रले आवासीय र व्यापारिक क्षेत्र बनाउँछ ।
२०६४ सालमा बनेको शहरी नीति परिमार्जन गर्नुपर्ने आवश्यकता उनले औंल्याए । थापाका अनुसार यसबीचमा राज्यको शासकीय स्वरूप नै परिवर्तन भइसकेको छ । उक्त नीतिमा उल्लिखित प्रत्येक विकास क्षेत्र र कोरिडोरमा व्यवस्थित शहरीकरणको कुरा अब प्रदेश स्तरमा चलाउनुपर्छ ।
अन्य देशमा कृषि हुँदै औद्योगिकीकरण र त्यसकै जगमा शहरीकरण भएको तर नेपालमा कृषिबाट सीधै जाँदा शहरीकरण अव्यवस्थित भएको उनको तर्क छ । विश्व परिवेश हेर्दा ५४ प्रतिशत जनसंख्या शहरमा बस्छ । तर, हाम्रा बस्ती शहरीकरण भएका छन् ।
संघीयताले विकेन्द्रीकृत हुनुपर्ने जनसंख्या नेपालमा झन् राजधानी केन्द्रित भएको तथा सुविधा, रोजगार र मौसम यसको मुख्य कारण रहेको उनले बताए ।
कुनै पनि स्थानमा ठूला योजना बने त्यहाँ आर्थिक गतिविधि बढ्ने र विस्तारै शहरीकरण हुने तर नेपालमा योजनाविना शहर भन्दिए पुग्यो जस्तै भएको उनको भनाइ छ । ‘आर्थिक अवसर, रोजगारी र सेवासुविधाका लागि मानिस शहरमा आकर्षित हुने हो । शहरी क्षेत्रमा आर्थिक क्षेत्र बन्नुपर्ने र रोजगारी बढ्नुपर्ने हो । नेपालमा त्यस्तो देखिँदैन,’ उनले भने, ‘२९३ नगरपालिकामध्ये केही मात्रै साना शहर भएका क्षेत्र छन् । बाँकी सबै ग्रामीण कृषिमा आधारित बस्ती छन् । यसमा राजनीतिक दल र स्थानीय सरकारका खर्च धान्न कर उठाउने उद्देश्य पनि छ । नगर घोषणा गर्दा प्राप्त हुने बजेट बढ्ने र सेवासुविधा पाइने आशले धेरै गाउँ नगरमा गएको उनको भनाइ छ ।
उनका अनुसार पहाडी भूभागमा कृषिमा आधारित जीवनशैली विस्थापित हुँदा सेवासुविधा र अवसर तयार भएनन् । गरिखाने बाटो नहुँदा तराईका भूभागमा बस्ती बढ्यो । यसले विपत्ति निम्त्याएको थापाले बताए ।
पहाडी जनसंख्यालाई रोक्न तथा पुन: फर्काउन सकिने तर त्यसका लागि सरकारले नीति नै बनाएर अघि बढ्नुपर्ने उनको भनाइ छ । सरकारले सेवासुविधा पुर्याउनुका साथै ठूला योजना, सुविधासम्पन्न अस्पताल, स्तरीय विद्यालय, विश्वविद्यालय र उद्योग पहाडी क्षेत्रमा निर्माण गर्नुपर्ने थापाको सुझाव छ । ‘यसले त्यहाँ रोजगारीको अवसर र सुविधा ल्याउँछ अनि बस्ती विस्तारै फर्किन्छ । यसका लागि सरकारले नीति बनाएरै काम गर्नुपर्छ,’ उनले भने, ‘निजी अस्पताल र विद्यालयलाई जग्गा उपलब्ध गराउने र कर छूट दिने गर्नुपर्छ ।’ नेपालमा जता धेरै जनसंख्या छ त्यतै राजनीति केन्द्रित हुने भएकाले यस्ता कुरा कसैले नउठाएको थापाको निष्कर्ष छ ।
हालका शहरको व्यवस्थापन गर्न नीतिगत रूपमै योजना बनाई स्थानीय र प्रदेश सरकार मिलेर काम गर्नुपर्नेमा उनले जोड दिए । ‘समावेशी र दिगो शहरीपन हुनुपर्नेमा हाम्रा शहरमा शहरी गरीबी बढ्दो छ । यसलाई समयमै व्यवस्थापन गर्न नसके विद्रोह हुन सक्छ । यस्ता घटना थुप्रै भएका छन् । शहर धनीको मात्रै होइन, गरीबको पनि हो । उनीहरूलाई सरकारले नहेरे कसले हेर्ने ?’ उनले भने, ‘हाल काठमाडौंमा जे भएको छ त्यो गलत छ । व्यवस्थापन गर्ने हो निषेध होइन ।’
नागरिकले पनि सचेत बनेर सरकारी काम कारबाहीमा सहयोग गर्नुपर्ने उनको सुझाव छ । उनले थपे, ‘अधिकारका कुरा गर्दा नागरिक कर्तव्य पनि बिर्सनु भएन । ललितपुरकै उदाहरण लिएर काम गर्दा पनि हुन्छ । ललितपुर र भक्तपुर जिम्मेवार नागरिक भएको शहर हो । यहीँबाट सिक्न सकिन्छ । हाललाई स्थानीय तह सक्षम भएका छैनन् भने अधिकार प्राप्त पनि छैनन् । यस्तो अवस्थामा तीनै तह मिलेर अघि बढ्नुको विकल्प छैन ।’
अध्ययनले देखाएअनुसार विश्वमा ७० प्रतिशत कार्बन उत्सर्जन शहरी क्षेत्रबाट हुन्छ । त्यसमा पनि ५८ प्रतिशत उत्सर्जन निर्माण क्षेत्रले गर्छ । थापाका अनुसार दोस्रोमा यातायात र तेस्रोमा मात्रै उद्योग पर्छ । भुटानले आफूलाई ‘कार्बन न्युट्रल’ भन्न थालेको प्रसंग जोड्दै उनले हामीले पनि अहिले नै योजना बनाएर अघि बढे २०४५ सम्म कार्बन उत्सर्जनमा न्यूट्रल बन्न सकिने बताए । यसका लागि हाम्रै वन प्रयोग गर्नुपर्ने उनको सुझाव छ । रूख काट्दा वातावरण बिग्रियो भन्नुलाई गलत करार गरेका थापाले नयाँ रोप्दै पुराना काट्दै जानुपर्ने बताए ।
केही वर्षअघि वैज्ञानिकबीच चर्चा हुने गरेको जलवायु परिवर्तन अहिले हामीले प्रत्यक्ष अनुभव गर्न थालेको भन्दै उनले कागबेनी बाढी र काठमाडौंमा हुने डुबानलाई त्यससँग जोडे । तर, यो विषय राजनीतिक दलका फोरममा नउठेको उनको गुनासो छ । उनको भनाइमा यो घरघरमा चर्चा हुनुपर्ने विषय हो ।