अर्घाखाँची । अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीले महिला किसान तथा उद्यमीहरु संगठित हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । अर्घाखाँचीमा अखिल नेपाल किसान महासङ्घको महिला विभागको बैठकलाई सम्बोधन गर्दै रेग्मीले आफ्नो हक हितका लागि महिला किसान तथा उद्योगी व्यसायीहरु संगठित हुनुपर्ने बताउनुभएको छ ।
अखिल नेपाल किसान महासंघले अहिले जिल्ला जिल्लामा महिला विभाग गठन गरिरहेको जानकारी दिँदै उहाँले विभागमा संगठित हुन आम महिलाहरुसँग आग्रह गर्नुभयो ।
हालै गठित किसान महासंघ, अर्घाखाँची महिला विभागको संयोजकमा कमला पराजुली रहनुभएको छ भने सहसंयोजक तुलसा बन्जाडे, सचिवमा सुन्दरा रायमाझी, कोषाध्यक्षमा निर्मला भट्टराई, सदस्यदस्यहरू माधवा बेलवासे, कमला सुनार, लक्ष्मी कुँवर, मीना रेश्मी रहनुभएको छ । तीन स्थान रिक्त रहेको छ ।
बैठकमा महासंघ अर्घाखाँची जिल्ला अध्यक्ष जीवनारायण खनाल, जिल्ला सचिव भीमलाल आचार्य, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय उपाध्यक्ष गोविन्द बिसी, नेकपा (मसाल) अर्घाखाँचीका प्रवक्ता पशुपति ढकालको पनि उपस्थिति रहेको थियो ।