आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति : केही नयाँ र केही परिपत्रको संहिता

मौद्रिक नीति सार्वजनिक हुन थालेदेखिको १९सौं संस्करण सार्वजनिक भएको छ । मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अघि नै कतिपय नीतिगत व्यवस्था परिपत्रमार्फत सार्वजनिक भइसकेको अवस्थामा यसलाई मौद्रिक नीति भन्नुभन्दा ‘परिपत्रको संहिताकरण’ भन्दा फरक नपर्ने भएको छ । बजेट पेश भएको २ महीनाभन्दा बढी समयपछि सार्वजनिक हुँदा त्यति चासो बढेको जस्तो पनि देखिएन । कतिपय नीतिगत विषय पत्रपत्रिकामा चुहिइसकेकाले मौद्रिक नीति कस्तो आउला भन्ने विषय कौतुहल बन्न नसकेको महसूस भयो । तत्कालीन समयमा संसद् विघटन भएका कारण अध्यादेशमार्फत बजेट पेश भएको थियो । तर, अदालतले विघटित संसद् पुनःस्थापना गरिदिएकाले अध्यादेश बजेट पेश गर्ने सरकार विघटन भएर नयाँ सरकार गठन हुँदा बजेटमा केही संशोधन हुनसक्ने आधारमा मौद्रिक नीति गर्न केही ढिलाइ भएको अनुमान गर्न सकिन्छ । केही नयाँ र असन्दर्भका कुरा परेको मौद्रिक नीति त्रैमासिक समीक्षा र आगामी वर्षमा सुधार हुँदै जाने अपेक्षा गर्नुबाहेक अर्को विकल्प देखिँदैन । मौद्रिक नीतिमा शेयरबजार सरकारको वित्त नीति (बजेट) ले परिलक्षित गरेका लक्ष्य प्राप्त गर्न मुद्रा आपूर्तिको स्रोत पहिचान मौद्रिक नीतिले गर्छ । मौद्रिक नीतिको प्रभाव समग्र अर्थ व्यवस्थामा पर्छ । नेपालको सन्दर्भमा शेयरबजारमा सूचीकरण भएका कम्पनीमा बैंकिङको बाहुल्यता रहेका कारण मौद्रिक नीति बढी चासोको विषय बन्छ । यस वर्ष र गतवर्षको मौद्रिक नीतिमा शेयरबजारको सन्दर्भमा तात्त्विक भिन्नता केही छैन । शेयर धितो राखी प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा सुरक्षण मूल्य अनुपातलाई ७० प्रतिशतसम्म दिनसक्ने व्यवस्थालाई यथावत् राखिएको छ । गतवर्ष यस्तो प्रकृतिको कर्जाका लागि शेयरको मूल्याङ्कन गर्दा विद्यमान १ सय २० दिनको औसत वा प्रचलित बजार मूल्यमध्ये जुन कम छ त्यसैको आधारमा गर्नुपर्ने व्यवस्थालाई गत तेस्रो त्रैमासिक समीक्षामा संशोधन गरी पुर्‍याइएको १ सय ८० दिनलाई यथावत् निरन्तरता दिइएको छ । त्यस्तै, लाभांश वितरणमा गतवर्ष अपनाइएको खुद वितरणयोग्य नाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश वितरण गर्न पाउने भन्ने व्यवस्थाले पनि निरन्तरता पाएको छ । बैंक तथा वित्तीय संस्थाबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्र लिनसक्ने उल्लेख गरिएको छ । ऋणीले तोकिएको सीमाभन्दा बढी कर्जा उपभोग गरिरहेको अवस्थामा यस्तो कर्जा नियमित गर्न उपयुक्त समय सीमा उपलब्ध गराइने व्यवस्था गरिएको छ । शेयरबजारसँग प्रत्यक्ष जोडिएको विषय मूलतः यिनै हुन् । गाभ्ने गाभिने सम्बन्धमा आर्थिक अध्यादेश २०७८ ले आगामी आर्थिक वर्ष (आव) देखि गाभ्ने र गाभिने एकै वर्गका संस्थाले मात्र २ वर्षसम्म लाभांश र पूँजीगत लाभकर छूट पाउने व्यवस्था गरेर अघोषित रूपमा गाभ्ने–गाभिने कार्यलाई निरुत्साहित गरेको थियो । अबदेखि वाणिज्य–वाणिज्य, विकास–विकास र वित्त–वित्त कम्पनी गाभिए मात्र यस्तो छूटको सुविधा पाउने व्यवस्था अध्यादेशले गरेको छ । सरकारबाट प्राप्त हुने कर छूट सुविधा नपाए पनि बैंकिङ संस्था एकआपसमा गाभिएमा (क) तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि १ वर्ष थप गरिने, (ख) एकीकृत कारोबार गरेको १ वर्षसम्म अनिवार्य नगद मौज्दातको सीमामा शून्य दशमवल ५ प्रतिशत बिन्दुले छूट दिने, (ग) एकीकृत कारोबार गरेको १ वर्षसम्म वैधानिक तरलता अनुपातमा १ प्रतिशत बिन्दुले छूट दिने, (ङ) सञ्चालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तीमा ६ महीना व्यतीत नभई अन्य संस्थामा आबद्ध हुन नपाउने प्रावधान छूट दिने, (च) कायम गर्नुपर्ने कर्जा र निक्षेपको ब्याजदर अन्तरमा १ प्रतिशत बिन्दुले छूट दिइने, (छ) एकीकृत कारोबार थालनी गर्दा कर्जा निक्षेप अनुपातले सीमा नाघेमा त्यो नियमित गर्न १ वर्षको समय दिने, (झ) वाणिज्य बैंकको शून्य दशमलव १० प्रतिशत वा त्योभन्दा कम शेयर धारण गरेका संस्थापक समूहको शेयरधनीले यस्तो शेयर विक्री गर्दा ‘फिट एन्ड प्रपर टेस्ट’ अनिवार्य नहुने व्यवस्था गरिनेजस्ता सहुलियत केन्द्रीय बैंकले दिने भएको छ । अन्य महत्वपूर्ण पक्ष प्रदेशस्तरका विकास बैंक गाभिएमा कार्यक्षेत्र भित्र पायक पर्ने स्थानमा कर्पोरेट कार्यालय स्थापना गर्न, प्रदेश राजधानी तथा काठमाडौंमा सम्पर्क कार्यालय खोल्न स्वीकृति दिने नीति लिएको छ । थोक लघुवित्तले समेत चुक्ता पूँजीको २५ प्रतिशत बराबर ऋणपत्र जारी गर्ने व्यवस्था मिलाउने आदि थप सुविधा रहेका छन् । बैंक तथा वित्तीय संस्थाले हाल उपभोग गर्दै आएको विद्यमान कर्जा–स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) खारेज गरिने भएको छ । यसको सट्टा कर्जा–निक्षेप अनुपातलाई उपयोगमा ल्याई यसको दर ९० प्रतिशत कायम गरिने र यस्तो अनुपात २०७९ असार मसान्तसम्ममा कायम गर्नुपर्ने छ । काउन्टर साइक्लिक बफरलाई २०७९ असार मसान्तसम्म स्थगन गरिएको छ । बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई कालोसूचीमा राख्ने विद्यमान व्यवस्था पुनरवलोकन गर्ने, ग्राहक पहिचानसम्बन्धी व्यवस्थालाई सरलीकृत गरी प्रविधिमा आधारित इलेक्ट्रोनिक केवाईसी (ईकेवाईसी) को व्यवस्था गर्ने, २ वर्षसम्म निरन्तर नोक्सानीमा चलेका व्यवसायलाई प्रवाह गरिएको कर्जा ‘सूक्ष्म निगरानी’ मा राख्नुपर्ने व्यवस्थालाई ३ वर्ष पु¥याइने, वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको दोहोरो लगानी (क्रश होल्डिङ) भएका लघुवित्तलाई २०७९ असार मसान्तभित्र एकआपसमा गाभिनुपर्ने व्यवस्था गरिने, थोक र खुद्रा कारोबार गर्ने लघुवित्त एकआपसमा गाभिन सक्ने र गाभिएपछि खुद्रा लघुवित्तको रूपमा कार्य गर्नसक्ने व्यवस्था गर्ने, राष्ट्रियस्तरका लघुवित्तले नेपाल वित्तीय प्रतिवेदन मान अर्थात् नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) बमोजिम वित्तीय विवरण प्रकाशन गर्नुपर्ने व्यवस्था लागू गरिनेजस्ता नीति परेको छ । केही असन्दर्भ मौद्रिक नीतिले केही असन्दर्भलाई पुनः निरन्तरता र थप गरेको छ । शेयर धितो कर्जाको सम्बन्धमा गरिएको व्यवस्थामा एक व्यक्ति वा कम्पनीको लागि तोकिएको सीमालाई कर्जा दिने संस्थाको जोखिमलाई न्यूनीकरण गर्न गरिएको प्रयासलाई उचित मान्न सकिन्छ । तर, समग्र वित्तीय प्रणालीको लागि अधिकतम अंक तोकिनुलाई उचित मान्न सकिँदैन । शेयर धितो राखेर लिएको कर्जा शेयर किन्न मात्र उपयोग हुन्छ भन्ने केन्द्रीय बैंकको बुझाइ पनि असन्दर्भकै उपज हो । गतवर्षझैं खुद वितरणयोग्य नाफाको ३० नगद र ७० प्रतिशत बोनस लाभांश बाँड्न दिएको निर्देशन असन्दर्भकै निरन्तरता हो । केन्द्रीय बैंक चुक्ता पूँजी मात्र बढाउने कार्यमा लाग्नु आश्चर्यलाग्दो छ । कम्पनी चुक्ता पूँजीले भन्दा सञ्चित कोषले बलियो हुन्छ भन्ने कुरा केन्द्रीय बैंकका अधिकारीले बुझ्दै नबुझेका होलान् भनेर अनुमान गर्न सकिँदैन । २०औं वर्ष केन्द्रीय बैंककै सेवामा रहेर सोही बैंकको डेपुटी गभर्नर हुँदै गभर्नर भएका व्यक्तिलाई कम्पनी चुक्ता पूँजीले भन्दा सञ्चित कोषले बलियो बनाउँछ भन्नु ‘सूर्यलाई दियो देखाउनु’ जत्तिकै हो । तर, गभर्नरको २ वर्षको लाभांशसम्बन्धी नीति हेर्दा यस्तै भन्नुपर्ने भएको छ । सबैलाई ऐच्छिक बनाइनुपर्ने ऋणपत्र थोक लघुवित्तले पनि जारी गर्नुपर्ने नीति ल्याइनु अर्को असन्दर्भ हो । अन्त्यमा, केही नयाँ र असन्दर्भका कुरा परेको मौद्रिक नीति त्रैमासिक समीक्षा र आगामी वर्षमा सुधार हुँदै जाने अपेक्षा गर्नुबाहेक अर्को विकल्प देखिँदैन । लेखक धितोपत्रसम्बन्धी अध्येता अधिवक्ता हुन् ।

सम्बन्धित सामग्री

किसान नअटाएको मौद्रिक नीति

सरकार परिवर्तनसँगै आगामी आर्थिक वर्ष २०७८-७९ का लागि मौद्रिक नीति ढिला गरी सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति समग्रमा सकारात्मक मानिएको छ । मौद्रिक नीतिले कोरोना कहरका कारण समस्याग्रस्त र संकुचनमा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने नै छ । वित्तीय पहुँच वृद्धि र व्यवस्थापन गर्न, निक्षेप र कर्जाको ब्याजमा […]

मौद्रिक नीति सकारात्मक : नाडा

नेपाल राष्ट्र बैङ्कको आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सकारात्मक रहेको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले प्रतिक्रिया दिएको छ । अध्यक्ष कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै मौद्रिक नीतिको समग्र रूपमा मूल्याङ्कन गर्दा देशको आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने स्पष्ट रूपमा देखिएको बताएका हुन् ।मौद्रिक नीतिमा विद्युतीय सवारी साधन खरिदको लागि कायम गरिएको कर्जा धितो अनुपातको विद्यमान सीमा यथावत् कायम राख्दै यस्ता सवारी साधनको लागि आवश्यक चार्जिङ स्टेशन स्थापनाको लागि प्रवाह हुने

चालू आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पूर्णपाठ

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गरेको छ।

मौद्रिक नीति : यस्तो देखियो आर्थिक वर्ष २०७८/७९ को आर्थिक परिदृश्य

आगामी आर्थिक वर्ष कोभिड–१९ महामारीले संकुचित रहेको विश्व अर्थतन्त्रको पुनरुत्थानमा सुधार आउनुको साथै मुद्रास्फीति न्यून रहने अनुमान गरिएको छ । यद्यपि आर्थिक पुनरुत्थानको गति कोरोना विरुद्धको खोपमा पहुँच हुने र नहुने मुलुकहरूबीच भिन्न हुने देखिएको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको ‘आर्थिक वर्ष २०७८/७९ को आर्थिक परिदृश्य’ शीर्षकको विवरणमा सन् २०२१ मा विश्व अर्थतन्त्रको बिस्तार ६.० प्रतिशतले र सन् २०२२ मा ४.९ प्रतिशतले हुने प्रक्षेपण अन्तर्राष्ट्रिय म

नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार एक कार्यक्रमका बीच नीति सार्वजनिक गरेका हुन् । गर्भनर अधिकारीले सरकारको न्यूनतम साझा कार्यक्रम, नीति तथा कार्यक्रम, देशको वर्तमान आर्थिक अवस्थाको जानकारी २०७८ तथा राष्ट्र बैंकको तेस्रो रणनीतिक योजनालाई आधार बनाएर नीति तथा कार्यक्रम सार्वजनिक गरिएको जानकारी […]

नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सरकारको न्यूनतम साझा कार्यक्रम, नीति तथा कार्यक्रम, देशको वर्तमान आर्थिक अवस्थाको जानकारी २०७८ तथा राष्ट्र बैंकको तेस्रो रणनीतिक योजनालाई आधार बनाएर नीति तथा कार्यक्रम सार्वजनिक गरिएको जानकारी दिए । सरोकारवालाबाट प्राप्त सुझावलाई पनि ध्यान दिइएको उनले बताए । अधिकारीले आगामी आर्थिक वर्षमा कोरोना महामारीका बीच पनि आर्थिक क्षेत्रको पुनरुत्थानमा सुधार आउने अपेक्षा गरे

मौद्रिक नीति : उपभोक्ता मुद्रास्फीति ६.५० प्रतिशतमा सीमित गर्ने लक्ष्य

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार राष्ट्र बैंकमा विशेष कार्यक्रमका बीच मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।   मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/७९ मा उपभोक्ता मुद्रास्फीति ६.५० प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको छ । साथै बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात ३ प्रतिशत रहने व्यवस्था विद्यमान राखिएको छ ।

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारी [LIVE]

चालू आर्थिक वर्ष २०७८/७९ का लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरिरहेको छ । साउन पहिलो साता नै सार्वजनिक हुने भनिएको मौद्रिक नीति सरकार परिवर्तनका कारण ढिलाइ भई आज सार्वजनिक भएको हो । हेर्नुहोस्, लाइभ :

मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । मौद्रिक नीति भोलि बिहान ८ बजेपछि बस्ने सञ्चालक समितिको बैठकमा पेश गर्ने तयारी भएको राष्ट्र बैंक स्रोतले बताएको छ । स्रोतले भन्यो,'मौद्रिक नीति भोलि सञ्चालक समितिमा पेश गर्ने तयारी छ, त्यहाँ छलफल भएपछि सम्भवत भोलि नै सार्वजनिक हुन पनि सक्छ ।' साउन पहिलो साता सार्वजनिक गर्ने तयारी भएपनि राजनीतिक उतारचढावपछि भएको सरकार परिवर्तनका कारण मौद्रिक नीति ढिलो गरी सार्वजनिक हुन लागेको हो ।

मौद्रिक नीति कस्तो आउनुपर्छ ?

हरेक वर्ष राष्ट्र बैंकले बजेटपछि मौद्रिक नीति ल्याउने गर्छ । आगामी आर्थिक वर्ष २०७८-७९ का लागि पनि राष्ट्र बैंकले चाँडै मौद्रिक नीति ल्याउने तयारी गरेको छ । अहिले कोरोना र त्यसले अर्थतन्त्रमा पारेको असरलाई मौद्रिक नीतिले कसरी सम्बोधन गर्छ, सबैको चासो यसैमा छ । कोभिडको असर न्यूनीकरणमा राष्ट्र बैंकले कस्तो नीति लिन्छ, त्यसले बजेटको सफलता […]