१० वर्षअघिको आर्थिक अभियानबाट : सुन आयातको कोटा तोक्नु हुँदैन

सरकारले सुनचाँदी आयात खुला गर्दै छ । यो राम्रो कुरा हो । यसका लागि हामीले पनि सुझाव पठाएका छौं । हामीले त नेपाल सुनचाँदी व्यवसायी संघलाई मात्रै सुनको आयात गर्न दिनुपर्ने माग गरेका छौं । यसो भयो भने मात्र सुन व्यवसाय व्यवस्थित हुन सक्छ । सरकारले आन्तरिक बजारलाई दृष्टिगत गरी सुन आयात गर्ने शक्ति छैन । अब सुनको आयात गर्दा आन्तरिक बजारमा यसको माग हेरेर गरिनुपर्छ । सरकारले यसअघि सुन आयातमा कोटा तोकेको हुँदा बजारको मागअनुसार सुन आयात हुन सकेको थिएन । यसपालि भने कोटा प्रणाली लागू नहोस् भन्ने हाम्रो माग छ । कोटा प्रणाली लागू भएपछि अनावश्यक विवाद आउन सक्छ । यो प्रणालीले आन्तरिक बजारमा सुनको पूर्ण रूपमा आपूर्ति गर्न असम्भव छ । सरकारले यस कुरामा ध्यान दिनु जरुरी छ ।  (नेपाल सुन चाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यसँगको कुराकानीबाट) वर्ष ६, अंक ६६ बिहीवार, ९ मंसिर, २०६७

सम्बन्धित सामग्री

गत आवमा सुन आयात ३ वर्षयताकै कम, अघिल्लो आवभन्दा ४२ प्रतिशत घट्यो

काठमाडौं । पछिल्लो एक वर्षमा नेपालले २२ अर्ब ३५ करोड रुपैयाँको सुन आयात गरेको छ ।  भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष (आव) ०७९/८० मा उक्त मूल्यको २९ लाख १६ हजार ५८६ ग्राम पहेंलो धातु नेपाल भित्रिएको हो । सुन आयातको परिणाम अघिल्लो आवभन्दा ४२ प्रतिशत कम हो । आर्थिक वर्ष २०७८/७९ मा ३५ अर्ब रुपैयाँको ५० लाख ५३ हजार ग्राम सुन आयात भएको थियो ।  गत आवको सुन आयात परिणामका हिसाबले पछिल्लो ३ वर्ष (आव २०७७/७८) यताकै कम हो । (हेर्नुस् तालिका) ६ वर्षमा सुन आयात स्रोत : भन्सार विभाग  सुन आयात घटेसँगै यसबाट सरकारले पाउने राजस्व पनि घटेको छ । अघिल्लो आवमा सुन आयातबाट ४ अर्ब २९ करोड राजस्व संकलन भएकोमा गत आवमा त्यो रकम २ अर्ब ५३ करोड रुपैयाँ मात्रै छ ।  युएईबाट भित्रियो सबैभन्दा धेरै गत आवमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई), स्विट्जरल्याण्ड, टर्की र उब्जेकिस्तानबाट सुन आयात गरेको छ । समीक्षा अवधिमा सबैभन्दा धेरै सुन यूएईबाट नेपाल भित्रिएको छ । सो आर्थिक वर्षमा यूएईबाट १८ अर्ब ९१ करोडको २४ लाख ६६ हजार ५४६ ग्राम सुन आयात भएको हो । त्यसैगरी, टर्कीबाट २ अर्ब ७२ हजार रुपैयाँको ३ लाख ५० हजार ग्राम, स्विट्जरल्याण्डबाट ७० करोड ९९ हजारको १ लाख ग्राम र उब्जेकिस्तानबाट २ लाख ८० हजारको ४० ग्राम सुन नेपाल भित्रिएको छ । 'कोटा प्रणालीको असर' नेपाल सुन चाँदी व्यवासायी महासंघका अध्यक्ष मणिकरत्न शाख्य सुन आयातमा कोटा प्रणाली राखिएकाले आयात घटेको बताउँछन् । 'सरकारले अहिले पनि सुन आयातको कोटा दैनिक १० किलो राखेको छ । त्यसैले आयात घटेको हो,' उनले भने, 'हामीले सुन आयातमा १० किलो कोटा हटाउन सम्बन्धित निकायसँग पहल गरिरहेका छौं ।'  आर्थिक मन्दीका कारण बजार घटेकाले अहिले माग धानिरहेको उनको भनाइ छ । ‘सुन बजार स्लो भएकाले अहिलेसम्म बजारको माग धानिरहेको अवस्था छ,’ उनी भन्छन् ।  पाँच वर्षमा मूल्य दोब्बर सुनको मूल्य पाँच वर्षमा दोब्बरले बढेको छ । २०७५ साउन १० मा सुनको मूल्य प्रतितोला ५६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आजको दिनमा सुनको मूल्य १ लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भएरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  यो ५ वर्षमा सुनको मूल्यमा उतारचढाव आए पनि पछिल्लो केही महीनादेखि सुनको मूल्य लाखमाथि रहँदै आएको छ । गत वर्ष पुस १ गते प्रतितोला ९९  हजार ९०० मा कारोबार भएको सुन त्यसयता तोलाको लाखमाथि नै छ । सुनको मूल्य साउन ४  गते अहिलेसम्मकै सर्वाधिक तोकिएको छ । उक्त दिन सुन तोलाको १ लाख १३  हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य अझै बढ्ने व्यवसायी बताउँछन् ।

दैनिक १० किलो मात्र सुन आयात गर्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनको दैनिक आयात कोटा घटाएर १० किलो मात्र सुन आयात गर्न पाउने व्यवस्था गरेको छ । शोधानान्तर घाटा बढ्नुका साथै विदेशी मुद्राको सञ्चितिसमेत घट्दै गएपछि सुन आयातमा कडाइ गरेको हो । राष्ट्र बैंकले आइतवार सुन आयात तथा विक्री वितरणसम्बन्धी कार्यविधि–२०६८ संशोधन गर्दै आयात कोटा घटाएको हो । कोभिड महामारी शुरू भएपछि सरकारले सुन आयात कोटा घटाएर दैनिक १० किलो बनाएको राष्ट्र बैंकले २०७७ चैत १९ गतेदेखि २० किलो बनाएको थियो । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको माघसम्ममा २५ अर्ब २१ करोड ६८ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ । राष्ट्र बैंकका अनुसार चालू आवको पुससम्ममा देशको शोधानान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोडले घाटामा छ । यसैगरी विदेशी विनिमय सञ्चिति घटेर ११ खर्ब ६५ अर्ब ८० करोडमा झरेको छ जुन ६ दशमलव ६ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । शोधनान्तर घाटा उच्च भएपछि २ महीनाअघि राष्ट्र बैंकले चाँदी, सवारीसाधन, शृंगार र विलासितालगायत सामानआयातमा कडाइ गरेको थियो । व्यापारघाटा उच्च भएपछि सरकारले २०६७ सालदेखि सुनचाँदी आयातमा नियन्त्रण थालेको हो । सरकारले सुनचाँदी आयात तथा विक्री नियमन गर्ने जिम्मेवारी राष्ट्र बैंकलाई दिएको थियो । त्यसपछि राष्ट्र बैंकले सुनचाँदी आयात तथा विक्री वितरणसम्बन्धी कार्यविधि–२०६८ जारी गर्दै सुन आयातको कोटा तोक्नुका साथै वाणिज्य बैंकहरूले मात्र सुन आयात गर्न पाउने व्यवस्था गरेको हो । कार्यविधिमा आयातित सुन व्यावसायिक संस्थाहरूको सिफारिशमा व्यापारीहरूलाई विक्री गर्नुपर्ने र उक्त सुन व्यवसायीले गरगहना बनाएर मात्र विक्री गर्न पाउने प्रावधान छ । व्यवसायीहरूले ढिक्का सुन विक्री गर्न नपाउने व्यवस्था कार्यविधिमा गरिएको छ । कार्यविधिको प्रावधानका आधारमा राष्ट्र बैंकले देशको आर्थिक अवस्थाका आधारमा सुन आयातसम्बन्धी कोटा समय–समयमा परिवर्तन गर्दै आएको छ । राष्ट्र बैंकले चाडपर्व र विवाहको सिजनमा दैनिक २५ किलो सुन आयात गर्न सकिने व्यवस्था गर्दै आएको छ ।