काठमाडौँ। अवैतनिक वाणिज्य तथा महावाणिज्यदूतहरूको संगठन ‘अनररी कन्सुलर कोर’ नेपाल (एचसीसीएन)’को १६औं साधारणसभा तथा चार्टर डे काठमाडौंमा सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको द्वौत्य सम्बन्ध रहेका तर आवासीय राजदूतावास नभएका विभिन्न ५९ देशमा अनररी कन्सुलर कोरले पुर्याएको योगदानको प्रशंसा गरे । ‘आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको नेपालका लागि सबै राष्ट्रसँग सुमधुर सम्बन्ध बनाउनु छ, यसमा एचसीसीएनको सहयोग रहने अपेक्षा गरेका छौं,’ उपराष्ट्रपति यादवले भने, ‘नेपालमा लगानीका सम्भावना भएका क्षेत्र धेरै छन् । विदेशी लगानी आकर्षित गर्न र नेपालले भोगिरहेको जलवायु परिवर्तनको समस्याको समाधानका लागि सम्बन्धित राष्ट्रसँग समन्वय गर्न आवश्यक छ ।’
सभामा परराष्ट्रमन्त्री एनपी साउदले एचसीसीएनका सदस्य मुलुकलाई नेपाल भ्रमणका लागि मात्र गन्तव्य नभई लगानीको राम्रो गन्तव्य भएको सन्देश दिन आग्रह गरे । उनले दौत्य सम्बन्ध कायम भएका देशको प्रतिनिधित्व गरेर नि:स्वार्थ सेवा कार्य तथा नेपालको व्यापार तथा पर्यटन प्रवर्द्धनमा निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । कार्यक्रममा एचसीसीएनका डिन दिनेश श्रेष्ठले भियना कन्भेन्सनअन्तर्गत रहेर एचसीसीएन र यसका सदस्यले आफ्नो जिम्मेवारी पूरा गर्दै आएको बताए ।
साधारणसभाले चेक रिपब्लिकका अनररी कन्सुल जनरल विष्णुकुमार अग्रवाललाई नयाँ डिनका रूपमा नियुक्त गरेको छ । सन् २०१० देखि चेक रिपब्लिकको अनररी कन्सुल रहेका अग्रवाललाई सन् २०१५ मा अनररी कन्सुल जनरलमा पदोन्नति गरिएको थियो ।
नवनियुक्त डिन अग्रवालले देशलाई अनररी कन्सुलहरूले व्यक्तिगत स्वार्थबाट माथि उठेर नेपाल र आफूले प्रतिनिधित्व गर्ने मुलुकप्रतिको जिम्मवारीलाई निर्वाह गर्दै आएको बताए । कार्यक्रममा उपराष्ट्रपति यादवले एचसीसीएनका पूर्व डिनहरू गजेन्द्रबहादुर श्रेष्ठ, अम्बिका श्रेष्ठ (स्पेन), विनयमान श्रेष्ठ (कोलोम्बो), पद्म ज्योति (साइप्रस), वसन्तराज मिश्र (चिली), श्रीराम लामिछाने (लक्जमबर्ग), राजेन्द्रकुमार खेतान (पोर्चुगल), आङछिरिङ शेर्पा (बेल्जियम), प्रदीपकुमार श्रेष्ठ (दक्षिण अफ्रिका), वसन्त चौधरी (मोरोक्को) र लोकमान्य गोल्छा (पोल्यान्ड)लाई सम्मान गरेका थिए ।