काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनको दैनिक आयात कोटा घटाएर १० किलो मात्र सुन आयात गर्न पाउने व्यवस्था गरेको छ । शोधानान्तर घाटा बढ्नुका साथै विदेशी मुद्राको सञ्चितिसमेत घट्दै गएपछि सुन आयातमा कडाइ गरेको हो ।
राष्ट्र बैंकले आइतवार सुन आयात तथा विक्री वितरणसम्बन्धी कार्यविधि–२०६८ संशोधन गर्दै आयात कोटा घटाएको हो । कोभिड महामारी शुरू भएपछि सरकारले सुन आयात कोटा घटाएर दैनिक १० किलो बनाएको राष्ट्र बैंकले २०७७ चैत १९ गतेदेखि २० किलो बनाएको थियो ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको माघसम्ममा २५ अर्ब २१ करोड ६८ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको पुससम्ममा देशको शोधानान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोडले घाटामा छ । यसैगरी विदेशी विनिमय सञ्चिति घटेर ११ खर्ब ६५ अर्ब ८० करोडमा झरेको छ जुन ६ दशमलव ६ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
शोधनान्तर घाटा उच्च भएपछि २ महीनाअघि राष्ट्र बैंकले चाँदी, सवारीसाधन, शृंगार र विलासितालगायत सामानआयातमा कडाइ गरेको थियो ।
व्यापारघाटा उच्च भएपछि सरकारले २०६७ सालदेखि सुनचाँदी आयातमा नियन्त्रण थालेको हो । सरकारले सुनचाँदी आयात तथा विक्री नियमन गर्ने जिम्मेवारी राष्ट्र बैंकलाई दिएको थियो ।
त्यसपछि राष्ट्र बैंकले सुनचाँदी आयात तथा विक्री वितरणसम्बन्धी कार्यविधि–२०६८ जारी गर्दै सुन आयातको कोटा तोक्नुका साथै वाणिज्य बैंकहरूले मात्र सुन आयात गर्न पाउने व्यवस्था गरेको हो ।
कार्यविधिमा आयातित सुन व्यावसायिक संस्थाहरूको सिफारिशमा व्यापारीहरूलाई विक्री गर्नुपर्ने र उक्त सुन व्यवसायीले गरगहना बनाएर मात्र विक्री गर्न पाउने प्रावधान छ । व्यवसायीहरूले ढिक्का सुन विक्री गर्न नपाउने व्यवस्था कार्यविधिमा गरिएको छ ।
कार्यविधिको प्रावधानका आधारमा राष्ट्र बैंकले देशको आर्थिक अवस्थाका आधारमा सुन आयातसम्बन्धी कोटा समय–समयमा परिवर्तन गर्दै आएको छ । राष्ट्र बैंकले चाडपर्व र विवाहको सिजनमा दैनिक २५ किलो सुन आयात गर्न सकिने व्यवस्था गर्दै आएको छ ।